मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार प्रदेश १ मा वैशाख २२ गते ५ सय ७७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । मोरङमा १ सय ९६ जना, झापामा १ सय ७८ जना , सुनसरीमा १ सय १ जना, धनकुटामा २२ जना, इलाममा १७ जना, सङ्खुवासभामा आठ जना, उदयपुर र भोजपुरमा चार–चार जना, पाँचथरमा तीन, खोटाङ, ताप्लेजुङ र तेहृथुममा एक–एक र प्रदेश १ बाहिरका ४१ जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा वैशाख २२ गतेसम्म सङ्क्रमितको सङ्ख्या ३५ हजार १ सय २९ पुगेको छ । प्रदेश सरकारले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि निर्माण गरेका होल्डिङ्ग सेण्टरमध्ये विराटनगर महानगरपालिका रानी क्षेत्रमा बनाइएको होल्डिङ्ग सेण्टर सञ्चालनका विषयमा आन्तरिक मामिला तथा कानुन मन्त्रीले वैशाख २२ गते अनुगमन गरी होल्डिङ्ग सेण्टर सञ्चालनका विषयमा प्रमुख जिल्ला अधिकारी नेपाली सेनाका पूर्वी पृतना हेडक्वाटरका जर्नेल, प्रमुख जिल्ला अधिकारी, प्रदेश प्रहरी प्रमुखलगायतसँग छलफल गर्नु भएको छ । प्रदेश सरकारले झापाको काड्डभिट्टा, मोरङको रानी,इलामको पशुपतिनगर,भोजपुर र सोलुखुम्बुमा होल्डिङ्ग सेण्टर बनाउने निर्णय यसअघि नै गरेको थियो । कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि उर्लाबारी नगरपालिकाको कार्यालय एक साताका लागि बन्द गरिएको छ । वैशाख २२ गतेदेखि २८ गतेसम्मका लागि नगरपालिकाको आकस्मिक बाहेकका सेवा बन्द गरिएको मेयर खड्ग फागोले बताउनु भएको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत, जिन्सी अधिकृतसहितका कर्मचारीमा कोरोना पुष्टि भएको छ ।
ताप्लेजुङ प्रतिनिधि देवराज गुरुङका अनुसार जिल्लामा वैशाख १९ गते १ सय ८३ जनाको स्वाब सङ्कलन गरेर पठाएका मध्ये वैशाख २२ गते सार्वजनिक गरिएको रिपोटमा ३२ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । १७ जनाको स्वाब लिकेज भएको छ । उनीहरूको पुन स्वाब सङ्कलन गरेर परीक्षण गर्ने फुङलिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मञ्जु गुरुङले बताउनु भएको छ । जिल्लामा वैशाख २२ गतेसम्म कुल सङ्क्रमितको सङ्ख्या ५२ जना पुगेको छ ।
इलाम प्रतिनिधि कोकिला ढकालका अनुसार कोभिड–१९ को महामारी नियन्त्रणका लागि देउमाई नगरपालिकाले कसैलाई घरबाट ननिस्किन आग्रह गरेको छ । नगरपालिकास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण समितिको वैशाख २२ गतेको बैठकले वैशाख २३ गते बिहान ५ बजेदेखि ३१ गते राति १२ बजेसम्म अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन आग्रह गरेको छ । बैठकले तोकिएको सामाजिक दूरी, स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य रूपमा पालना गराउने, हाट, बजार, मेला, पर्व, पाटी, भोजलगायत सबै बन्द गर्ने निर्णय पनि गरेको छ । बैठकले खाद्य र अत्यावश्यक सामग्रीको पसल बिहान ६ देखि ९ बजेसम्म खुला राख्ने तर अरू सबैखाले पसल बन्द गराउने निर्णय पनि गरेको छ । बैठकपछि सूचना जारी गर्दै नगरले अत्यावश्यक सेवाबाहेकका सवारी साधनसमेत नचलाउन र लामो दूरीका सवारी साधन नगरभित्र नरोक्न पनि आग्रह गरेको छ । माईजोगमाई गाउँपालिकाले वैशाख २३ देखि ३१ गतेसम्मलाई अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । गाउँपालिकाले वैशाख २२ गते सूचना जारी गरी