INSEC Online

📅 २०८३ जेष्ठ २२

कोभिड–१९ सङ्क्रमणसम्बन्धी सुदूरपश्चिम प्रदेशको दैनिक अपडेट ( वैशाख २१ गते )

इन्सेक सुदूरपश्चिम प्रदेश अन्तर्गत कार्यरत इन्सेक जिल्ला प्रतिनिधिहरुले वैशाख २१ गते पठाउनु भएको सूचनाका आधारमा कोभिड–१९ को जोखिमलाई नियन्त्रण तथा रोकथामका लागि प्रदेश अन्तर्गत भइरहेका कार्यहरु र समस्याहरुको जिल्लागत अवस्था विश्लेषण यस प्रकार रहेको छ ।

इन्सेक कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार घोडाघोडी नगरपालिकाले तयार गररेको आइसोलेसन कक्षमा डाक्टर नहुँदा सञ्चालनमा आउन सकेको छैन् । संघीय सरकारको १० लाख रुपियाँ सहयोगबाट पाँच शैयाको कोभिड अस्थायी अस्पताल निर्माण गरिएको भएपनि डाक्टर नहुँदा अक्सिजनसहितको आइसोलेसन सञ्चालन गर्न समस्या भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंहले बताउनु भयो  । यसअघि नगरपालिकाले चिकित्सक पदपुर्तिका लागि गरेको विज्ञापनमा एक जनाको मात्रै निवेदन परेकामा उक्त व्यक्ति समेत अन्तरवार्तामा नआउँदा पदपुर्ति हुन नसकेको कारण १० शैयाको आइसोलेसन सहितको कोभिड अस्पतालमा आएका कोभिडका बिरामीहरुलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पठाउनु पर्ने बाध्यता रहेको सिंहले बताउनु भयो  ।

इन्सेक बाजुरा प्रतिनिधि पदमबहादुर सिंहका अनुसार जिल्ला प्रशासन कार्यालय, बाजुराले सार्वजनिक सूचना जारी गर्दै वैशाख २२ गतेदिख लागु हुने गरी वैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । कोभड महामारीबाट आफू पनि बचौँ र अरुलाई पनि बचाउँ भन्ने नाराका साथ वैशाख २२ गतेदेखि निषधाज्ञा गर्ने निणर्य गरेको हो । निषेधाज्ञाको अबधिमा अत्यावश्यक काममा मास्क लगाएर बाहेक बिना काम हिडडूल गर्न नपाइने, कुनै पनि भेला , बैठक , भोजभतेर आदि आयोजना गर्न नपाइने, तोकिएका बाहेक अन्य कुनै पनि यातायातका साधन चलाउन नपाइने, समाग्री ढुवानी गर्ने सवारी साधनमा चालक र सहचालक बाहेक अन्य व्यक्तिलाई चढाउन नपाइने, खाद्य समाग्री र निर्माण समाग्री बाहेक अन्य पसल तथा होटल रेष्टुरेण्टहरु खोल्न नपाउने, सरकारी वा गैरसरकारी कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहने र बजारमा सामानको अभाव गराउन वा मुल्यबृद्धि वा कालोबजारी गर्न नपाइने जिल्ला प्रशासन कार्यालय, बाजुराले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । यसैगरी निषेधाज्ञाको समयमा खाद्यान्न ,फलफूल, तरकारी लगायतका अत्यावश्यक खाद्य समाग्री र निर्माण समाग्रीका पसल बिहान ६ बजेदेखि १० बजेसम्म र आवश्यक भएमा दिउसो ४ बजेदेखि ६ बजेसम्म स्वास्थ्य मापदण्ड अपनाएर खोल्न पाइने, बैङ्क तथा वित्तिय  संस्थाहरु निश्चित समयका लागि खुला रहने र औषधि पसल तथा स्वास्थ्य संस्थाहरु २४ औँ घण्टा खुला रहने जनाइएको छ । निषेधाज्ञाको समयमा स्थानीयहरुलाई कुनै समस्या भए सहायक प्रमुख जिल्ला अधिकारीको टेलिफोन नम्बर ९८५८४८०८१४ र जिल्ला प्रहरी प्रमुखको टेलिफोन नम्बर ९८५८४४५५५५ सम्पर्क गर्न पनि जिल्ला प्रशासन कार्यालय, बाजुराले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

