कोभिड–१९ को सङ्क्रमण बढेर गएको अवस्थामा आवश्यक जनशक्ति उपलब्ध नहुँदा इलाम अस्पतालमा रहेका स्वास्थ्य उपकरण सञ्चालनमा आउन सकेका छैनन् ।
५० बेड क्षमताको इलाम अस्पतालमा विशेषज्ञ डाक्टरहरूको अभाव भएपछि थप समस्या भएको अस्पतालले जनाएको छ ।
नौ जना विशेषज्ञसहित १६ डाक्टरको दरबन्दी रहेको अस्पतालमा एक जना मात्र विशेषज्ञ डाक्टर दरबन्दीमा कार्यरत छन् । बाँकी करार र छात्रवृत्तिका डाक्टरले काम गरिरहेका छन् ।
विशेषज्ञ अभाव हुँदा अस्पतालमा कोभिडका विरामीलाई लक्षित गरि जडान गरिएका भेन्टिलेटर प्रयोगविहीन भएका छन् ।
अस्पतालले खरिद गरेको दुई शैयाको आइसीयू, एउटा भेन्टिलेटर, इन्फुजन पम्प, सिरिन्ज पम्पलगायतका सामग्री जडान भइसकेको अस्पतालले जनाएको छ ।
०७७ असोजमा कोभिड–१९ का सङ्क्रमित विरामीलाई लक्षित गर्दै स्वास्थ्य मन्त्रालयको सहयोगमा ल्याइएको स्वासप्रस्वास सजिलो बनाउने किसिमका दुई ओटा भेन्टिलेटर जडान गरिएको छ ।
स्वास्थ्य क्षेत्रका आधुनिक उपकरण जिल्ला अस्पतालमा जडान भएपनि दक्ष जनशक्ति नभएरै उपकरणहरू प्रयोगविहीन हुँदा कोभिडका विरामी झापा, मोरङ र सुनसरीका अस्पतालमा जानु परिरहेको छ ।
उपकरणहरू जडान भएपनि प्रयोगमा ल्याउन नसकेको अस्पतालका व्यवस्थापक क्षितिज खतिवडा बताउनु हुन्छ ।
अस्पतालमा ०७८ वैशाखमा बाल विषेशज्ञको करार सेवाको निवेदन माग गर्दा निवेदन नै परेन । ‘त्यसो हुँदा जनशक्तिकै अभाव हो भन्ने अथवा के भनेर बुझ्ने अवस्था रहेको खतिवडाले भन्नुभयो ।
अस्पतालले करार सेवामै भएपनि आवश्यक जनशक्ति ल्याउने पहल गरेपनि त्यस्ता व्यक्तिहरू नपाउने अवस्था रहेको जनाएको छ ।
जिल्लामै सुविधा सम्पन्न अस्पतालका रूपमा विकास गरिएपनि उपचार हुन नसक्दा कोभिड–१९ सङ्क्रमित अस्पताल विकास समितिकै अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बराललाई झापाको बीएण्डसी अस्पतालमा उपचारका लागि पुर्याइएको छ ।
कोभिड–१९ का बिरामीलाई लक्षित गर्दै अस्पतालले २० शैयाको लेभल १ को कोभिड अस्पताल भने सञ्चालनमा ल्याएको छ ।
मृगौला रोगीका लागि रोटरी क्लब धरान र इलाम नगरपालिकाको सहयोगमा अस्पतालमा डाइलासिसका तीनवटा मेशिन जडान गरिएको छ ।
अस्पतालमा दुई किसिमका भेन्टिलेटर र डाइलासिस मेशिन जडान गरिए पनि विषेशज्ञ जनशक्ति नहुँदा मेशिन सञ्चालन र बिरामीको निरन्तर उपचारमा भने समस्या देखिएको छ ।
