प्रदेश २ मा कोभिड–१९ सङ्क्रमण बढेसँगै स्वास्थ्यकर्मीको अभावमा पिसिआर परीक्षण नहुँदा सेवाग्रही मर्कामा परेको समाचार जिल्ला प्रतिनिधिहरुबाट प्राप्त भएको छ ।
बारा प्रतिनिधि भोलानाथ पौडेलका अनुसार जिल्ला अस्पताल कलैयामा एक वर्ष अगाडि जडान भएको पिसिआर मेशिन ०७७ चैत ३० गते प्रदेश २ का मन्त्रिले उद्घाटन गरे पनि २०७८ वैशाख १६ गते कोभिड–१९ शङ्का लागेर परीक्षण गर्न जाँदा कलैया अस्पतालमा पिसिआर परीक्षण सुरु नभएकाले निरास भएर परीक्षण नगरि घर फर्किएको निजगढ नपा–१ का १९ वर्षीय पुरुष, वडा ७ का २७ वर्षीय पुरुष र वडा ९ की ३५ वर्षीय महिलाका घर परिवारका सदस्यले गुनासो गर्नु भएको छ ।
कोभिडको आशङ्का गरी परीक्षण गर्न नारायणी अस्पतालमा अनुरोध गर्दा नारायणी अस्पतालले पर्सा जिल्लाका बीरामी मात्र परीक्षण गर्ने र बारा जिल्ला लगायतका जिल्लाका लागि आफ्नै जिल्लामा सम्पर्क गर्नु भनि अटेर गरेपनि अन्तिम पटकका लागि भनेर परीक्षण गर्दा वैशाख १८ गते उहाँहरु लगायत निजगढ नगरपालकामा आठ जना कोभिड सङ्क्रमित भएको निजगढ नगरपालिकका स्वास्थ्य संयोजक रमेश लामाले बताउनु भयो ।
उहाँले कलैया अस्पतालमा पिसिआर परीक्षण नभकएकाले सेवाग्राहीलाई समस्या भएको र निजगढमा नारायणी अस्पताल र काठमाडौँबाट परीक्षण गरेर आउनु भएका १५ जना कोभिड सङ्क्रमण भएको डाटा रहेको बताउनु भयो ।
पिसिआर मेशिन परीक्षण टोलीका एक जना चिकित्सक र एक जना मेडिकल अधिकृतलाई उच्च ज्वरो, रुघा, खोकी र कोभिडको सङ्क्रमण भएकोले समस्या भएको कलैया अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट गौरव महतोले बताउनु भयो ।
दुई जनाले मात्र परीक्षण गर्न नमिलेकाले पिसिआर परीक्षण नगरेको तर परीक्षण सुरु गर्ने तयारी गरिरहेको महतोले बताउनु भयो ।
कोभिड भाइरसको सङ्क्रमण बढेकाले जिल्लाका १६ ओटै स्थानीय तहले सूचना प्रकाशन गरि सबै विद्यालय बन्द गरेको छ ।
महोत्तरी प्रतिनिधि अजयकुमार साहका अनुसार बर्दिवास अस्पतालमा करोडौंको लगानीमा खरिद गरिएको दुई ओटा पिसिआर मेशिन प्रयोग विहीन बनेर थन्किएको छ । अस्पतालको पिसिआर मेशिन सूचारु नहुँदा कोभिड परीक्षण गराउनेहरु भौतारिरहनु परेको छ ।
कोभिड भाइरस सङ्क्रमण परीक्षण गर्न खरिद गरिएको दुई ओटा पिसिआर मेशिन जनशक्तिको अभावमा गत फागुन महिनादेखि ठप्प रहेको छ ।
बर्दिबास नगरपालिकाले गएको भदौ महिनामा सवा करोडको लगानीमा दुई ओटा पिसिआर मेसिन खरिद गरेर कोभिड भाइरस सङ्क्रमण परीक्षण सुरु गरेको थियो ।
अहिले दोस्रो चरणको कोभिड सङ्क्रमितको सङ्ख्या बढिरहँदा पनि बन्द रहेको पिसिआर मेशिन सञ्चालनमा ल्याउन सरोकारबाला निकायले कुनै चासो देखाएको छैन । जसले गर्दा कोभिड भाइरस सङ्क्रमण परीक्षण गराउनेहरु भौतारिरहेका छन् ।
