INSEC Online

📅 २०८३ जेष्ठ २२

कोभिड–१९ सङ्क्रमणसम्बन्धी सुदूरपश्चिम प्रदेशको दैनिक अपडेट ( वैशाख १९ गते )

इन्सेक सुदूरपश्चिम प्रदेश अन्तर्गत कार्यरत इन्सेक जिल्ला प्रतिनिधिहरुले वैशाख १९ गते पठाउनु भएको सूचनाका आधारमा कोभिड–१९ को जोखिमलाई नियन्त्रण तथा रोकथामका लागि प्रदेश अन्तर्गत भइरहेका कार्यहरु र समस्याहरुको जिल्लागत अवस्था विश्लेषण यस प्रकार रहेको छ ।

इन्सेक कैलाली प्रतिनिधि मैनामोची चौधरीका अनुसार कैलाली जिल्ला एकहप्ताका लागि गरिएको निषेधाज्ञा लम्बिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को वैशाख १९ गते बसेको बैठकले वैशाख ३० गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो । यसअघि जिल्लामा वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गरिएका थियो । जिल्लामा सङ्क्रमण दर बढ्दै गएपछि वैशाख ३० गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय, कैलालीका सूचना अधिकारी शिबराज जोशीले बताउनु भयो । वैशाख २० गतेदेखि ३० गतेसम्म बिहान ९ बजेदेखि ११.३० बजेसम्म एउटा बैङ्कको एउटा शाखा मात्रै खुला गर्ने गरी निर्णय भएको सूचना अधिकारी जोशीले बताउनु भयो । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा वैशाख १९ गते १ सय २४ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ सय ७३ नमूना जाँच गर्दा १ सय २४ जनामा कोभिड भाइरस सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताउनु भयो । धनगढीका १ सय ४ जना, धनगढी बाहेक कैलालीका १४ जना र अन्य जिल्लाका ६ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको हो । हाल अस्पतालमा ६३ जना बिरामीको उपचार भइरहेको श्रेष्ठले बताउनु भयो । जसमध्ये तीन जनालाई भेन्टीलेटर र १७ जनालाई आइसीयुमा उपचार भइरहेको र  ३८ जनालाई अक्सिजन दिइएको  सूचना अधिकारी श्रेष्ठले बताउनु भयो । वैशाख १९ गते एक जनाको मृत्यु भएको छ । कैलाली जिल्ला लगायत सुदूरपश्चिम प्रदेशमा कोभिड सङ्क्रमित हुने दर दिनप्रतिदिन बढदै गएकोले सेती प्रादेशिक अस्पतालमा वेड तथा अक्सिजनको समेत समस्या देखा पर्न थालेको सूचना अधिकारी श्रेष्ठको भनाई छ ।

इन्सेक दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार जिल्ला अस्पताल, दार्चुलामा इमेर्जेन्सी बाहेकका सेवा वैशाख १९ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ । कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर देशैभरी तिब्र रुपमा फैलिरहेको र जिल्लाका बिभिन्न स्थानीय तहका नागरिकहरु कोभिड सङ्क्रमित भई अस्पताल भर्ना हुने बिरामीहरुको संख्या बढदै गएकोले तत्काललाई सेवा बन्द गरिएको जिल्ला अस्पताल, दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले बताउनु भयो । अस्पतालमा ज्वरो आएका बिरामीहरुको चेकजाँचका लागि अस्पतालको इमेर्जेन्सी वार्ड बाहिर ज्वरो क्लिनिक सञ्चालन गरिएको छ । यसैगरी जिल्ला मालपोत कार्यालय, दार्चुलाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको जनाएको छ । वैशाख १९ गते सूचना जारी गर्दै मालपोत कार्यालय, दार्चुलाले वैशाख २५ गतेसम्मका लागि सम्पूर्ण सेवा बन्द गरेको जनाएको छ । यसैगरी जिल्ला सदरमुकाम खलंगास्थित महाकाली नगरपालिकामा वैशाख १९ गते बिहान ६ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गरिएको छ । नगरपालिकाको विभिन्न वडा र समुदायमा एन्टिजेन परीक्षण गर्दा कोभिड सङ्क्रमण फैलिसकेको अवस्थालाई मध्यनजर गर्दै एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय, दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताउनु भयो । प्रशासनले यसअघि शैल्यशिखर नगरपालिका, मार्मा गाउँपालिका र व्यास गाउँपालिका वडा नम्बर ६ मा एक हप्ताका लागि निषेधाज्ञा जारी गरिसकेको छ । जिल्लामा कोभिड सङ्क्रमितको सङ्ख्या ६० पुगेको छ ।

