INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४७ वर्षीय बाबुविरुद्ध इलाका प्रहरी कार्यालय मिर्चैयामा पीडितले असार १६ गते उजुरी दिएकी छन् ।

पीडित बालिकाका अनुसार आमाले छोडेर गए पछि मामाघरमा बसेको र केही वर्ष अघिमात्र बाबुसँग घरमा बस्न आएपछि बाबुले यौन दुर्व्यवहार गर्न सुरु गरेको पीडित बालिकाले बताइन् ।

खेतमा काम गर्न गएको बेला ०७७ चैत २० गते बलात्कार गरेको र त्यसपछि पनि यौन दुव्र्यवहार गरेको पीडित बालिकाले आरोप लगाएकी छन् ।

घटनाको जानकारी घरमा सौतेनी आमा र गाउँलेलाई गराएपछि घरमै अनेक आरोप लगाएर हिंसा गर्ने र घर बाहिर जान नदिएको बालिकाले बताइन् ।

गाउँलेहरुले दबाब दिएपछि आरोपित घर छोडेर भागेको पीडितले बताएकी छन् । घटनाको जानकारी हुनासाथ इन्सेक, मानव अधिकार संरक्षण केन्द्र सञ्जाल, ओरेक, मुक्ति नेपाल, समग्र जनउत्थान केन्द्र लगायतका सङ्घ संस्थाहरूले घटना अनुगमन गरी बालिकालाई उद्दार गरी उजुरी हाल्न सहयोग गरेको ओरेककी देवकुमारी महराले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा असार १६ गते गरिएको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठका अनुसार आरोपित फरार रहेकोले खोजी कार्य थालिएको छ ।

अन्य

भिडियो