इन्सेक दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार जिल्ला अस्पताल, दार्चुलामा निर्माण गरिएको आइसोलेसन वेड कोभिड सङ्क्रमित बिरामीहरुले भरिएपछि थप बिरामीहरुको उपचार जिल्ला अस्पताल बाहिर त्रिपाल राखेर उपचार गर्न थालिएको छ । जिल्ला अस्पतालमा १३ ओटा वेड सहितको आइसोलेसन तयार गरिएको भएपनि सबै वेडहरु कोभिड बिरामीहरुले भरिएपछि थप सङ्क्रमितहरुको उपचारका लागि त्रिपाल लगाएर उपचार गर्नु पर्ने बाध्यता आएको जिल्ला अस्पताल, दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले बताउनु भयो । उहाँले भन्नु भयो– ‘अहिले कोभिडका बिरामी १५ पुगेका छन् । आइसोलेसन वेड भरिएपछि आइसोलेसन वेड कै बाहिर पट्टी दुई ओटा र फिबर सङ्कलन गर्ने क्षेत्रमा दुई ओटा त्रिपाल टागेर उपचार भइरहेको छ ।’ जिल्ला अस्पतालमा कोभिड सङ्क्रमितहरु बढदै जानु र अन्य बिरामी बढेपनि जनशक्ति अभावले समस्या भोग्नु परेको सूचना अधिकारी भट्टले बताउनु भयो । जनशक्ति अभावका कारण सुदूरपश्चिम प्रदेश सरकारले गत मङ्सिर महिनामा जिल्ला अस्पताल, दार्चुलालाई उपलब्ध गराएको दुई आइसियु सहितको भेन्टीलेटर मुख्यामन्त्री कार्यालयले पत्र पठाएर फिर्ता मागेको सूचना अधिकारी भट्टले बताउनु भयो । उहाँले भन्नु भयो– ‘पाँच महिनादेखि जनशक्ति नहुँदा थन्कीएको भेन्टीलेटर जनशक्ति पठाउनुको सट्टा फिर्ता मागेको छ । कोभिड सङ्क्रमण  बढदै गएपछि अस्पतालकै जनशक्तिले आइसियु र भेन्टीलेटर प्रयोगमा ल्याउन थालिएको थियो । ’

दार्चुला सदरमुकाम खलंगास्थित पुलघाट सीमा नाकाबाहेक भारतसँग जोडिएका अन्य सबैै नाका बन्द गरिएको छ । तर, खलंगा पुलघाट नाका भएर आउने नेपालीहरुको एन्टीजेन परीक्षण अनिवार्य गरिएको छ । कोभिडको सङ्क्रमण  बढदै गएको भन्दै सदरमुकाम खलंगाको पुलघाट नाका बाहेकका सबै नाका बन्द गरिएको हो । नेपाल सरकारको निर्णय अनुसार जिल्लाको पुलघाट नाका मात्रै खुला गर्ने निर्णय भएको र नाका भएर नेपाल आउने सबै नेपालीको एन्टीजेन परीक्षण अनिवार्य गिर्ने निर्णय पनि भएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताउनु भयो । दार्चुलामा भारतसँग सीमा जोडिएका लाली, जोलजीवि, दत्तु, तिग्रम, बडुगाउँ र सितापुल छन् ।

