कानेपोखरी गाउँपालिका–५ चिसाङबस्तीकी २५ वर्षीया शोभा दर्जीलाई कुटपिट गरेको आरोपमा पीडित पक्षले घटनाका आरोपितविरूद्ध असार ४ गते इलाका प्रहरी कार्यालय पथरीमा किटानी उजुरी दिएको छ ।
तीन महिनाकी गर्भवती रहेकी छोरीलाई मोबाइल फोनको सिम चोरी गरेको झुटो आरोपमा कानेपोखरी गाउँपालिका–५ की ३६ वर्षीया विन्दा मगर र ३४ वर्षीया पुष्पा मगरले कुटपिट गरेको पीडितका बुवा ६९ बर्षीय हर्कबहादुर दर्जीले इन्सेक प्रतिनिधिलाई टेलिफोनमा बताउनुभयो ।
कुटपिटपछि छोरीमा मनोसामाजिक समस्या देखा परेको र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचार गराएको पीडितका बाबुको भनाइ छ ।
पीडित पक्षले घटनाका आरोपितविरूद्ध इलाका प्रहरी कार्यालयमा किटानी उजुरी दिएको इलाका प्रहरी कार्यालय पथरीमा डिएसपी कृष्ण खड्काले बताउनु भयो । उहाँले घटनाका विषयमा अनुसन्धान भइरहेको बताउनु भयो ।
ज्यामी काम गरेर जीवन निर्वाह गर्दै आएको परिवारले उपचारमा समस्या भएको भन्दै वडा कार्यालयमा निवेदन दिएपछि १५ हजार रुपियाँ र अस्पतालसम्म पुग्नका लागि एम्बुलेन्स उपलब्ध गराएको कानेपोखरी गाउँपालिका–५ का वडाध्यक्ष चरण गुरुङले बताउनु भयो ।
पीडित पक्षले घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएपछि मात्र कुटपिट भएको विषयमा आफूलाई जानकारी भएको वडाध्यक्ष गुरुङको भनाइ छ ।