इन्सेक सुदूरपश्चिम प्रदेश अन्तर्गत कार्यरत इन्सेक जिल्ला प्रतिनिधिहरुले वैशाख २३ गते पठाउनु भएको सूचनाका आधारमा कोभिड–१९ को जोखिमलाई नियन्त्रण तथा रोकथामका लागि प्रदेश अन्तर्गत भइरहेका कार्यहरु र समस्याहरुको जिल्लागत अवस्था विश्लेषण यस प्रकार रहेको छ ।
इन्सेक कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार कैलालीमा विद्युत अनियमितताको कारण कोभिड सङ्क्रमितहरुको उपचारमा थप समस्या हुँदै आएको छ । धनगढी लगायतका क्षेत्रमा विद्युत कटौटी हुँदै आएपछि अक्सिजन उत्पादनमा समस्या हुर्दै आएको र त्यसको प्रत्येक्ष प्रभाव कोभिड सङ्क्रमित बिरामीहरुको उपचारमा परेको सेती प्रदेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताउनु भयो । विद्युत अनियमित भएपछि होम आइसोलेसन र अस्पतालमा उपचाररत सङ्क्रमितहरुलाई अक्सिजन पुर्याउन समस्या भएको श्रेष्ठको भनाई छ । अस्पतालका सम्पूर्ण मेसिनहरु विद्युतले नै चल्ने हुनाले विद्युत जाँदा बिरामीको उपचारमा समस्य उत्पन्न हुन गई आइसीयु र भेन्टीलेटरमा राखिएका बिरामीहरु थप जोखिममा पर्दै आएको सूचना अधिकारी श्रेष्ठले बताउनु भयो ।
इन्सेक बाजुरा प्रतिनिधि पदमबहादुर सिंहका अनुसार जिल्लामा कोभिड–१९ भाइरस को दोस्रो लहर बढदै गएपछि वैशाख २२ गतेदेखि निषेध आदेश जरी गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनु भयो । निषेध आदेश जारी भएपछि बजार क्षेत्रमा कडाइ गरिएको छ । बिकास निमार्णका कामहरु सामाजिक दुरी तथा स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न अनुमति दिइएको र अत्यावश्यक वाहेकका सबै सेवाहरु बन्द गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनु भयो । कोभिड सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि जिल्लाका नौ ओटै स्थानीय तहसँग सम्पर्क र समन्वय गरी स्थानीय तहमा नै आइसोलेसन वेडहरु निर्माण गर्न समेत पहल गरिरहेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनु भयो । वशाख २२ गते मात्रै बडिमालिका नगरपालिकासँग समन्वय गरेर १० वेडको आइसोलेसन निमार्ण गरिएको र अन्य स्थानीय तहहरुले पनि क्वारेन्टाइन र आइसोलेसन निर्माण गर्ने तयारी गरिरहेको उहाँले बताउनु भयो । हालसम्म जिल्ला १ सय ४३ जना कोभिड सङ्क्रमित रहेका छन् भने दुई जनाले सङ्क्रमितहरु निको भएका छन् । वैशाख २२ गते एक जनाको कोभिडका कारण मृत्यु भएको छ ।
इन्सेक बैतडी प्रतिनिधि नरी बडुका अनुसार सुर्नया गाउँपालिकाले अक्सिजन सहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको वासुलिङ्ग स्वास्थ्य चौकीमा अक्सिजन सहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताउनु भयो । आसोलेसनमा हाल २७ वेड तयार अवस्थामा रहेका र पाँच वेड थप्ने तयारी भइरहेएको स्वास्थ्य शाखा प्रमुख महराले जानकारी दिनु भयो । हाल गाउँपालिकासँग तीन सिलिण्डर अक्सिजन उपलब्ध रहेका र थप अक्सिजन सिलिण्डर ल्याउनका लागि प्रयास भइरहेको महराले बताउनु भयो । कोभिड सङ्क्रमण रोकथाम तथा नियन्त्रण र सङ्क्रमितहरुको उपचारका लागि आइसोलेसन वेड तयार गरिएको भएपनि सङ्क्रमितहरु आइसोलेसन सेन्टरमा बस्न नमानेको उहाँको भनाई छ । कोभिड भाइरस सङ्क्रमण तीव्र रुपले बढीरहेकाले थप सङ्क्रमण फैलिन नदिन अक्सिजन सहितको आइसोलेसन सेन्टरको निर्माण गरिएको व्यवस्थापन गरिएको गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टले बताउनु भयो । सुर्नया गाउँपालिकले सञ्चालनमा ल्याएको आइसोलेसन सेन्टरमा अहिले एक जना सङ्क्रमित बसिरहेका छन् । गाउँपालिकामा १० जना सक्रिय सङ्क्रमित रहेका भएपनि अरु भने होम आइसोलेसन मै बसिरहेका स्वास्थ्य शाखा प्रमुख महराले बताउनु भयो ।