जिल्लामा कोभिड सङ्क्रमण  दर बढदै गएपछि कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको वैशाख २१ गते बसेको बैठकले सदरमुकाम खलंगा र शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा ५० / ५० शैयाको आइसोलेसन निर्माण गर्ने निर्णय गरेको छ । बैठकले आइसोलेसन शैया निर्माणमा चाहिने उपकरण तथा समाग्री खरिदको लागि सम्बन्धीत कार्यालय र स्थानीय तहलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले कोभिड– १९ सङ्क्रमितहरुको लागि अक्सिजन खरिद गर्न दिएको ८० लाख रुपियाँ, स्थानीय पुर्वाधार कार्यक्रम अन्तर्गत जिल्ला अस्पतालको लागि समाग्री खरिदको लागि दिएको १ करोड ३० लाख रुपियाँ, प्रदेश पुर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला अस्पताललाई प्रदान गरिएको ५० लाख रुपियाँ, शैल्यशिखर नगरपालिकास्थित गोकुलेश्वर अस्पताललाई प्रदेश पुर्वाधार साझेदारी कोषबाट प्राप्त ४० लाख रुपियाँ र स्थानीय पुर्वाधार विकास कोषबाट प्राप्त २० लाख रुपियाँ आइसोलेसन सञ्चालनका लागि समाग्री खरिद गरिने भएको छ । यसैगरी सदरमुकाम खलंगाको महेन्द्र नमूना मावि, खलंगामा पाँच शैयाको आइसोलेसन बनाउने तयारी भएको महाकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डाक्टर विजय भुर्तेलले बताउनु भयो ।

इन्सेक कञ्चनपुर प्रतिनिधि कोमलनिरञ्जन भाटका अनुसार जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरले निषेधाज्ञाको समयावधि थप गर्ने निर्णय गरेको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको निर्णय अनुसार वैशाख २२ गतेराती १२ बजेदेखि ३१ गतेराती १२ बजेसम्म निषेधाज्ञा थप गरिएको हो । कोभिड–१९ सङ्कट व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले स्वास्थ्य सेवा, दुग्ध, पेट्रोलियमसम्बन्धी व्यापारव्यवसाय बाहेकका अन्य व्यवसाय सञ्चालन गर्नमा रोक लगाइएको बताउनु भयो । ‘एउटा एटीएम र चेकबुक लिएर यात्रा गर्ने, प्रहरीले समात्यो भने बैंक जान लागेको भन्ने बाहाना बनाउने धेरै भएपछि बैंक पनि बन्द गरिएको हो ।’ महतोले भने ‘तरकारी खरिदमा पनि त्यस्तै बाहाना बनाउने गरेको पाएपछि तरकारी, खाद्य, फलफूलका व्यवसाय हरेक आइतबार, मङ्गलबार र बिहीबार मात्रै सञ्चालन गर्न पाउने गरी निषेधाज्ञा थप गरिएको हो ।’ मालबाहक ढुवानीका साधन बाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ । राजस्व सङ्कलन लगायतका सरकारी सेवा भने खुला रहने महतोले बताउनु भयो । सञ्चारकर्मीको हकमा नेपाल पत्रकार महासंघको सिफारिशमा प्रमुख जिल्ला अधिकारीबाट जारी भएको पासका आधारमा आवतजावत गर्न सकिने छ । विवाह तथा व्रतबन्धको लागि अनुमति तथा पास जारी गर्ने कार्य सम्बन्धित ‘क’ वर्गको इलाका प्रहरी कार्यालयले बढीमा १५ जनासम्म सहभागी भई जनस्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना हुने गरी अनुमति दिन सक्नेछ । अत्यावश्यक अवस्थामा नेपाल प्रवेश गर्न चाहने व्यक्तिले नेपाल सरकारद्वारा तोकिएको गड्ड चौकी र गौरीफन्टा नाकाबाट निर्धारित मापदण्ड पुरा गरेर आवागमन गर्न सकिने व्यवस्था गरिएको छ । अन्य खुला सिमानाको जुनसुकै विन्दुबाट आवागमन नगर्ने, नेपाल प्रवेश गर्ने कञ्चनपुर जिल्लाको नागरिकको हकमा सम्बन्धित स्थानीय तहको समन्वयमा क्वारेण्टीन र आइसोलेसनमा बस्नु पर्ने तथा जिल्ला बाहिरका नागरिकको हकमा नाकामा रहेको हेल्थ डेस्कमा स्वास्थ्य परीक्षणपश्चात होल्डिङ सेन्टरबाट सम्बन्धित स्थानीय तहको समन्वयमा गन्तव्यमा पठाइने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी महतोले बताउनु भयो ।

