सामान्य विवादमा फिदिम नपा–१२ का नेपाली कांग्रेसका कार्यकर्ता २५ वर्षीय मनबहादुर न्यौपानेलाई जेठ ८ गते नेकपा माओवादी केन्द्रको वडा कमिटीका अध्यक्ष मनुकमार राई र प्रहरी चौकी नाङ्गिनका सई गणेशप्रसाद लुईटेलले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।
रातको समयमा राईले कुटपिट गरेको र घटनापछि आइपुगेका सई लुईटेलले समेत कुटपिट गरेको पीडितको आरोप छ ।
शरीरका विभिन्न अङ्गमा निलडाम देखिएका पीडितको जेठ ९ गते फिदिम स्थित पाथिभरा अस्पतालमा प्राथमिक उपचार गरिएको छ ।
थप उपचारका लागि झापाको विर्तामोडस्थित कञ्चनजङ्घा अस्पताल पठाइएको पाथिभरा अस्पतालले जनाएको छ ।
घटनाको विषयमा नेपाली कांग्रेस फिदिम नगरपालिकाको १२ नं. वडा समितिले जेठ १० गते संलग्नलाई कानुनी कारबाहीको माग गरेको छ ।
घटनामा सामान्य विवाद भएको र आफूहरूले पीडितलाई कुटपिट नगरेको आरोपितद्वयले बताएका छन् । घटनाका विषयमा प्रहरीमा उजुरी भने परेको छैन ।