अत्यावश्यक बाहेकका सवारी साधनसमेत बन्द गर्न आग्रह गरेको छ । इलाममा वैशाख २२ गते २६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । यो हाल सम्मकै एकै दिन सङ्क्रमण भएकाहरूको उच्च सङ्ख्या हो । यो सँगै इलाममा कोभिड–१९ सङ्क्रमितको संख्या ९९ पुगेको छ । वैशाख २२ गते इलाम नगरपालिकामा १८ जना, रोङ गाउँपालिकामा चार जना, सूर्याेदय, देउमाई र माई नगरपालिका तथा माइजोगमाई गाउँपालिकामा एक एक जना सङ्क्रमित थपिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा वैशाख २२ गते ६० जना पुरूष र ३९ महिलामा सङ्क्रमण पुष्टि भएको छ । कोभिड– १९ सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ ।
सोलुखुम्बु प्रतिनिधि भोजराज कार्कीका अनुसार कोभिड–१९ को सङ्क्रमण दिनप्रतिदिन बढेसँगै स्थानीय तह आइसोलेसनलाई व्यवस्थित बनाउन जुटेका छन् । जिल्लाका कतिपय स्थानीय तहले पुरानो आइसोलेसन केन्द्रलाई नै प्रयोगमा ल्याएका छन् । जिल्लामा वैशाख २२ गतेसम्म १ सय ९ ओटा आइसोलेसन वार्ड तयारी अवस्थामा राखिएको छ । सोलुदूधकुण्ड नगरपालिकाले फाप्लु अस्पतालसँग समन्वय गरी अस्पतालकै आइसोलेसनलाई प्रयोगमा ल्याएको छ । वैशाख २२ गतेसम्मको अवधिमा नगरपालिकामा चार जना सक्रिय सङ्क्रमित छन् । उनीहरू होम आइसोलेसनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ । थुलुङ दूधकोशी गाउँपालिकाले पाँच बेडको कोभिड अस्पताललाई नै आइसोलेसन केन्द्रका रूपमा सञ्चालन गर्ने तयारी गरेको छ । सङ्घीय सरकारले १० लाख रुपियाँ बजेट विनियोजन गरी मुक्लीमा स्थापना अस्पतालमा हाल दुई जना स्टाफ नर्स, एक जना एम.बी.बी.एस डाक्टर तयारी अवस्थामा राखेको गाउँपालिका स्वास्थ्य सह–संयोजक विशाल राईले बताउनु भयो । खुम्बु पासाङल्हामु गाउँपालिकाले लुक्लाको एक होटलमा ३७ बेडको आइसोलेसन सेण्टर निर्माण गरेको छ । नेचा सल्यान गाउँपालिकाले १२ बेडको आइसोलेसन केन्द्र निर्माण गरेको छ । सामुदायिक अस्पताल नेचा सल्यान–४ बेतघारीमा ६ बेड र प्राथमिक स्वास्थ्य केन्द्र नेचा सल्यान–२ सल्यानमा ६ बेडको आइसोलेसन केन्द्र निर्माण गरिएको गाउँपालिका प्रवक्ता धर्मध्वज खत्रीले बताउनु भयो । लिखुपिके गाउँपालिकाले १५ बेडको आइसोलेसन केन्द्र निर्माण गरेको छ । प्रदेश सरकारको ५ लाख रुपियाँ बजेटमा निर्माण गरिएको आईसोलेसनमा पाँच ओटा अक्सिजन सिलिण्डरको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष डम्बरबहादुर बस्नेतले बताउनु भयो । माप्य दूधकोशी गाउँपालिकामा गत वर्ष नै निर्माण गरिएको १५ बेडको आइसोलेसन तयारी अवस्थामा राखेको आईसोलेसन तथा क्वारेण्टिन व्यवस्थापन गरिने प्रमुख प्रशासकीय अधिकृत शिवकुमार राईले जानकारी दिनुभयो । महाकुलुङ गाउँपालिकामा आइसोलेसन केन्द्र निर्माणका लागि बजेट अभाव भएको गाउँपालिका उपाध्यक्ष विपना कुलुङले बताउनु भएको छ ।
पाँचथर प्रतिनिधि मङ्गल बेघाका अनुसार जिल्लामा ११ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेमा जिल्ला स्वास्थ्य कार्यालयका एक जना, जिल्ला अस्पतालका एक जना कर्मचारी, नेपाली सेनाका एक जना र बाँकी आठ जना याङवरक गाउँपालिका–१ का स्थानीय भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी तेजबहादुर तुम्बापोले जानकारी दिनुभयो । सङ्क्रमितहरूको अवस्था सामान्य रहेको र होम आईसोलेसनमा रहेका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले सदरमुकाममा रहेका सरकारी तथा नीजि अस्पतालहरूमा आईसोलेसन स्थापना गर्ने निर्णय गरेको छ । जिल्ला अस्पतालमा १०, समर्पित अस्पतालमा आठ र पाथीभरा अस्पतालमा तीन २१ बेडको आईसोलेसन स्थापना गरी आवश्यक मात्रामा अक्सिजन सिलिण्डर तथा एम्बुलेन्स तयारी अवस्थामा राख्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । इलामसँग सीमाना जोडिएको राँके बजारमा फाल्गुनन्द गाउँपालिकाले हेल्थ तथा हेल्प डेक्स सञ्चालन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले जानकारी दिनुभयो । याङवरक गाउँपालिकाले सङ्क्रमण रोक्न स्थानीय तहमा अत्याश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ ।
सङखुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार दोस्रो चरणको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि वैशाख २२ गतेदेखि जिल्लाका बजार, पसल बन्द गरिएको छ । उद्योग वाणिज्य सङ्घले वैशाख २२ गतेदेखि वैशाख ३१ गते सम्म अति आवश्यक पसल बाहेकका व्यवसाय, साप्ताहिक हाटबजार बन्द गर्ने निर्णय गरेको छ । खाँदबारी नगरपालिका वडा– १ र ३ ले वैशाख २२ गतेदेखि २८ सम्म वडाबाट सञ्चालन हुने सेवा बन्द गरेको छ ।
झापा प्रतिनिधि नरेश खातीका अनुसार जिल्ला प्रशासन कार्यालयले वैशाख २१ गते मध्यराति देखि लागू गरेको निषेध आदेशलाई थप कडाइका साथ कार्यान्वयन गर्ने भएको छ । जिल्लामा कोभिड–१९ को सङ्क्रमण बढेसँगै वैशाख ३१ गतेसम्मका लागि जारी गरिएको निषेध आदेशलाई थप कडाइका साथ कार्यान्वयन गर्ने निर्णय भएको प्रशासनले जनाएको छ । निषेध आदेश भर अत्यावश्यक बाहेकका सेवा प्रवाह रोकिएको छ । दैनिक उपभोग्यलगायतका वस्तुका लागि विहान ६ बजेदेखि विहान १० बजेसम्म बजार तथा पसल खुल्ला गर्न दिइने प्रशासनले जनाएको छ ।
धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार जिल्लामा वैशाख २२ गते ५० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । धनकुटा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा धनकुटाका १६, धनकुटामा कार्यरत इलामका एक जना, नुवाकोटका एक जना कर्मचारीमा सङ्क्रमण पुष्टि भएको धनकुटा अस्पतालका सूचना अधिकारी राजन पोख्रेलले जानकारी दिनुभयो । सङ्क्रमण बढ्दै गएपछि धनकुटामा एक हप्ता सुनचाँदी पसल बन्द गरिएको छ । नेपाल सुनचादीँ व्यवसायी सङ्घ धनकुटाले वैशाख २२ गतेदेखि २८ गतेसम्म जिल्लामा रहेका सबै सुनचादीँ पसल बन्द गर्ने निर्णय गरेको नेपाल सुनचाँदी व्यवसायी सङ्घ धनकुटाका अध्यक्ष रोशेष श्रेष्ठले बताउनु भयो । यस्तै धनकुटा फेन्सी व्यवसायी सङ्घले वैशाख २२ गते दिउँसो १२ बजेदेखि अर्को सूचना जारी नभएसम्म धनकुटा सम्पूर्ण फेन्सी व्यवसाय बन्द गर्ने निर्णय गरेको छ ।
ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार जिल्लामा वैशाख २२ गते थप एक जनामो कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । सिद्धिचरण नगरपालिका–११ का ५१ वर्षीय पुरूषमा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित पुरूषलाई अक्सिजन दिनुपर्ने अवस्था देखिएपछि ओखलढुङ्गा सामुदायिक अस्पतालमा राखेर उपचार थालिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले बताउनु भएको छ ।
तेहृथुम प्रतिनिधि भगिश्वर लिम्बूका अनुसार जिल्लामा कोभिड–१९ को सङ्क्रमण बढेसँगै जिल्लाका ६ ओटा स्थानीय तहले मुख्य हाट तथा बजार बन्द गर्ने निर्णय गरेका छन् । वैशाख २२ गतेसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ । कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि तेहृथुम यातायात प्रालिले वैशाख २३ गते देखि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि ट्याक्सी सेवा बन्द गरेको छ ।
भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको वैशाख २२ गतेको बैठकले कोभिड–१९ को जोखिम रोकथाम तथा न्यूनीकरणका लाथि बजार क्षेत्रका सर्वसाधारणलाई अत्यावश्यक काम बाहेक बाहिर निस्कन नदिने निर्णय गरेको छ । जिल्ला प्रवेश गर्ने सवारीलाई पनि कडाइ गरिएको छ । अनिवार्य रूपमा सामाजिक दूरीको पालना गर्नुपर्ने तथा मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीले बताउनु भयो । औषधि पसल बाहेक अन्य व्यवसाय बिहान सात बजेदेखि बिहान नौ बजे सम्म र बेलुका ४ बजे देखि ७ बजे सम्म सञ्चालन गर्न दिने निर्णय भएको छ । जिल्ला प्रवेश गर्ने प्रत्येक नाकामा हेल्थडेक्सको स्थापना गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताउनु भएको छ ।
उदयपुर प्रतिनिधि भरत खड्काका अनुसार कोभिड–१९ सङ्क्रमितको सङ्ख्या प्रतिदिन बढ्दै गएपछि स्थानीय तह र सरकारी कार्यालयहरू धमाधम बन्द हुन थालेका छन् । महामारी रोकथामका लागि जिल्ला प्रशासन कार्यालयले सरकारी कार्यालयको कामकाज आलोपालो गरी सञ्चालन गर्न परिपत्र जारी गरेपनि कोरोना नियन्त्रणमा नआएपछि कार्यालय बन्द हुन थालेका हुन् । वैशाख २१ गते जिल्ला अस्पताल र कृषिज्ञान केन्द्रका तीनतीन जना कर्मचारीमा सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालले वैशाख २२ गतेदेखि लागू हुने गरी इमेरजेन्सी र फिवर क्लिनिक सेवाबाहेक ओपिडी लगायतका सबै सेवा बन्द गरेको सूचना अधिकारी वृष खत्रीले बताउनु भयो । कृषिज्ञान केन्द्रका सूचना अधिकारी अनु वीसीले तीन जना अधिकृतमा पोजेटिभ देखिएपछि सेवा बन्द गरिएको बताउनु भयो । त्रियुगा नगरपालिका, बेलका नगरपालिका, चौदण्डीगढी नगरपालिका र उदयपुरगढी गाउँपालिकाले अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको छ । कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि वैशाख २२ गते राति १० बजेदेखि लागूहुने गरी ७ दिनका लागि नगरमा अत्यावश्यक बाहेकका सबै कार्य गर्न प्रतिवन्ध गर्ने निर्णय गरिएको बताउनु भएको छ । बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले वैशाख २२ देखि ३१ गतेसम्म अत्यावश्यक बाहेक सबै सेवा प्रवाह रोक्ने निर्णय भएको बताउनु भयो । कोरोना समुदायस्तरमा फैलन नदिन कार्यालयले २० जना महिलालाई राख्ने गरी वडा–१ भागलपुरमा र २० जना पुरूष राख्ने गरी रामपुरमा क्वारेन्टिन बनाएको छ । चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले बिरामीलाई मध्यनजर गरी दश थान अक्सिजन, तत्काल उद्दारका लागि एम्बुलेन्स सेवा र २० जना क्षमता भएको क्वारिन्टिन तयारी अवश्थामा राखेको बताउनु भयो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीका अनुसार वैशाख २२ गतेसम्म सङ्क्रमितको संख्या ७८ पुगेको छ । जिल्लामा वैशाख २२ गतेसम्मको अवधिमा दोस्रो लहरको कोभिड–१९ का कारण एक जना महिला र एक जना पुरूषको मृत्यु भएको छ ।