INSEC Online

📅 २०८३ जेष्ठ २२

कोभिड–१९ सङ्क्रमणसम्बन्धी सुदूरपश्चिम प्रदेशको दैनिक अपडेट ( वैशाख २० गते )

इन्सेक सुदूरपश्चिम प्रदेश अन्तर्गत कार्यरत इन्सेक जिल्ला प्रतिनिधिहरुले वैशाख २० गते पठाउनु भएको सूचनाका आधारमा कोभिड–१९ को जोखिमलाई नियन्त्रण तथा रोकथामका लागि प्रदेश अन्तर्गत भइरहेका कार्यहरु र समस्याहरुको जिल्लागत अवस्था विश्लेषण यस प्रकार रहेको छ ।

इन्सेक बाजुरा प्रतिनिधि पदमबहादुर सिंहका अनुसार जिल्लामा दिनानुदिन कोभिड भाइरस सङ्क्रमण बढदै गएपछि जिल्ला प्रशासन कार्यालय, बाजुराले वैशाख २२ गते बिहान ५ बजेदेखि लागु हुने गरी वैशाख ३१ गते राती १२ बजेसम्मका लागि  निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले बताउनु भयो । कोभिड सङक्रण रोकथाम तथा नियन्त्रण गर्न वैशाख २० गते कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको निर्णय अनुसार जिल्लामा निषेधाज्ञा जारी गर्ने निणर्य गरेको हो । सर्बसाधारण सबैले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र एम्बुलेन्स प्रयोग गर्दा बिरामी तथा कुरुवा गरी तीन जना मात्र एम्बुलेन्समा जान पाउने समेत निणर्य गरेको प्रमुख जिल्ला अधिकारीले बताउनु भयो  । खाद्य सम्रागी, तथा पशुपन्छीको दाना, तरकारी, फलफूल, दुग्धपदार्थ, माछा, माशु, पानी, ग्याँस तथा प्रेटोलियम पदार्थ बोकेका सवारी साधानहरु भने कोभिड–१९ भाइरसबाट बच्ने सुरक्षा समाग्री प्रयोग गरेर विहान ६ बजेदेखि १० बजेसम्म र दिउसो ४ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न दिने प्रशासनले जनाएको छ । चिकित्सकहरुले आउने जाने सवारी साधान र अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी सवारी साधानहरु बाहेकका सम्पूर्ण सवारी साधन बन्द रहने छन् । बाजुरा जिल्ला कारागारमा कोभिड भाइरस फैलिएको छ । कारागारमा तीन जना कैदीलाई कोभिड पोजेटिभ देखिएको जिल्ला प्रहरी कार्यालय, बाजुराका डिएसपी मदनजीत महराले बताउनु भयो । आठ जना कैदीलाई एन्टिजेन बिधिबाट गरिएको परीक्षणमा तीन जनामा कोभिड सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित तीनै जनालाई कारागार भित्रै अलग्गै आइसोलेसन बनाएर राखिएको छ । जिल्ला कारागार, बाजुरामा २५ जनाको क्षमता भएपनि हाल ५९ जना कैदीबन्दी रहेका छन् । धेरै जना कैदीबन्दीहरुको कोभिडसँग मिल्दोजुल्दो लक्षणका बिरामीहरु रहेका जिल्ला प्रहरी कार्यालय, बाजुराका डिएसपी महराले बताउनु भयो ।

इन्सेक कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार कैलाली जिल्लामा  पत्रकारहरुमा पनि कोभिड सङ्क्रमण बढ्दै गएको छ । हालसम्म नेपाल पत्रकार महासंघ, कैलालीका अध्यक्ष हिमाल जोशी लगायत ११ जना पत्रकारहरुमा कोभिड सङ्क्रमण पुष्टि भइसकेको छ । अप्ठेरो अवस्थामा नै पत्रकारहरु अझबढी सक्रिय भएर जनतालाई सुचित गर्नु पर्नेमा कोभिड सङ्क्रमणबाट पत्रकारहरु नै जोखिमका रहेको कारण सूचना सङ्कलन तथा सम्प्रेषणमा समस्या उत्पन्न भएको पत्रकार महासंघ, कैलालीका अध्यक्ष हिमाल जोशीले बताउनु भयो । यदपी होम आइसोलेसनमा बसेर भएपनि सूचना सङ्कलन र सम्प्रेषण गर्ने कार्य भइरहेको उहाँले बताउनु भयो । पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावलले ११ जना पत्रकारमा कोभिड सङ्क्रमण देखिएपछि अन्य पत्रकारलाई सचेत भएर समाचार सङ्कलन गर्न तथा सङ्क्रमित पत्रकारको उपचारमा ध्यान दिन सरोकारवाला निकायलाई अनुरोध गरेको बताउनु भयो । नेपाल प्रेस युनियन, कैलालीका अध्यक्ष श्रवण देउवाले सिङ्क्रमित पत्रकारको उपचारमा पनि सरोकारवाला पक्षले ध्यान दिन आवश्यक भएको बताउनु भयो । यसैगरी सुदूरपश्चिममा कोभिड भाइरसको सङ्क्रमण  निरन्तर बढन थालेसँगै अस्पतालहरूमा बेड र अक्सिजनको चरम अभाव भएको छ । जसका कारण समयमा उपचार नपाई सङ्क्रमितले मृत्युवरण गर्न थालेका छन् । अक्सिजनको चरम अभाव भएपछि सेती प्रादेशिक अस्पतालमा भने दुई जना बिरामीलाई एउटा अक्सिजन सिलीण्डर बाडनु पर्ने बाध्यता रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताउनु भयो । पहिलो प्रजातिभन्दा युके भेरियन्ट नामको कोभिड भाइरस ४३ देखि ९० प्रतिशतले छिटो सर्ने भएकोले भारतमा झै नेपालमा पनि तिब्रगतिमा सङ्क्रमण  बढदै गइरहेको अवस्थामा यसको रोकथामका लागि पूर्वतयारी अप्रयाप्त नदेखिएको सूचना अधिकारी दिलिप श्रेष्ठले बताउनु भयो । कोभिड सङ्क्रमितसँगै समयमा अक्सिजन र बेड पाउन समस्या भएपछि मृत्युदर समेत उच्च हुदै गएको छ ।

इन्सेक दार्चुला प्रतिनिधि नरेन्द्र कार्कीका अनुसार जिल्लाका धेरैजसो  गाउँमा कोभिडसँग मिल्दो लक्षण भएका रुघाखोकी, ज्वरो र शरीर दुख्ने समस्याका बिरामी बिरामी बडिरहेका भएपनि उनीहरूको जाँच हुन सकेको छैन । स्वास्थ्यकर्मी मै सङ्क्रमण देखिएपछि जिल्ला अस्पताल र गोकुलेश्वर अस्पतालमा इमर्जेन्सी बाहेकका स्वास्थ्य सेवा बन्द गरिएको छ । हनहनी ज्वरो आउने, रुघाखोकी, हातखुट्टा र टाउको दुख्ने लगायत लक्षणका बिरामीहरू गाउँगाउँमा थला परेका अपीहिमाल गाउँपालिका–६ का विसनसिंह बुढाथोकी बताउनु भयो । कोभिड महामारीको दोस्रो लहर डरलाग्दो रूपमा फैलिएका बेला भारतबाट यहाँका सयौँ स्थानीय रोजगारी छोडेर गाउँ फर्किएका छन् । भारतबाट कति जना गाउँ फर्किए भन्ने यकिन तथ्याङ्क कुनै स्थानीय तहसित पनि छैन् । भारतबाट फर्किएकाहरू सिधै गाउँघरमा पस्दा कोभिडको जोखिम झनै बढेको स्थानीय जगतसिंह ठगुन्नाले गुनासो गर्नु भयो । गाउँघरमा भारतबाट आएका व्यक्तिहरुले स्वास्थ्य सुरक्षाका मापडण्डहरु नअपनाउँदा समेत जोखिम बढदै गएको ठगुन्नाको भनाई छ ।  पढाइ र काम विशेषले स्वदेशका विभिन्न ठाउँमा गएका स्थानीय केही दिन पहिले नै गाउँ पुगिसकेको मार्मा गाउँपालिका– ३ का सन्तोष विष्टले बताउनु भयो । भारतमा रहेका स्थानीय तराईका नाका हुँदै गाउँ पुगेका छन् । उनीहरूको स्वास्थ्य परीक्षण भएको छैन । केहीलाई ज्वरो आएको चेकजाँच गर्न पनि स्वास्थ्य संस्था नजाने हुँदा गाउँमा कोभिडको त्रास बढेको विष्टको भनाई छ । गाउँगाउँमा रुघाखोकी र ज्वरोका बिरामी बढेपछि स्वास्थ्यकर्मी खटाएर उनीहरुको एन्टिजेन विधिबाट कोभिड परीक्षणको तयारी भइरहेको अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताउनु भयो । कोभिड महामारीको दोस्रो लहरसँगै जिल्लाका १३ जना स्वास्थ्यकर्मीमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय, दार्चुलाका कोभिड फोकल पर्सन विरेन्द्रराज भट्टका अनुसार सबैभन्दा बढी शैल्यशिखर नगरपालिकामा कार्यरत सात जना स्वास्थ्यकर्मी, मार्मा गाउँपालिका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चार जना तथा लेकम गाउँपालिकाका दुई जना स्वास्थ्यकर्मीमा कोभिड सङ्क्रमण पुष्टि भएपछि सो क्षेत्रमा स्वास्थ्य सेवा प्रवाह गर्न समस्या भएको छ । सङ्क्रमण  भएका स्वास्थ्यकर्मीको स्वास्थ्य अवस्था भने सामान्य रहेको भट्टले बताउनु भयो । कोभिडको क्षेत्रमा प्रत्यक्ष रुपमा काम गरिरहेका स्वास्थ्यकर्मी नै सङ्क्रमित भएपछि स्वास्थ्य सेवा नै प्रभावित भएको छ । सङ्क्रमण देखिएका स्वास्थ्य संस्थामा आसपासका स्वास्थ्यकर्मीले आलोपालो मिलाएर काम गरिरहेका छन् । जिल्लामा  दोस्रो लहरको सङ्क्रमणपछि अहिलेसम्म ६७ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । वैशाख १७ गते कोभिडको नयाँ भेरियन्टको सङ्क्रमण पुष्टि भएका मार्मा गाउँपालिका–४ का ३८ वर्षीय एक पुरुषलाई स्वास प्रस्वासमा समस्य भएपनि डडेल्धुरा अस्पताल रेफर गरिएको छ । स्वास्थ्य चौकीमा अक्सिजन र आइसियु नभएका कारण उनलाई थप उपचार लागि डडेल्धुरा रेफर गरिएको स्वास्थ्य चौकी प्रमुख बसन्त खत्रीले बताउनु भयो ।