इन्सेक कञ्चनपुर प्रतिनिधि कोमलनिरञ्जन भाटका अनुसार महाकाली अस्पतालमा अक्सिजनको अभाव भएपछि अक्सिजनको सहज आपुर्ति गर्न सहयोग पुगोस भनेर वेदकोट नगरपालिकाले महाकाली प्रादेशिक अस्पताललाई १० लाख रुपियाँ सहयोग रकम हस्तान्तरण गरेको छ । वैशाख १९ गते  वेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्दले अस्पतालमै पुगेर अस्पताल विकास समितिका अध्यक्ष कृष्णदत्त जोशी र अस्पतालका मेसु डाक्टर हरिकुमार श्रेष्ठलाई १० लाख रुपियाँको चेक हस्तान्तरण गरेका हुन । नगरपालिकाले केहिदिन अगाडी मात्रै अस्पताललाई अक्सिजन आपुर्तिका लागि सहयोग गर्ने प्रतिवद्धता अनुसार अस्पताललाई सहयोग गरिएको नगरप्रमुख चन्दले बताउनु भयो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशीले नगरपालिकाले प्रदान गरेको सहयोग रकमबाट अक्सिजन प्लान्ट स्थापना एंवम सिलिन्डर खरिद गर्न सहज हुने बताउनु भयो । साथै, अस्पतालले अन्य संघसंस्था र दातालाई सहयोगका लागि अपिल समेत गरेको छ ।

इन्सेक बैतडी प्रतिनिधि नरी बडुका अनुसार कोभिड सङ्क्रमण दिनप्रतिदिन बढदै गएपछि जिल्लामा वैशाख २० गतेदेखि जेठ २ गतेसम्मको लागु हुने गरी लकडाउन गरिएको छ । वैशाख १९ गते बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जेठ २ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताउनु भयो । जिल्लामा कोभिड सङ्क्रमणको दर तिब्र देखिन थालेपछि लकडाउन गरिएको पाण्डेले बताउनु भयो । लकडाउनलाई कडाईका साथ लागु गरिने समेत उहाँको भनाई छ । लगडाउन अवधिमा खाद्यान्न तरकारी तथा दुध डेरी बिहान ७ बजेदेखि १० बजेसम्म खुल्ला रहने छन् । औषधि पसलहरु खुल्ला रहने र अत्यावस्यक सेवा बाहेकका सबै यातायातका साधनहरु बन्द रहने छन् । अत्यवास्वक सेवाका लागि यातायात सञ्चालन गर्नु परेमा प्रमुख जिल्ला अधिकारीको पूर्व स्विकृति आवश्यक पर्ने छ । बिवाह गर्नै पर्ने भएमा बढीमा १५ जनासम्म जन्ती जाने शर्तमा दुई गाडीको मात्र पास जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराउने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनु भयो ।

