सुर्खेत प्रतिनिधि दुर्गा थापाका अनुसार कर्णाली प्रदेश अस्पताल सुर्खेतले दैनिक एकसय सिलिण्डर अक्सिजन उत्पादन सुरू गरेको छ । अक्सिजनको अभावलाई पुर्ति गर्न अस्पतालले वैशाख २१ गतेदेखि उत्पादन पलान्ट सुरू गरेसँगै कोभिड–१९ सङ्क्रमितहरूको उपचारमा सहज भएको अस्पतालका निर्देशक डा डम्मर खडकाले बताउनुभयो । नेपालगञ्ज लगायतका स्थानबाट अक्सिजन समयमै उपलब्ध नहुँदा अक्सिजनको अभावमा करोना सङ्क्रमितहरू छटपटाएको र मृत्युु हुने अवस्था अब देख्नु नपर्ने निर्देशक खडकाको भनाई छ । अस्पतालमा दुुई ओटा अक्सिजन पलान्ट रहेको, नयाँ पलान्टबाट दैनिक १ सय सिलिण्डर उत्पादन हुने र पुरानो पलान्टबाट दैनिक ५ देखि १० सिलिण्डर अक्सिजन उत्पादन हुने निर्देशक खड्काले जानकारी दिनुुभयो ।
डोल्पा प्रतिनिधि विष्णुप्रसाद देवकोटाका अनुसार उपल्लो डोल्पाको डोल्पो बुद्ध गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीहरू तीन दिनदेखि बिरामी हुँदा उद्धार हुन सकेको छैन । कार्यालयको कामको शिलशिलामा वैशाख ४ गते उपल्लो डोल्पा हिँडेका तीनजनालाई रूघाखोकी, ज्वरो, शरीर दुख्ने र श्वासप्रवासमा समस्या आएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गौतम पंज्ञानीले जानकारी दिनुभयो । सदरमुकाम दुनैदेखि पाँच दिनको पैदल दुरीमा रहेका कर्मचारीलाई वैशाख २१ गतेदेखि हैलिकप्टरबाट उद्धार गर्न पहल गरिएपनि प्रतिकुल मौसमका कारण हेलिकप्टर आउन नसकेको पंज्ञानीले बताउनु भयो ।
हुम्ला प्रतिनिधि नन्द सिंहका अनुसार नेपालगञ्ज र सुर्खेतबाट आउने हवाई यात्रु आठ जनामा कोभिड–१९ पुष्टि भएपछि जिल्ला प्रशासन हुम्लाले वैशाख २१ गते रातिबाट जिल्ला भित्रिने हवाई तथा पैदल मार्गका नाकाहरू एक हप्ताका लागि शिल गरेको छ । दैनिक उपभोग्य बस्तुका लागि बिहान १० बजेसम्म मात्रै बजार खुला रहने प्रमुख जिल्ला अधिकरी गणेश आचार्यले बताउनु भयो । सङ्क्रमण देखिएपछि जिल्ला अस्पतालले अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरेको स्वास्थ्य कार्यालय हुम्लाका सूचना अधिकारी भक्ति फडेराले बताउनु भएको छ ।