हुम्ला प्रतिनिधि नन्द सिंहका अनुसार क्वारेण्टिनमा रहेका कोभिड–१९ सङ्क्रमितहरूले पानीको अभावमा सरसफाई तथा शौच गर्न समस्या भएको गुनासो गरेका छन् । नेपालगञ्ज र सुर्खेतबाट आएका आठ जनालाई कोभिड पोजेटिभ देखिएपछि सदरमुकाम सिमकोटको रानीवन क्वारेण्टिनमा राखिएको छ । क्वारेण्टिनमा पानीको समस्याका साथै आफू सहित तीन जना विद्यार्थी रहेको र आफ्नो अनलाइन कक्षा सञ्चालन भइरहेकोले नेट नहुँदा पठनपाठनमा समस्या आएको एक सङ्क्रमितले बताए ।
दैलेख प्रतिनिधि अमर सुनारका अनुसार कोभिड सङ्क्रमित शिक्षकको उपचारको क्रममा वैशाख २२ गते मृत्यु भएको छ । ४६ वर्षीय शिक्षकको वैशाख २० गते गरिएको पिसिआर परीक्षणमा कोभिड पुष्टि भएको दैलेख अस्पतालका डाक्टर जगत थापाले बताउनुभयो । बिजुली आउने जाने गरेको कारण कृत्रिम श्वासप्रश्वास प्रवाहका लागि अक्सिजन दिन कठिनाई भएपछि थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लैजाने क्रममा बाटोमा नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।
मुगु प्रतिनिधि जीवन सेजुवालका अनुसार जिल्ला अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीलाई कोभिड सङ्क्रमण भेटिएपछि वैशाख २१ गतेदेखि अस्पतालले आपतकालिन बाहेक सबै सेवा बन्द गरिएको स्वास्थ्य सेवा व्यवस्थापक ज्ञानसिंह बुढाले जानकारी दिनु भयो । यस्तै कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले वैशाख २२ गते राति १२ बजेबाट निषेध आदेश जारी गरेको छ ।
जुम्ला प्रतिनिधि मानदत्त रावलका अनुसार नियमित वर्षापछि भएको चिसो मौसममा कोभिड सङ्क्रमितहरूले त्रिपालमुनि बस्नु परेको गुनासो गरेका छन् । होम आइसोलेशन बनाउने जस्ता घर नभएको र घरभित्र बस्दा परिवारलाई सङ्क्रमण हुने डरले उनीहरू जङ्गल छेउमा त्रिपाल टाँगेर बसिरहेका छन् । एक सङ्क्रमितले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालकै आइसोलेशनमा चिकित्सकको रेखदेखमा बस्ने इच्छा हुँदा पनि बस्ने वातावरण नभएपछि पालमुनि बस्नुपरेको गुनासो गरे ।
‘लक्षणसहितको सङ्क्रमण भएका बिरामीलाई अस्पतालकै आइसोलेशनमा राख्नु पर्ने हो ।’–सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले भन्नुभयो–‘जिल्ला बाहिर चिकित्सक पठाउने र जिल्ला बाहिरका बिरामी ल्याएर उपचार गर्ने गरिएको छ तर जिल्ला भित्रकै बिरामीले प्राथमिकता पाएनन् ।’ स्थानीय तहमै अस्थायी कोभिड अस्पताल बनाएको भन्दै उहाँले अक्सिजन र चिकित्सक नभएकाले समस्यामा परेको बताउनु भयो । पटकपटक विज्ञापन गर्दा पनि चिकित्सक पाउन नसकेको अध्यक्ष रावलको भनाई छ ।
प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निमित्त अस्पताल निर्देशक डा. राजीव शाहले राज्यको प्रोटोकल अनुसार अक्सिजन, भेण्टिलेटर आवश्यक पर्ने कोभिड बिरामीलाई मात्रै अस्पतालमा राख्ने व्यवस्था रहेको बताउनुभयो । सामान्य सङ्क्रमितलाई स्थानीय स्तरकै आइसोलेशनमा राख्नु पर्ने व्यवस्था रहेको उहाँको भनाई छ ।