कोभिड–१९ सङ्क्रमितको उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको कोभिड सङ्क्रमणका कारण मृत्यु भएका प्रदेश सरकारले पीडित परिवारलाई २५ लाख रुपियाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ ।
कोभिड–१९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न भएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरूको कोभिड–१९ का कारणबाट मृत्यु भएमा २५ लाख रुपियाँ क्षतिपूर्ति दिने निर्णय प्रदेश सरकारले गरेको सामाजिक विकास मन्त्री उषाकला राईले बताउनु भएको छ ।
वैशाख २२ गतेको मन्त्रीपरिषद्को बैठकले मृतकका परिवारलाई क्षतिपूर्तिस्वरूप नेपाल सरकारले प्रदान गर्ने क्षतिपूर्ति रकमसँग दोहोरो नहुने गरी प्रदेश सरकारबाट एकमुष्ट २५ लाख रुपियाँ प्रदान गर्ने निर्णय भएको बैठकपछि सामाजिक विकास मन्त्री उषाकला राईले बताउनु भएको छ ।
कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि खटिने क्रममा सङ्क्रमित भइ बिरामी भएमा प्रदेश सरकारले तोकेको सरकारी तथा निजी अस्पतालमा उपचार गर्दा लागेको सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय प्रदेशको मन्त्रीपरिषद् बैठकले गरेको छ ।
प्रदेश सरकारद्वारा सञ्चालित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, विराटनगर तथा प्रदेश सरकार मातहतका सम्पूर्ण अस्पतालको कोभिड वार्डमा प्रत्यक्ष रूपमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरूलाई सुरू तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता प्रदान गर्ने मन्त्रीपरिषद्ले निर्णय गरेको सामाजिक विकास मन्त्री राईले बताउनु भएको छ ।