इन्सेक अछाम प्रतिनिधि शिवराज ढुङ्गानाका अनुसार जिल्ला अस्पताल, अछाममा भेन्टीलेटरको अभावका कारण जिल्ला अस्पताल, अछाममा उपचारका क्रममा रहेका मेल्लेख गाउँपालिका–७ का ६० वर्षीय पुरुषको वैशाख १८ गते राती मृत्यु भएको छ । स्वासप्रश्वासमा समस्या आएपछि वयलपाटा अस्पतालबाट जिल्ला अस्पताल, मंगलसेन ल्याइएका ती पुरुषमा अक्सिन अभावमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी गंगा बुढामगरले बताउनु भयो । गाउँमा पसल सञ्चालन गरिरहेका ती पुरुषलाई वैशाख १६ गते अछामस्थित वयलपाटा अस्पतालमा एन्टिजेन परीक्षणका क्रममा कोभिड पोजेटिभ देखिएको थियो । दोश्रो चरणको कोभिडका कारण तीन हप्ताको अवधिमा तीन जनाको उपचारकै क्रममा ज्यान गएको छ । हालसम्म जिल्लामा कोभिडकै कारण मृत्यु हुनेको सङ्ख्या आठ जना पुगेको छ । सुदूरपश्चिम प्रदेश सरकारले चार महिनाअघि दुई भेन्टीलेटर जिल्ला अस्पतालमा पठाएपनि दक्ष जनशक्तिको अभावमा थन्किएका छन् । सानाठुला गरेर २६ ओटा मात्र अक्सिजन सिलिण्डर जिल्ला अस्पतालमा रहेका छन् । सरकारले जिल्ला अस्पताल, अछामलाई सुदूरपश्चिम प्रदेशमा कोभिड सङ्क्रमण उपचारमा लेभल–१ मा राखेको भएपनि जनशक्ति र स्वास्थ्य समाग्रीको अभावमा उपचारमा समस्या भएको छ  । दोश्रो लहरको कोभिड सङ्क्रमणका क्रममा जिल्लामा १ सय १४ जना कोभिड सङ्क्रमण पुष्टि भएको, तीन जनाको मृत्यु भइसकेको र १ सय ११ जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य कार्यालय, अछामका सूचना अधिकारी देव जोशीले बताउनु भयो ।

इन्सेक बाजुरा प्रतिनिधि पदमबहादुर सिंहका अनुसार हिमाली गाउँपालिकामा कोभिड सङ्क्रमितहरु बढदै गएको भन्दै गाउँपालिकाले वैशाख १८ गते रातीदेखि गाउँ नै सील गरेको छ । जिल्लामा कोभिड–१९ सङ्क्रमणसँग लक्षण मिल्ने बिरामीहरु गाउँगाउँमा अत्याधिक बढी रहेका भएपनि एन्टिजेन किट अभावका कारण उनीहरुको स्वास्थ्य परीक्षण हुन सकेको छैन् । गाउँपालिका क्षेत्रमा लक्षण भएका बिरामीहरु धेरै भएपनि एन्टिजेन कीटको अभावमा परीक्षण गर्न नसकिएको र गाउँपालिकाका कर्मचारी तथा स्वास्थ्यकर्मी नै कोभिड पोजेटिभ देखिएपछि गाउँपालिकाका सबै सेवा बन्द गरिएको हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर मल्लले बताउनु भयो ।  एन्टिजेन खरिदको लागि बाहिर कतै सम्पर्क गर्न नसकिएको र जिल्ला स्वास्थ्य कार्यालयलाई खबर गरेको  भएपनि हालसम्म कीट उपलब्ध नगराएको अध्यक्ष मल्लको भनाई छ । यसैगरी बुढीगंगा नगरपालिकामा २५ ओटा कीट पठाएको भएपनि बिरामी गाउँमा धेरै भएकोले स्वास्थ्य चेकजाँच गर्न समस्या भएको  बुढीगंगा नगरपालिकाका प्रमुख दिपक बिक्रम शाहले बताउनु भयो । जिल्ला स्वास्थ्य कार्यालय, बाजुराका निमित्त कार्यालय प्रमुख मोहन चन्दले जिल्लाका सबै पालिकाहरुलाई पहिलो पटक २५ ओटा कीटका दरले पठाइएको र  आवस्यकताको आधारममा माग भएअनुसार पठाइने बताउनु भयो ।

अन्य

भिडियो