मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार मोरङ प्रशासनले वैशाख १८ गते मध्यराति देखि जारी गरेको निषेधाज्ञाको कार्यान्वयन कडाइका साथ गरिएको छ । विराटनगर महानगरपालिका, बुढीगङ्गा गाउँपालिका,जहदा गाउँपालिका र कटहरी गाउँपालिकाका केही वडाहरूमा जारी गरिएको निषेधाज्ञाको पूर्ण कार्यान्वयन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रदेश १ मा वैशाख १९ गते ४ सय १७ जना कोभिड–१९ का सङ्क्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङमा २ सय ४२, सुनसरीमा ६९, झापामा ४४, तेर्हथुममा पाँच, सङ्खुवासभामा चार, उदयपुरमा ती, इलाममा दुई, खोटाङ र धनकुटामा एक एक र प्रदेश १ बाहिरका ४६ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा ९८ जना महिला र १ सय २ जना पुरूष गरी २ सय जनामा वैशाख १९ गते कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।
सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार हरिनगर गाउँपालिकाको रामनगर भुटाहामा रहेको बीजी हस्पिटलमा आइसोलेशन केन्द्रको रूपमा सञ्चालनान ल्याइएको छ । जिल्लामा कोभिड–१९ का सङ्क्रमित बढ्दै गएपछि बीजी हस्पिटलमा आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको गाउँपालिकाका उपाध्यक्ष रिमझिमकुमारी भगतले जानकारी दिनुभयो । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि वैशाख १८ गतेदेखि जारी गरिएको निषेधाज्ञाको कार्यान्वयनमा थप कडाई गरिएको छ । निषेधाज्ञाको अवज्ञा सर्वसाधारणबाट बढेको पाइएपछि वैशाख १९ गते विहानै देखि धरानमा निषेधाज्ञालाई कडाइका साथ लागू गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । निजी सवारी साधनहरू पनि अनावश्यक रूपमा चलाएको पाइएकोले जोरबिजोर प्रणालीलाई प्रभावकारी बनाउन थप कडाइ गरिएको प्रशासनले जनाएको छ । सदरमुकाम इनरूवा नगरपालिका–३ को महेन्द्रचोक क्षेत्र सील गरिएको छ । वैशाख १८ गतेदेखि कोभिड–१९ को जोखिम रोकथामका लागि सील गरिएको प्रशासनले जनाएको छ ।
सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले जिल्लाका सबै शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ को दोस्रो लहरले सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएपछि शिक्षण संस्था बन्द गर्ने निर्णय वैशाख १८ गते गरिएको छ । प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलको अध्यक्षतामा बसेको बैठकले जिल्ला प्रवेश गर्ने नाकाहरू टुटेदेउराली र केवाखोलामा स्वास्थ्य चेकजाँच गर्ने निर्णय गरेको छ । कोभिड–१९ सङ्क्रमणको जोखिम बढीरहेको अवस्थालाई मध्यनजर गरी जिल्ला अस्पतालमा कोभिड–१९ अस्पताल र आइसोलेसन तयारीमा अवस्थामा राखिएको स्वास्थ्य कार्यालय प्रमुख रमेश बाहृकोटीले बताउनु भयो । ९५ बेड क्षमताको आइसोलेसन तयारी अवस्थामा राखिएको छ । नाकामा चेकजाँच गर्दा सङ्क्रमित भेटिए आइसोलेनमा राखिने प्रमुख बाहृकोटीले बताउनु भएको छ ।