INSEC Online

📅 २०८३ जेष्ठ २१

द्वन्द्व पीडितद्वारा न्यायको लागि पहल गरिदिन इन्सेकसमक्ष अनुरोध

सत्य निरूपण तथा मेलमिलाप आयोगमा उजुरी गर्ने अवधि सकिएको थाहा नपाएको भन्दै सशस्त्र द्वन्द्वका क्रममा यातना पाएर पीडित भएका भोटेनाम्लाङ्ग गाविस-८ का ५५ वर्षीय भाइकाजी गुरुङले साउन २५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला प्रतिनिधिसमक्ष न्यायको लागि पहल गरिदिन अनुरोध गरेका छन् ।

०५४ चैत १४ गते इलाका प्रहरी कार्यालय मेलम्चिका प्रहरीले घरमा बसिरहेको अवस्थामा गिरफ्तार गरी दुई दिनसम्म यातना दिएको र ०५९ साउन १० गते घरमा सुतिरहेको अवस्थामा तत्कालीन नेपाली सेनाले गिरफ्तार गरी ०५९ भदौ १५ गतेसम्म शान्ति सेना शिविर काभ्रेको पाँचखालमा राखेर याताना दिएको गुरुङले बताए ।

स्थानीय शान्ति समितिमार्फत सत्य निरूपण तथा मेलमिलाप अयोगले गाविसमा पठाएको फारम ०७३ साउन १५ गते आफूले पाएकोले समय गुज्रिएपछि आफू आयोगमा उजुरी गर्नबाट वञ्चित भएको उनले बताए ।

दुई दिन पैदल हिडेर सदरमुकाम आएका गुरुङले आफू जस्तै उजुरी गर्न छुटेका द्वन्द्व पीडितहरू गाउँमा अरु धेरै रहेको बताए ।

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा स्थानीय शान्ति समितिमार्फत सिन्धुपाल्चोक जिल्लामा ६ सय ३१ ओटा उजुरी दर्ता गराएको स्थानीय शान्ति समितिले जनाएको छ ।

जसमध्ये ३६ ओटा उजुरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा उजुरी परेको समितिले जनाएको छ ।

उजुरी दिने मिति सकिए पनि न्यायको पहल गरिदिन अनुरोध गर्दै पीडितको भनाइ जस्ताको तस्तै सरोकारवाला निकायसँग पुर्‍याउनका लागि साउन २५ गते नै पत्रकारहरूसँग भेटघाट र छलफल गराइएको छ ।

अन्य

भिडियो