ज्वालामूखी गाउँपालिका–२ मा सञ्चालित प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत काममा संलग्न २७ जना मजदुरहरूले आफूहरू ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा असार २३ गते उजुरी गरेका छन् ।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा वडाका ४७ जना सर्वसाधरणले १ सय दिनको ज्यालादारी काम पाएका थिए ।

वडा कार्यालयले काम लगाएका २७ जनासँग रकम भुक्तानी दिएसँगै जबरजस्ती रकम मागी ठगी गर्नेलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयका उजुरी गरेका हुन् ।
काममा लागेका मजदुरहरूसँग ७ हजारदेखि २२ हजर रुपैयाँसम्म स्थानीय ५० वर्षीय लालबहादुर कार्कीले असुली गरेपछि आफूहरूले न्याय माग्न आएको पीडितहरूको भनाइ छ ।
प्रधानमन्त्री स्वरोजगार अन्तरगत सबै मजदुरलाई पारिश्रमिक लिन साँधभन्ज्याङमा रहेको मेघा बैँकमा असार १७ गते बोलाई पारिश्रमिक वापतको रकम चेकमार्फत भुक्तानी गरिएको थियो । तर, सबैले चेक साटेपछि बैक परिसरमा बसेर २७ जना मजदुरसँग कार्कीले रकम असुलेको पीडितहरूको आरोप छ ।
केही मजदुरले रकम दिन नमानेपछि विवाद भई सोही दिन पीडित मजदुरहरूले गाउँपालिका कार्यालयमा उजुरी समेत गरेका थिए ।
पालिकामा गरिएको उजुरीपछि मार्ने धम्की आएको र आफूहरू सुरक्षाको लागि समेत सदरमुकाम स्थित जिल्ला प्रहरी कार्यालय आएको रमा श्रेष्ठले बताउनुभयो ।
कार्यपालिका सदस्य ज्ञानु परियारले पीडितहरूले न्याय पाउनु पर्छ भनेर हिँडेका कारण आफूलाई समेत मार्ने धम्की आएको बताउनुभएको छ ।
प्रधानमन्त्री स्वरोजगार कार्याक्रममा सहभागीहरूले १ सय दिन काम गर्ने र सो बापत सबै मजदुरलाई दिनको ५ सय १७ रुपैयाँका दरले हिसाव गरी रकम उपलब्ध गराउने नीति सरकारको रहेको छ ।
रकम लिएर बैक बाहिर जान लागेको बेला आफूहरूसँग लालबहादुर भन्ने व्यक्तिले पैसा लिएकोले कारबाही गर्न माग गर्दै प्रहरीमा उजुरी आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खड्काले बताउनुभयो ।