INSEC Online

📅 २०८३ जेष्ठ २२

कोभिडका कारण मृत्यु भएका परिवारलाई प्रदेश सरकारले १ लाख रुपियाँ दिने

कर्णाली प्रदेश सरकारले कोभिड सङ्क्रमणबाट मृत्यु भएका परिवारलाई १ लाख रुपियाँ राहत उपलब्ध गराउने निर्णय गरेको इन्सेकका सुर्खेत प्रतिनिधि दुर्गा थापाले उल्लेख गर्नुभएको छ ।

वैशाख १९ गते बसेको कर्णाली प्रदेश मन्त्री परिषदको बैठकको निर्णयानुसार सो राहत रकम उपलब्ध गराउने निर्णय गरेको आर्थिक तथा योजना मन्त्री एवम् सरकारका प्रवक्ता विमला केसीले बताउनु भयो ।

यस प्रदेशका जनताको दुःखको घडीमा राहत पुर्‍याउने उद्देश्यले कोरानाबाट मृत्यु भएका परिवारलाई सो रकम उपलब्ध गराउने निर्णय गरिएको आर्थिक तथा योजना मन्त्री समेत रहनु भएकी प्रवक्ता केसीले जानकारी दिनुभयो ।

प्रदेश सरकारले कोभिड सङ्क्रमितहरुलाई पौष्टिक खाना खुवाउन ४ सय रुपियाँदेखि ६ सय रुपियाँसम्म उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

प्रवक्ता केसीका अनुसार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा वैशाख १९ गते बसेको प्रदेश कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।

जस अनुसार हुम्ला, डोल्पा र मुुगुका कोभिड सङ्क्रमितहरूले जनही ६ सय रुपियाँ, जुम्ला र कालिकोटका सङ्क्रमितले ५ सय रुपियाँ तथा रुुकुम पश्चिम, सल्यान, दैलेख, जाजरकोट र सुर्खेतकाले पौष्टिक खाना बापत ४ सय रुपियाँ पाउनेछन् ।

यस्तै बैठकले प्रदेशमा बढदो सङ्क्रमितहरुको उचित उपचार तथा व्यवस्थापनका लागि कोभिड अस्पताल कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ५ सय बेड थप गर्ने, तत्काल अक्सिजन सहित एकसय बेड सञ्चालनमा ल्याउने र ३ सय बेड तयारीका लागि प्रिफेबको हल बनाउने जिम्मा नेपाली सेनालाई दिने निर्णय पनि गरेको छ ।

बैठकले कालिकोट, रुुकुम पश्चिम, सल्यान, दैलेख र जाजरकोट जिल्ला अस्पतालहरुमा अक्सिजन सहित एक सय बेड, हुम्ला, मुुगुु र डोल्पामा अक्सिजन सहित ५० बेड थप गर्नका लागि आवश्यक प्रक्रिया अघि बढाउने तथा प्रदेशमा कार्यरत ७५ प्रतिशत स्वास्थ्यकर्मीहरुलाई कोरोना संक्रमितहरुको उपचारमा परिचालन गर्ने निर्णय गरेको प्रवक्ता केसीले जानकारी दिनुुभयो ।

रुकुम (पश्चिम) प्रतिनिधि मनिषा केसीका अनुसार लक्षणसहितका कोभिडका बिरामीको चाप बढ्दै गएपछि जिल्ला अस्पताल सल्लेमा अक्सिजन प्लान्ट जडान गर्न लागिएको छ ।

अक्सिजन प्लाण्ट जडान गर्न अक्सिजन उत्पादन गर्ने मुख्य मेशिन ४० एलपीएम क्षमताको मेशिन वैशाख १९ गते जिल्ला अस्पतालमा ल्याइपु¥याइएको हो ।

कर्णाली प्रदेश सरकारको सहयोगमा ३९ लाख २२ हजार रुपियाँ लागतमा मेशिन खरदिर गरिएको हो । बायोमेडिकल इञ्जिनियर सौरभ सिजापतिले मेशिन ल्याएर जडानको काम भइरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार अक्सिजन प्लाण्ट जडानको आधा काम भइसकेको र अब पाइपलाइनको काम बाँकी रहेको छ ।

पछिल्लो समय लक्षण सहितका कोभिडका बिरामी बढ्दै गएपछि अक्सिजन प्लाण्टको आवश्यकता परेको थियो ।

जिल्ला स्वास्थ्य कार्यलयका कोरोना फोकल पर्सन इश्वर रावलले अक्सिजन प्लाण्टको आवश्यकता भएपछि अक्सिजन प्लाण्टको लागि पहल थालिएको बताउनुभयो ।

डोल्पा प्रतिनिधि विष्णु देवकोटाका अनुसार जिल्ला प्रशासान कार्यालयले १० दिनको लागि जिल्लाभर लागु हुने गरी निषेध आदेश जारी गरेको छ ।

जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको वैशाख २० गते बसेको बैठकले सङ्क्रमण रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ ले दिएको अधिकार प्रयोग गरी वैशाख २१ गते राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म लागु हुने गरि निषेध आदेश जारी गर्ने निर्णय गरेको हो ।

जिल्ला सदरमुकाम दुनै बजार, जुफाल र त्रिपुराकोट बजार क्षेत्रका पसलहरू बिहान ९ बजेदखि दिउँसो १२ बजेसम्म मात्र खुला गर्ने, होटेल रेष्टुरेण्ट, शैलुन, पुलहाउस व्यूटीपार्लर जस्ता व्यवसाय पुर्ण रुपमा बन्द गर्ने र औषधि पसलहरू भने सबै समयमा खुला राख्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सरकारी कार्यालयहरुबाट प्रदान गरिने अत्यावश्यक सेवा र सेवाग्राहीका जरुरी काम बाहेकका सेवा बन्द गर्ने, जिल्लाका सम्पुर्ण शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले जानकारी दिनु भएको छ ।

अन्य

भिडियो