गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा सञ्चालित एचडियु व्यवस्थासहितको आइसोलेशन केन्द्रमा वैशाख २८ गते भर्ना भएका कोभिड सङ्क्रमित ३८ वर्षीय पुरुषको भेण्टिेलेटर अभावमा साँझ मृत्यु भएको छ ।
सप्तरीमा भेण्टिलेटरसहितको सुविधा नभएपछि सङ्क्रमितलाई धरान र विराटनगरस्थित अस्पतालमा भर्नाका लागि बेडको खोजी गर्दागर्दै ढिलो भएकाले विराटनगरस्थित ग्रिन सिटी अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको गनासिं अस्पतालले जनाएको छ ।
श्वासप्रश्वासमा समस्या आएपछि बिहान साढे पाँच बजे भर्ना भएका सङ्क्रमितको अक्सिजनको मात्रा निकै कम भएपछि चिकित्सकहरूले भेण्टिलेटर भएको अस्पतालमा लैजान सुझाव दिएका थिए ।
अस्पतालले भेण्टिलेटरको सुविधा नभएको भन्दै बिरामीलाई रेफर गरेपछि सुविधासहितको अस्पताल खोजी गर्दा ढिला भएकाले विराटनगर लैजादै गर्दा बाटोमै मृत्युु भएको मृतकका परिवारका सदस्यले बताए ।
अस्पतालका सूचना अधिकारी सुर्यकान्त झाका अनुसार अस्पतालमा उपलब्ध चार ओटा भेण्टिलेटरमा अक्सिजन कन्सन्ट्रेटर सेन्सरमा प्राविधिक गडबडी भएका कारण र एनेस्थेसिया डाक्टर समेत सङ्क्रमित भएकाले उपयोगविहिन छ ।
‘केही भेण्टिलेटरको अक्सिजन कन्सन्ट्रेटरमा प्राविधिक समस्या देखिएको छ ।’–सूचना अधिकारी झाले भन्नुभयो–‘हामी यो समस्या समाधान गर्न लागिरहेकै बेला एनेस्थेसिया डाक्टर समेत सङ्क्रमित हुनु भयो ।’
प्राविधिक समस्या समाधान भए र आवश्यक जनशक्ति उपलब्ध भए मात्र भेण्टिलेटरहरू सञ्चालनमा आउन सक्ने झाले बताउनु भयो । हाल अस्पतालका दुई जना डाक्टर, एक जना अहेव र नौ जना नर्ससमेत सङ्क्रमित रहेको उहाँले जानकारी दिनुभयो ।
भेण्टिलेटर चलाउने मात्र होइन, अन्य स्वास्थ्यकर्मीको पनि अभाव रहेको निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रणजितकुमार झाले बताउनु भयो ।
प्रशासनले प्रदेश–२ को सरकारसँग आवश्यक जनशक्ति पूर्ति गरिदिन लिखित माग गरिसकेको छ । तर, प्राप्त हुन सकेको छैन ।
सप्तरीका थप १ महिला र १ पुरुषको समेत वैशाख २८ गते मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
कोभिड सङ्क्रमण पुष्टि भएपछि बैशाख २० गतेदेखि होम आइसोलेशनमा बसेकी कञ्चनरुप नगरपालिका–८ की ६५ वर्षीया महिलाको साँझ अक्सिजनको कमीका कारण मृत्यु भएको स्वास्थ्य शाखा कञ्चनरुपका सहसंयोजक डम्बर गुप्ताले बताउनु भयो ।
होम आइसोलेशनमा बस्दै आएकी महिलामा क्रमिक सुधार हुँदै आएको भए पनि अचानक अक्सिजनको मात्रा कमी भएर अस्पताल ल्याउने क्रममा मृत्यु भएको गुप्ताले जानकारी दिनुभयो ।
नगरपालिकाको एम्बुलेन्स बिरामी लिएर विराटनगर गएका बेला अन्य एम्बुलेन्स उपलब्ध हुन ढिला भएपछि उनलाई समयमै अक्सिजन सुविधा भएको आइसोलेशन केन्द्र पु¥याउन नसकिएको परिवारका सदस्यले सुनाए ।
त्यसअघि मुटुमा समस्या भइ वैशाख २७ गते श्वासप्रश्वासमा समस्या आएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ६१ वर्षीय पुरुषमा कोभिड सङ्क्रमण पुष्टि भए लगत्तै वैशाख २८ गते बिहान १० बजे मृत्यु भयो ।
कोभिड–१९ को दोस्रो लहरमा सप्तरीका दुई महिलासहित ११ जनाको ११ दिनको अवधिमा मृत्यु भएको छ । सप्तरीमा हालसम्म कोभिड–१९ का ५३ जना सङ्क्रमितको मृत्यु भएको छ ।