इन्सेक बैतडी प्रतिनिधि नरी बडुका अनुसार जिल्ला अस्पताल, बैतडीमा भेन्टीलेटर सहितको आइसियु कक्ष स्थापना भएपनि सञ्चानलमा आउन नसक्दा कोभिड सङ्क्रमितहरु समस्यामा परेका छन् ।  गम्भिर प्रकारका बिरामीको उपचारका लागि भनेर प्रदेश सरकारले भेन्टीलेटर खरिद गरेर पठाएको भएपनि अहिलेसम्म सञ्चानलमा आउन नसक्दा समस्या भएको जिल्ला अस्पतालका प्रमुख डाक्टर बसन्तराज जोशीले बताउनु भयो ।

भेन्टीलेटर सहितको आइसियु सेवा सञ्चालनमा नआउँदा कोभिड सङ्क्रमितसँगै अन्य गम्भिर बिरामीहरुलाई बाहिरी जिल्ला रेफर गर्नु पर्ने बाध्यता रहेको डाक्टर जोशीले बताउनु भयो । प्रदेश सरकारले खरिद गरेको भेन्टीलेटर मेसिन पाँच महिना पहिले जिल्ला पठाइएको भएपनि सेवा सञ्चालन गर्न दक्ष स्वास्थ्यकर्मीको अभाव भएकाले सञ्चालन गर्न नसकिएको अस्पताल प्रशासनले जनाएको छ ।

यसैगरी जिल्ला अस्पताल, बैतडीले आकस्मिक र प्रसुती बाहेकका सबै सेवा बन्द गरेको छ । अस्पतालमा कोभिड सङ्क्रमितहरुको सङ्ख्या बढदै गएपछि अन्य सेवाहरु बन्द गरिएको जिल्ला अस्पताल, बैतडीका प्रमुख डाक्टर बसन्तराज जोशीले बताउनु भयो । केही स्वास्थ्य समस्या आएमा अस्पतालको फोनमा सम्पर्क गरेर परामर्श लिन सकिने डाक्टर जोशीको भनाई छ । अस्पतालमा आठ वेडको आइसोलेसन रहेपनि पछिल्लो समयमा बिरामीको सङ्ख्या बढ्न थालेपछि चार वेड थप गर्ने तयारी भएको र अस्पतालमै राख्नु पर्ने बिरामीहरुलाई मात्रै अस्पतालमा राखिएको र समान्य लक्षण भएकाहरुलाई संस्थागत आइसोलेसन र होम आइसोलेसनमा बस्ने सल्लाह सहित पठाउने गरिएको डाक्टर जोशीले बताउनु भयो । वैशाख २१ गते दिउसोसम्म जिल्लामा २ सय ४७ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालय, बैतडीका प्रमुख योगेश भट्टले बताउनु भयो ।

इन्सेक डोटी प्रतिनिधि बाशुदेव जोशीका अनुसार कोभिड–१९ जिल्ला  सङ्कट व्यवस्थापन समितीको वैशाख २० गते  बसेको बैठकले  जिल्लामा २ सय जना सङ्क्रमित पुगेको अवस्थामा लगडाउन गर्ने निर्णय गरेसँगै आजसम्म १ सय ९८ जना सक्रिय सङ्क्रमित  पुगेको भन्दै वैशाख २१ गते राती १२ बजेदेखि लागु हुने गरी वैशाख ३१ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताउनु भयो । यसैगरी बड्डी केदार गाउँपािलकाको कार्यालयमा कार्यरत  चार जना कर्मचारीमा वैशाख २० गते कोभिड सङ्क्रमण पुष्टि भएपछि वैशाख २० गते  नै कार्यपालिकाको बैठक बसेर  एक हप्ताको लागि गाउँपालिकाबाट प्रवाह गरिने सम्पूर्ण सेवाहरु बन्द गरी गाउँपालिका नै सील गरिएको  बड्डी केदार गाउँपालिकाका अध्यक्ष कृष्ण चन्दले बताउनु भयो ।

अन्य

भिडियो