१८ वर्षीया युवतीलाई तिलाठी कोइलाडी गाउँपालिका–२ लौनीयाका २० वर्षीय राजुकुमार खङ्गले बलात्कार गरेको भन्दै इन्सेक सप्तरी प्रतिनिधिको पहलमा पीडितका बुबाले जिल्ला प्रहरी कार्यालयमा असार २४ गते उजुरी दिएका छन् ।
राजविराज नपा–१३ विषहरीयास्थित खेतमा घाँस काट्न गएकी पीडित युवतीलाई असार १६ गते आरोपित खङ्गले बलात्कार गरेको पीडित पक्षको आरोप छ ।
पीडित युवतीले घटनाबारे घरपरिवारमा भनिदिने बताएपछि विवाह गर्ने आश्वासन दिएका आरोपितले असार १९ गते भारत बिहारको पटना लगेर असार २२ गतेसम्म राखेको पीडितको आरोप छ ।
आरोपितकी आमाले पठाएका गाउँकै टिसरा भनिने तिलेश्वर खङ्ग र आरोपितले पटनाबाट आफूलाई जबरजस्ती गाउँ नजिकै सीमावर्ती कुनौली नाकामा असार २३ गते ल्याएर छाडेको र आरोपित भारत बिहारको कर्जाइनस्थित मामाघर गएको पीडितले बताइन् ।
भारतबाट असार २३ गते गाउँ फर्केपछि असार २४ गते पीडित र उनको परिवार इन्सेक प्रतिनिधिको कार्यालयमा आएका थिए ।
पीडित र उनका परिवारका सदस्यहरूसहित जिल्ला प्रहरी कार्यालय पुग्नु भएका इन्सेक सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेल र अधिवक्ता मीनाकुमारी देबले एसपी राजेन्द्रप्रसाद धमला र डिएसपी माधवप्रसाद काफ्लेलाई घटनाको अनुसन्धान गर्न आग्रह गर्नु भयो ।
प्रहरीले तत्कालै पीडितसँग बयान लिई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालबाट स्वास्थ्य परीक्षण गराएको पीडितकी आमाले बताउनु भयो ।