पिसिआर मेशिन जडान र जनशक्ति व्यवस्थापनमा स्थानीय सरकारले पनि कुनै पहल नथालेको अस्पतालका निमित्त प्रमुख सुनिलकुमार दाहालले बताउनु भयो ।
बर्दिवास नगरपालिकाभित्र पहिलो चरणमा सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिहरूको र पछि ‘एक घर एक व्यक्ति’ का दरले परीक्षण बढाउँदै लगिने मेयर कार्कीको भनाई यतिखेर भाषणमै सिमिति हुन पुगेको बर्दिवास नपा–९ बस्ने रामचन्द्र महतोको भनाई छ ।
यस सन्दर्भमा बर्दिवास नगरपालिकाका मेयर बिदुरकुमार कार्कीले अस्पताललाई रोटरी क्लब बर्दिवासले एक थान पिसिआर मेशिन प्रदान गरेको हो र नगरपालिकाले एक थान गरि दुई ओटा पिसिआर मेशिन जडान गरिएको बताउनु भयो ।
कार्कीका अनुसार पिसिआर मेसिनमा केही प्रावधिक गडबडी भएको कारणले सुचारु हुनमा ढिलाई भएको हो । उहाँले एक हप्ता भित्र पिसिआर मेशिन सुचारु गरि अस्पतालका सबै समस्याहरु सामाधान गरिने बताउनु भयो ।
पिसिआर मेशिन रोटरी क्लब ३२९२ जिल्ला शाखा (नेपाल शाखा) का पूर्वसचिव राजेन्द्र दाहाल र रोटरी क्लब बर्दिवासका अध्यक्ष हीरालाल गौतम सहितका पदाधिकारीले बर्दिवास अस्पताल विकास समितिका अध्यक्ष समेत रहेका नगरप्रमुख विदुर कुमार कार्कीलाई हस्तान्तरण गरेका थिए ।
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा अन्तिम चरणमा पुगेको आइसोलेशन केन्द्र वैशाख १९ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा वैशाख १८ गते बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले सो निर्णय गरेको हो ।
वैठकले राजविराजस्थित साइकृष्ण मेडिकल कलेज तथा अस्पतालमा साविकमा सञ्चालनमा रहेको आइसोलशन केन्द्र तीन दिन भित्र सञ्चालनमा ल्याउने र सुरक्षा व्यवस्था नेपाली सेनाले गर्ने निर्णय भएको छ । हनुमाननगर कंकालिनी नपा–१ भारदहस्थित जिल्ला अस्पतालमा साविकमा सञ्चालित आइसोलेशन केन्द्र पाँच दिन भित्र पुनः सञ्चालनमा ल्याउन नगरपालिकालाई आग्रह गरिएको छ ।
यसैगरी वैशाख १९ गतेदेखि अत्यावश्यक सेवा तथा निर्माण कार्यमा प्रयोग हुने बाहेक मोटरसाइकलसहित सबै सवारी साधन जोर बिजोर प्रणालीबाट सञ्चालन गर्ने, बढी भिंडभाड हुने कार्यालयले सेवा प्रवाह गर्दा भिंडभाड नहुने व्यवस्था मिलाउने निर्णय भएको छ ।
बजारमा खुल्ला रुपमा ठेला तथा गाडीमा बिक्री गर्ने खाधान्न, कपडा, तरकारी विक्री वितरणमा रोक लगाउने निर्णय गरेको वैठकले राजविराजबाट कुनौली र छिन्नमस्ता जाने अति आवश्यक सवारी साधन बाहेकमा समेत रोक लगाउने निर्णय गरेको छ ।
वैठकमा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव र राजविराज नगरपालिका प्रमुख शम्भुप्रसाद यादवको उपस्थिति रहेको थियो ।