INSEC Online

📅 २०८३ जेष्ठ २२

कोभिड–१९ सङ्क्रमणसम्बन्धी कर्णाली प्रदेशको दैनिक अपडेट (वैशाख २१ गते)

सल्यान प्रतिनिधि मिना बुढाथोकीका अनुसार अस्पतालमा एन्टिजेन किट सकिएपछि कोभिड–१९ परीक्षण स्थगित गरिएको स्वास्थ सेवा कार्यालय सल्यानका व्यवस्थापक दशरथ श्रेष्ठले जानकारी दिनुभएको छ । एन्टिजेन किट प्रदेश सरकारले उपलब्ध गराउँदै आएको र अहिले प्रदेशमै किट सकिएपछि पिसिआरका लागि २ सय स्वाब सङ्कलन गरेर सुर्खेत पठाइएको श्रेष्ठले बताउनुभयो । यस्तै अस्पतालमा पर्याप्त अक्सिजन नहुँदा समस्या देखिएको छ । अस्पतालका अनुसार १७ ओटा अक्सिजन सिलिण्डरमध्ये तीन ओटा सिलिण्डिर बिग्रिएका छन् । २४ घण्टामा १० ओटा सिलिण्डर सकिने डाक्टर भिमकान्त जैसीले बताउनुभयो । केहि दिनअघि मात्रै कर्णाली प्रदेशबाट अक्सिजन प्लाण्ट मेशिन आएपनि जडान गर्ने जनशक्ति नपठाउँदा मेशिन थन्किएको जैसीको भनाई छ ।

जुम्ला प्रतिनिधि मानदत्त रावलका अनुसार कोभिड–१९ सङ्क्रमण बढेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले वैशाख १७ गतेदेखि ओपिडि सेवा बन्द गरेको छ । प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डाक्टर राजिव शाहका अनुसार सबै स्वास्थ्यकर्मी कोभिडको उपचारमा खटिनुपर्ने भएको हुँदा अहिले आकस्मिक बाहेकका सेवा बन्द गरिएको हो । यसैबिच सङ्क्रमण बढेको भन्दै जिल्ला विपद व्यवस्थापन समितिको वैशाख २१ गतेको बैठकले वैशाख २२ गतेदेखि वैशाख मसान्तसम्म जिल्लामा निषेध आदेश जारी गरेको छ ।

रूकुम पश्चिम प्रतिनिधि मनिषा केसीका अनुसार कोभिड–१९ सङ्क्रमणका बिरामीहरूको सङ्ख्या बढेपछि जिल्ला अस्पताल सल्लेमा बेडको अभाव भएको छ । आठ बेड क्षमताको अस्पतालको आइसोलेशनमा हाल १२ जना कोभिड–१९ का बिरामीहरू रहेको र आठ जना बिरामीहरूलाई भुँइमा राखेर उपचार गरिरहेको स्वास्थ्य सेवा कार्यालय रूकुम पश्चिमका कोरोना रोग नियन्त्रण फोकल पर्सन इश्वर रावलले बताउनु भयो ।
यसैबिच मुसीकोट नगरपालिकाले ५० बेडको आइसोलेशन सञ्चालन गर्ने निर्णय गरेको छ । वडा नम्बर १ सल्लेस्थित राप्ती समाज अस्पताललाई भाडामा लिएर तत्काललाई अक्सिजन सहितका पाँच बेड र अन्य नर्मल बेड गरी ५० बेडको आइसोलेशन सञ्चालन गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले जानकारी दिनुभयो । आइसोलेशनमा बेड र अक्सिजन जडानदेखि अन्य सबै व्यवस्थापनको काम सम्पन्न भइसकेकोले वैशाख २१ गतेबाट सञ्चालनमा ल्याइएको उहाँको भनाई छ ।

अन्य

भिडियो