सम्सी गाउँपालिका–६ सम्सीबजार माइती घर भएकी सर्लाहीको हरिपुर्वा नपा–२ बस्ने २१ वर्षीया अमृताकुमारी साहलाई दाइजो कम ल्याएको निहुँमा २४ वर्षीय पति जोगनारायण साहलगायतले कुटपिट गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा जेठ २४ गते उजुरी दिएकी छिन् ।
कुटपिटबाट घाइते भएकी अमृतालाई आरोपितले सम्सीबजारस्थित माइती घरमा छाडेर भागेको पीडित पक्षको आरोप छ ।
विवाह भएको एक महिना नबित्दै दाइजोमा ग्याँस चुल्हो र सिलिन्डरलगायतका सामग्री नदिएको भन्दै कुटपिट गरी यातना दिएको आरोपमा पति जोगनारायणलगायत ५० वर्षीय ससुरा अनुप साह, ३० वर्षीय जेठाजू सत्यनाराण साह, २६ वर्षीय जेठाजू भागनारायण साह, २० वर्षीय देवर शत्रोहन साह र ४५ वर्षीया सासू रजखोर बालीविरुद्ध पीडितले प्रहरीमा उजुरी दिनु भएको हो ।
दाइजोमा नगद ३ लाख ७५ हजार रुपियाँ, दुई तोला सुन, १२ तोला चाँदी , फर्निचर एक सेट, लत्ताकपडा लगायत १२ लाख रुपियाँ खर्च गरि विवाह सम्पन्न भएको पीडित परिवारले जनाएको छ ।
अमृताको विवहा जोगनारायणसँग वैशाख १३ गते सामाजिक परम्परा अनुसार गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी सन्तोष सिंह राथोडका अनुसार कुटपिटमा संग्लन ससुरा अनुप साहलाई गिरफ्तार गरेको र घटनामा संलग्न अन्य आरोपितको खोजतलास भइरहेको छ ।