भानु नगरपालिकाका एक ६५ वर्षीय पुरुषले समयमा उपचार नपाउँदा वैशाख २६ गते मृत्यु भएको छ ।
मृतक वैशाख १० गते पोखरास्थित ओम अस्पतालमा पिसिआर परीक्षण गर्दा कोभिड–१९ सङक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बस्नुभएको थियो ।
उहाँलाई वैशाख २५ गते श्वास प्रश्वासमा समस्या भएपछि वैशाख २६ गते अस्पताल लगिएको तर समयमा उपचार नपाउँदा उहाँको मृत्यु भएको मृतकका परिवारले जनाएको भानु नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिनुभयो ।
सङ्क्रमण पुष्टि भएपछि मृतक श्वास प्रश्वासको उपचारको लागि कहिले पोखरा र कहिले दमौली आउ–जाउ गर्दै गर्नुभएको प्रमुख भट्टराईले बताउनुभयो ।
श्वास प्रश्वासमा समस्या आएपछि एम्बुलेन्सबाट उहाँलाई दमौली अस्पतालमा लगिएकोमा समयमै चिकित्सकले उपचार नगर्दा बुवाको मृत्यु भएको मृतकका छोराले बताउनुभयो ।
बिरामीलाई समयमै अस्पताल पुर्याएपनि अस्पतालका चिकित्सकले पिपिइ लगाउन समय लगाएको र समयमा बिरामीलाई उपचार नदिँदा एम्बुलेन्समै ज्यान गएको उहाँले बताउनुभयो ।
प्रेसर र सुगरका बिरामी समेत रहेका ती पुरुषको दमौली अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताउनुभयो । मृतकको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ ।