कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि प्रदेश १ सरकारले ३ करोड ८५ लाख रुपियाँ निकासा गरेको छ ।
कोरोना जनसुरक्षा कोष, कोष सञ्चालक समितिको वैशाख २३ गतेको बैठकले प्रदेशका स्वास्थ्य संस्थाहरूमा कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि आवश्यक पर्ने रकम निकासा गर्ने निर्णय गरेको हो ।
कोशी अस्पताल, कोभिड–१९ उपचार केन्द्रलगायतका अस्पतालहरूको लागि आवश्यक पर्ने सेनिटाइजर, मास्क, पीपीइ सेट, एन्टिजेन किट, आकस्मिक औषधिलगायतका कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारसँग सम्बन्धित सामाग्रीहरूको व्यवस्थापनका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, विराटनगरलाई ५० लाख रुपियाँ विनियोजन गरिएको छ ।
कोभिड–१९ उपचार केन्द्र सञ्चालन तथा व्यवस्थापनका लागि मेची अस्पताललाई २५ लाख रुपियाँ, जिल्ला अस्पताल सुनसरीलाई २० लाख रुपियाँ, जिल्ला अस्पताल धनकुटा र उदयपुर कोभिड–१९ अस्पताल (आइसोलेसन सेन्टर), बेल्टारलाई २०–२० लाख रुपियाँ निकासा गर्ने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
आइसोलेसन स्थापना, सञ्चालन तथा उपचार सेवाका लागि जिल्ला अस्पताल पाँचथर, इलाम, तेहृथुम, भोजपुर, सङ्खुवासभा, उदयपुर, सोलुखुम्बु, खोटाङ्ग, ओखलढुङ्गा, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर र जिल्ला अस्पताल ताप्लेजुङलाई १ करोड १५ लाख रुपियाँ निकासा दिने निर्णय कोरोना जनसुरक्षा कोषको बैठकले गरेको छ ।
होल्डिङ सेन्टर सञ्चालन व्यवस्थापनलगायतका कार्यका लागि जिल्ला प्रशासन कार्यालय झापालाई २० लाख रुपियाँ, सुनसरी र इलामलाई १५–१५ लाख रुपियाँ, जिल्ला प्रशासन कार्यालय मोरङलाई २० लाख रुपियाँ, ओखलढुङ्गाको हर्कपुरमा होल्डिङ्ग सेन्टर सञ्चालन तथा व्यवस्थापनका लागि १५ लाख रुपियाँ र जिल्ला प्रशासन कार्यालय भोजपुर, तेहृथुम, सङ्खुवासभा, धनकुटा, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुर, पाँचथर र ताप्लेजुङलाई होल्डिङ सेन्टर सञ्चालन व्यवस्थापनलगायतका कार्यका लागि ५–५ लाख रुपियाँका दरले ५० लाख निकासा दिने निर्णय भएको मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनु भएको छ ।