INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्य चौकीमा औषधि अभाव

इनरूवा नगरपालिका–९ बबियास्थित स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ ।

वैशाख पहिलो सातादेखि नै स्वास्थ्य चौकी बबियामा औषधि अभाव भएको स्वास्थ्य चौकीका जनस्वास्थ्य अधिकृत सन्तोष अधिकारीले बताउनुभयो ।

अधिकारीका अनुसार ज्वरो, रूघाखोकी र आँखा तथा छालाको बिरामीलाई आवश्यक पर्ने नेपाल सरकारद्वारा निशुल्क वितरित औषधि स्वास्थ्य चौकीमा अभाव भएको छ ।

स्वास्थ्य चौकीमा जीवनजल,परासिटामोलसहित २८ प्रकारका औषधि वैशाख पहिलो सातायता देखि अभाव रहेको अधिकारीको भनाइ छ ।

इनरूवा नगरपालिकाले समयमा औषधि खरिद गरेर वितरण नगर्दा औषधि अभाव भएको छ ।

स्वास्थ्य सेवा लिन आएका सेवाग्राहीलाई आवश्यकता अनुसार औषधि दिनुपर्ने भएपनि स्वास्थ्य चौकीमा औषधि अभाव हुँदा उनीहरूलाई निजी क्लिनिकमा किन्नका लागि सिफारिस गर्नु परेको अनमी शारदा सिग्देलले बताउनु भयो । नगरपालिकाले समयमा औषधि नपठाउने र जहिले खरिद प्रक्रियामा रहेको भन्दै टार्ने काम गरेको अनमी सिग्देलको गुनासो छ ।

नगरपालिकाका भित्रको स्वास्थ्य चौकीमा सरकारले निःशुल्क उपलब्ध गराएको औषधि समेत अभाव हुँदा सेवा प्रवाह प्रभाविह भएको सिग्देलले बताउनु भयो ।

नेपाल सरकारले सम्पूर्ण सरकारी स्वास्थ्य चौकीबाट ३५ र डाइबिटिजसहितका गरी ४० प्रकारका औषधि निःशुल्क रूपमा उपलब्ध गराउने भनिएकोमा हाल स्वास्थ्य चौकी बबियामा आवश्यक औषधिको अभाव छ ।

सरकारले तत्कालीन जिल्ला स्वास्थ्य कार्यालय हुँदा पर्याप्त र आवश्यक औषधि नियमित पठाएकोमा हाल ४० प्रकारको औषधि उपलब्ध गराउने भनेर घोषणा गरेको भएपनि नियमित नपठाउँदा २८ प्रकारको औषधि अभाव रहेको स्वास्थ्य चौकीका जनस्वास्थ्य अधिकृत सन्तोष अधिकारीले बताउनु भयो ।

सेवाग्राही इनरूवा नगरपालिका–२ का गुदर यादवले नेपाल सरकारले औषधि खरिदका लागि नगरपालिकालाई बजेट दिएपनि नगरपालिकाले समयमा कार्य सम्पादन नगर्दा सेवाग्राही सेवाबाट वञ्चित हुनु परेको गुनासो गर्नुभयो ।

स्वास्थ्य सेवा लिन पुगेका सेवाग्राहीले जीवनजल र पारासिटामोलसमेत निजी औषधि पसलमा किन्नु परेको यादवको भनाइ छ ।

इनरूवा नगरपालिका–९ की ममता यादवले रूघाखोकी र ज्वरो आएको बेला स्वास्थ्य चौकीमा सेवालिन जाँदा औषधि नपाएको गुनासो गर्नुभयो । स्वास्थ्य चौकीका चिकित्सकले निशुल्क पाउने औषधि सकिएको भन्दै निजी औषधि पसलमा किन्न लगाएको यादवको गुनासो छ ।

स्वास्थ्य चौकीमा दैनिक १५ देखि ६० जनासम्म सेवाग्राहीहरू आउने गरेको स्वास्थ्य चौकीको दैनिक रेकर्डमा देखिन्छ ।

इनरूवा नगरपालिका र स्वास्थ्य शाखालगायत सम्बन्धित निकायमा औषधि अभाव भएको विषयमा लिखित र मौखिक जानकारी गराएपनि समस्याको सम्बोधन हुन नसकेको जनस्वास्थ्य अधिकृत सन्तोष अधिकारीले गुनासो गर्नु भएको छ ।

इनरूवा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्तोष देवले औषधि अभाव नभएको दाबी गर्नुभएको छ । केही औषधि पठाउन र चौकीले लैजान ढिलाइ गरेको बाहेक निशुल्क वितरण हुने कुनैपनि औषधिको अभाव नहरेको र केही अभाव देखिए तत्काल उपलब्ध गराउने उहाँको भनाइ छ ।

अन्य

भिडियो