इन्सेक सुदूरपश्चिम प्रदेश अन्तर्गत कार्यरत इन्सेक जिल्ला प्रतिनिधिहरुले वैशाख २६ गते पठाउनु भएको सूचनाका आधारमा कोभिड–१९ को जोखिमलाई नियन्त्रण तथा रोकथामका लागि प्रदेश अन्तर्गत भइरहेका कार्यहरु र समस्याहरुको जिल्लागत अवस्था विश्लेषण यस प्रकार रहेको छ ।
इन्सेक कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार जिल्लाका स्थानीय तहले कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि आसाइसोलेसन तथा क्वारेन्टीनको निर्माण तथा व्यवस्था पर्नको तयारी अगाडि बढाए पनि दक्ष जनशक्ति र आवश्यक स्वास्थ्य उपकरणको अभावमा समस्या झेल्दै आएका छन् । भजनी नगरपालिकाले १५ शैयाको आइसोलेसन वार्ड तयार गरेको भएपनि दक्ष जनशक्तिको अभावमा आइसोलेसन कक्ष अनमी र अहेवले चलाउनु पर्ने बाध्यता रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृतिसिंह विकले बताउनु भयो । साइसोलेसन नगरपालिकाले तयार गरेको भएपनि दक्ष जनशक्ति र उपकारणको व्यवस्था प्रदेश र संघीय सरकारले गरि दिएको खण्डमा मात्रै कोभिड सङ्क्रमितहरुको उपचारमा सहज हुने बिकको भनाई छ । टीकापुर नगरपालिकाले पनि कोभिड सङ्क्रमितहरुको उपचारका लागि ३८ शैयाको आइसोलेसन वेड तयार गरिएको भएपनि दक्ष जनशक्ति र उपचाररत सङ्क्रमतिहरुका लागि प्रयाप्त मात्रामा अक्सिजन नभएका कारण उपचारमा समस्या भएको नगरपालिकाका जनस्वास्थ्य प्रर्वधन शाखाका प्रमुख बलबहादुर रावलले बताउनु भयो । उहाँका अनुसार सरकारले आइसोलेसन वार्ड तयार गर्न निर्देशन दिए अनुरुप काम गरिएको भएपनि चाहिने उपकरण र जनशक्तिका लागि प्रदेश सरकार र संघीय सरकारले कुनै समन्वय गरेका छैनन् । जानकी गाउँपालिकामा पनि १५ शैयाको आइसोलेसन वेड तयार गरिएको भएपनि आसोलेसनमा अक्सिजनको व्यवस्था गर्न धेरै प्रयास गरिएको भएपनि अक्सिजन प्राप्त गर्न नसकेका कारण सङ्क्रमितहरुको उपचारमा समस्या भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जितबहादुर चौधरीले बताउनु भयो । लम्की चुहा नगरपालिकामा ५० शैयाको आइसोलसनमा जनशक्ति भएपनि उपकरणको अभावले कोभिड सङ्क्रमितको उपचारमा समस्या हुने गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीले बताउनु भयो । स्वास्थ्य चौकीमा इमर्जेन्सी बाहेकका सेवा बन्द गरी स्वास्थ्यकर्र्र्मीलाई आइसोलेसन वार्डमा खटाएको र लम्की अस्पतालका चिकित्सकको निगरानीमा सङ्क्रमितको उपचार भइरहेको चौधरीले बताउनु भयो ।
इन्सेक दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार भारतसँग सीमा जोडिएको जिल्ला सदरमुकाम खलंगास्थित पुलघाट नाका भएर घर फर्किनेलाई एन्टिजेन परीक्षण गरेर सोझै घर पठाउँदा सङ्रक्रमणको जोखिम बढदै गएको छ । एन्टिजेन परीक्षणबाट कोभिड पोजिटिभ देखिएकालाई अक्सिजनको मात्रा कम भएमात्र जिल्ला अस्पतालमा भर्ना गरिएको र सामान्य लक्षण भएकालाई सिधै घर पठाउँदा सङ्क्रमणको जोखिम बढेको हो । जिल्ला अस्पताल, दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टका अनुसार भारतबाट आउने जतिको पुलघाटमा एन्टिजेन परीक्षण भइरहेको छ । उहाँले भन्नुभयो, केही स्वास्थ्य समस्या आए अस्पताल र नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न भनेर सम्झाएर घर पठाइँदै छ । सामान्य समस्या आएपनि १० दिन घरमा अलगै बस्न सुझाइएको र पालिकाहरूलाई निगरानी राख्न भनिरहेको उहाँले बताउनु भयो । एन्टिजेनमा पोजिटिभ आएपछि हेल्थ डेस्कले सम्बन्धित स्थानीय तहलाई संङ्क्रमितहरुलाई जिम्मा लगाउने गरिएको भएपनि सबै स्थानीय तहमा कोभिड उपचार अस्पताल र आइसोलेसन वार्ड तयारी नभएकाले घर पठाउँदा सङ्क्रमण फैलिने सम्भावना अधिक रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । महाकाली नगरपालिकाका स्वास्थ्यकर्मी मोहन महराले भारतबाट फर्किएका नेपालीलाई क्वारेण्टाइनमा नराखेकाले संक्रमितको सङ्ख्या जिल्लाभरि बढदै गएकोे बताउनु भयो । अझै पनि भारतबाट आएकाहरू सोझै घर जाने गरेका छन्, उनीहरूलाई क्वारेण्टाइनमा राख्ने तयारी नहुनु दुर्भाग्य हो, उहाँले भन्नु भयो, यसले गाउँमा सङ्क्रमण बढाउने सम्भावना धेरै छ । भारतबाट आउनेलाई एन्टिजेन परीक्षण गरे पनि नेपालकै कोभिड प्रभावित ठाउँबाट आएका मानिसलाई परीक्षण नगरिकनै घर पठाइरहेका कारण गाउँघरमा जोखिम बढेको स्थानीय सहदेव बिष्टले बताउनु भयो । स्थानीय तहले अझै क्वारेण्टाइनको व्यवस्था नगरेकाले समुदाय स्तरमा सङ्क्रमण फैलिदै गएको दार्चुला बहुमुखी क्याम्पसका प्राध्यापक नरेन्द्रराज अवस्थीले बताउनु भयो ।
इन्सेक बैतडी प्रतिनिधि नरी बडुका अनुसार जिल्लाको ग्रामीण बस्तीहरुमा कोभिड–१९ को संक्रणम फैलिएको भएपनि उनीहरुको स्वास्थ्य परीक्षण हुन नसकेका कारण सङ्क्रमणले भयाबह रुप लिन थालेको मेलौली नगरपालिका– २ का अध्यक्ष महेन्द्र चन्दले बताउनु भयो । अहिले रुघाखोकी र ज्वरोका बिरामीहरु घरघरमै भएपनि सबैको स्वास्थ्य परीक्षण नहुँदा समस्या भएको अध्यक्ष चन्दको भनाई छ । वैशाख २५ गतेमात्रै मेलौली नगरपालिका– २ का ४० वर्षीय पुरुषको कोभिड सङ्क्रमणकै कारण जिल्ला अस्पतालमा , उहाँकी ९० वर्षीय आमाको पनि सोही दिन घरमै मृत्यु भएको र बुवाको १० दिन अगाडी मृत्यु भएको अध्यक्ष चन्दले बताउनु भयो । अहिले पनि गाउँघरमा थुप्रै व्यक्ति रुघाखोकी र ज्वरोका बिरामी रहेको भएपनि उहाँहरुको स्वास्थ्य परीक्षण हुन नसकेको अध्यक्ष चन्दले बताउनु भयो । यसैगरी दशरथचन्द नगरपालिका– ९ ग्वाल्लेकमा पनि अधिकासं व्यक्तिहरुलाई रुघाखोकी र ज्वरो आउने समस्या रहेको वडाध्यक्ष हरीस जोशीले बताउनु भयो । गाउँमा कोभिड–१९ को सङ्क्रमण बढदै जान थालेपछि कन्टेक्ट ट्रेसिङ गर्ने भन्ने बारेमा छलफल भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताउनु भयो ।
इन्सेक बाजुरा प्रतिनिधि पदमबहादुर सिंहका अनुसार जिल्ला मानव अधिकार रक्षक सञ्जाल, बाजुराले जिल्ला प्रशासन कार्यालय, बाजुरा र जिल्ला समन्वय समिति, बाजुरालाई ध्यानाकर्षण पत्र बुझाएको छ । कोभिड– १९ माहामारीको दोस्रो लहर ब्यापक फैलिई रहेको भएपनि त्यसको रोकथाम र नियन्त्रणका लागि प्रयाप्त मात्रामा तयारीहरु नभएकोले सङ्क्रमितहरुको सहज उपचारको वातावरण बनाउनका लागि ध्यानाकर्षण पत्र बुझाइएको सञ्जालका अध्यक्ष निमेन्द्र शाहीले बताउनु भयो । सो ध्यानाकर्षण पत्रमा हरेक नागरिकको जीवन र स्वास्थ्य राज्यको