गण्डकी प्रदेशस्तरीय संरक्षण विषयगत क्षेत्र समन्वय समितिको द्रुत प्रतिकार्य कार्यदल सदस्यमा इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेल चयन हुनुभएको छ ।
सामाजिक बिकास मन्त्रालयले बाढी पहिरोबाट उच्च जोखिममा रहेका तथा प्रभावित बालबालिका र महिलालाई सहयोग तथा संरक्षणका लागि समिति गठन गरेको छ ।
सोही समिति अन्तगरत रहेको विषयगत क्षेत्र समन्वय समितिको असार ६ गतेको बैठकले गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय सामाजिक बिकास महाशाखा प्रमुख जमुना शर्माको संयोजकत्वमा नेपाल रेडक्रस सोसाइटी अध्यक्ष सूर्य प्रसाद ढकाल गण्डकी, गैरसरकारी संस्था महासङ्घ गण्डकी अध्यक्ष बिना सिलवाल, इन्सेक संयोजक शिव प्रसाद खकुरेल, राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी अध्यक्ष खोमराज शर्मा, बालगृह महासङ्घ गण्डकीका विजय प्रधान र सामाजिक बिकास महाशाखाबाट सुशिला आचार्य सदस्य रहेको द्रुत प्रतिकार्य कार्यदल गठन गरिएको हो ।
उक्त कार्यदलले राहत वितरणका लागि जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहसँग समन्वय गर्नेछ ।
यस्तै कार्यदलले बाढी पहिरोबाट प्रभावित महिला, बालबालिका, जेष्ठ नागरिक साथै जोखिमपूर्ण अवस्थामा रहेकाहरुको संरक्षणसंग सम्बन्धित तत्काल आवश्यकता परिपूर्ति साथै प्रतिकार्यका लागि सरकारी, राष्ट्रिय तथा अन्तरराष्ट्रिय सङ्घसंस्था तथा सामाजिक सङ्घ संस्थाहरुसँग समन्वय गर्नेछ ।