नगरपालिकाका मेयर र वडाध्यक्षहरूले वडावडामा छलफल नगरी आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट ल्याउन लागेको विषयमा विवाद हुँदा पाख्रीबास नगरपालिका कार्यालयमा असार १० गते तोडफोड भएको छ ।
असार १० गते आयोजित आठौँ नगरसभामा बजेटको विषयमा मतभेद भएपछि ज्ञापनपत्र लिएर नगरसभामा गएको अवस्थामा वडा–३ का वडासदस्य सरोज राई प्रत्रिकार उत्रिएपछि तोडफोड भएको स्थानीय मुक्ति बजगाईँले बताउनु भयो ।
विपक्षी दलले ज्ञापनपत्र बुझाएपछि नगरसभामा प्रस्तुत गर्ने प्रतिबद्धता जनाएको अवस्थामा नेपाली कांग्रेसका पाख्रीबासका सभापति प्रेम भण्डारीले नगरपालिकाको कार्यालयमा तोडफोड गरेको मेयर वीर्खबहादुर राईले बताउनु भयो ।
आगामी वर्षको बजेट विनियोजन गर्दा टोलटोलमा छलफल गरेर प्राथमिकता आधारमा विनियोजन हुनुपर्ने र हातपात गर्ने वडासदस्यले सार्वजनिक रूपमा माफी नमागेसम्म नगरसभा स्थगित हुने नेपाली कांग्रेसका पाख्रीबासका सभापति प्रेम भण्डारीले बताउनु भयो ।
वडा–वडामा छलफल नगरी वडाध्यक्षहरूले एकलौटी रूपमा वडाभित्रको बजेटको खाका बनाएपछि भएको विवादमा नगरपालिका कार्यालयमा तोडफोड भएको पाख्रीबास नगरपालिका–४ का रवी पौडेलले बताउनु भयो ।
बजेटका विषयमा विवाद हुँदा ४० ओटा प्लाष्टिकको कुर्सी, दुई ओटा टेबल र चार ओटा झ्याल तोडफोड भएको मेयर वीर्खबहादुर राईले बताउनु भयो । तोडफोडबाट दुई लाख रुपियाँ बराबरको क्षति भएको नगरपालिकाले जनाएको छ ।