इन्सेक कञ्चनपुर प्रतिनिधि कोमलनिरञ्जन भाटका अनुसार कोभिड सङ्क्रमितहरु दैनिक रुपमा बढदै गएपछि उनीहरुको सहज उपचारका लागि बेलौरी नगरपालिकाले ५० शैयाको कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याएको बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीले बताउनु भयो ।  बेलौरी नगरपालिका– ९ कुण्डामा कोभिड सङ्क्रमितहरुको उपचारका लागि कोभिड अस्थायी अस्पतालबाट सेवा दिइरहेको नगरप्रमुख चौधरीले बतानु भयो । नयाँ भेरियन्ट सहितको कोभिड भाइरसले नयाँ रुपलिई सङ्क्रमण  र मृत्युको दर बृद्धि हुन थालेपछि नगरपालिकाले ५० शैयाको कोभिड अस्थायी अस्पताल सञ्चालन गरी उपचार सेवा दिइरहेको जनाएको छ । नगरप्रमुख चौधरीले उपचारमा आवश्यक पर्ने सबै स्वास्थ्य समाग्री आपुर्तिका लागि समेत कार्य भइरहेको बताउदै स्वास्थ्यमा कुनै किसिमको समस्या भए नआत्तिएर उपचार गराउन सबै नगरबासीलाई अनुरोध समेत गर्नु भएको छ  । कोभिड सङ्क्रमितहरुको सङ्ख्या बढन थालेपछि अस्पतालबाट अक्सिजन सहित २४ औँ घण्टा स्वास्थ्यकर्मीहरुबाट उपचार सेवा भइरहेको बेलौरी नगरपालिकाका कोभिड– १९ फोकल पर्सन मानबहादुर चन्दले बताउनु भयो । कोभिड अस्थायी अस्पताल कुण्डामा हाल चार जना पुरुष र दुई  जना महिला गरी ६ जना सङ्क्रमितको उपचार भइरहेकोमा एक जनाको अवस्था भने गम्भिर रहेको फोकल पर्सन चन्दले बताउनु भयो

इन्सेक डोटी प्रतिनिधि बाशुदेव जोशीका अनुसार कोभिड भाइरसको दोस्रो लहर सुरु भएपछि सङ्क्रमितहरुको उपचार सहज गर्ने उद्देश्यले जिल्लाका आठ ओटै स्थानीय तह र जिल्ला अस्पताल, डोटीले आइसेलेसन वेड निर्माण गर्ने कार्य सुरु गरेका छन् । आठ ओटै स्थानीय तहमा पाँच ÷ पाँच ओटा आइसोलेसन वेडका दरले ४० ओटा, जिल्ला अस्पताल, डोटीमा १५ ओटा, प्रहरी अस्पताल, दिपायलमा तीन ओटा, सुजङ्ग अस्पताल, राजपुरमा १० ओटा र शैलेश्वरी अस्पतालमा पाँच ओटा आइसोलेसन वेड तयारी अवस्थामा राखिएको कोभिड  सम्पर्क व्यक्ति तेजबिक्रम शाहीले बताउनु भयो  । वैशाख ५ गतेदेखि वैशाख २० गतेसम्म जिल्लामा १ सय ८९ जना सक्रिय  सङ्क्रमीत  रहेका  छन  भने जिल्ला अस्पताल, डोटीमा १० जनाको उपचार भइरहेको र बाँकी सबैको अवस्था सामान्य रहेकोले होम आइसुलेसनमा रहेको कोभिड सम्पर्क व्यक्ति शाहीले बताउनु भयो ।

अन्य

भिडियो