जिम्मेवारी भएकोले बिषम परिस्थितिसँग लडनका लागि राज्यका सबै संयन्त्रहरुको सम्पूर्ण श्रोत र साधन जुटाउन र प्रयोग गर्न माग गरिएको छ । त्यसैगरी जिल्लाका कवाडी, कोल्टी र मार्तडी खाद्यान्न डिपोहरुमा चामल अभाव भएकाले तत्काल खाद्यान्न डिपोहरुमा चामलको व्यवस्थापन गरी नागरिकको खाद्य अधिकारको रक्षा गर्न समेत मानव अधिकार रक्षक सञ्जालले अनुरोध गरेको छ । कोभिड सङ्क्रमण जिल्लामा दिनानुदिन पढदै गएपछि वैशाख २६ गते जिल्ला स्तरीय कोभिड–१९ सङ्कट व्यस्थवापन केन्द्रको बैठक बसेर वैशाख २२ गतेदेखि लागु गरिएको निषेध आदेशलाई थप कडाई गर्ने निर्णय गरिएको छ । बिहान ६ बजेदेखि १० बजेसम्म पसलहरु खुुला रहने निर्णयलाई बिहान ९ बजेसम्म मात्र खुला राख्ने निर्णय गरिएको र अत्यावश्यक सेवा बाहेक सम्पूण सेवाहरु बन्द गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनु भयो । बाजुरा जिल्लामा अक्सिजनको अभाव भएकोले अक्सिजनको अभाव हुन नदिन र अन्य स्थानीय तह भन्दा सदरमुकाममा बिरामीको सङ्ख्या धेरै हुने भएकोले जिल्ला सदरमुकाम मार्तडीमा थप आइसोलेसनको तयारीको लागि बडिमालिका नगरपालिकालाई अुनरोध गर्ने बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताउनु भयो ।
इन्सेक डोटी प्रतिनिधि बाशुदेव जोशीका अनुसार जिल्लाका नौ ओटा स्थानीय तहमध्ये पुर्वीचौकी गाउँपालिका बाहेका अन्य स्थानीय तहहरुले भारतबाट फर्किएका व्यक्तिहरुलाई राख्नका लागि क्वारेण्टाइनको व्यवस्था नगरेकोले सङ्क्रमणको जोखिम उच्च रहेको जिल्ला समन्वय समिति सदस्य धनश्याम जोशीले बताउनु भयो । स्थानीय तहले क्वारेण्टाइन निर्माण नगरेका कारण भारतबाट आएकाहरू सिधै गाउँ जाने तथा समुदायमा घुलमिल हुँदा कोभिड सङ्क्रमण फैलिँदै गएको दुर्गामाण्डौँ स्वास्थ्य चौकीका इन्चार्ज भिष्मराज पाण्डेले बताउ भयो । दैनिकजसो भारतलगायत देशका विभिन्न स्थानबाट स्थानीयबासी जिल्ला भित्रिने क्रम बढिरहेको भएपनि उनीहरुको तथ्याङ्क लिने तथा व्यवस्थापन गर्ने कार्यको स्थानीय तहबाट हुन नसकेको बाहिरबाट आउने व्यक्तिको तथ्याङ्क लिने, व्यवस्थापन गर्नेलगायत कामको शुरुआतसमेत नगरिएको दिपायल सिलगढी नगरपालिका–४ का प्रेम शाहले बताउनु भयो । स्थानीय तहहरुलाई क्वारेन्टाइन तथा आइसोलेशन निर्माणका लागि पटकपटक आग्रह गरिएको भएपनि निर्माण कार्य सुरु हुन नसकेको जिल्ला अस्पताल, डोटीका व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले बताउनु भयो । पुर्बिचौकी गाउँपालिकाले भने सरस्वति मावि सानागाउँको द्यिद्यालयलाई ३५ शैयाको आइसुलेसन वेड सहितको उपचार केन्द्र बनाउन लागेको गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटीलले बताउनु भयो । अघिल्लो वर्ष भारत लगायत तेस्रो मुलुकबाट आएकाहरूको व्यवस्थापनमा सक्रिय देखिएका यहाँका स्थानीय तहका जनप्रतिनिधि समेत यस वर्ष सुस्त देखिएका छन् । कोभिड सङ्क्रमण रोकथाम तथा उपचारका नाममा जिल्लाका नौ ओटै स्थानीय तहले गत आर्थिक वर्षको फागुनदेखि असार महिनासम्ममा करिब १२ करोड खर्च गरेको जनाएको भएपनि यस वर्ष स्थानीय तहहरुले क्वारेन्टाइन र आइसोलेसन निर्माण गर्न चासो देखाएका छैनन् ।