INSEC Online

📅 २०८३ जेष्ठ २२

अक्सिजन सहितको कोभिड उपचार कक्ष सञ्चालनमा

छत्रेश्वरी गाउँपालिकाले १० बेडको अक्सिजन सहितको आइसोलेशन कक्ष सञ्चालनमा ल्याएको छ । गाउँपालिका भित्रका अति जटिल कोभिड सङ्क्रमितलाई मेडिकल अधिकृत सहितको स्वास्थ्यकर्मीको टोलीले उपचार गर्ने निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रेमप्रकाश दाहालले बताउनुभयो ।
आइसोलेशन तथा कोभिड उपचार कक्षमा अक्सिजनसहित बेड, स्वास्थ्य सामग्री लगायतको व्यवस्था मिलाइएको डाक्टर प्रोशेष सिंहले बताउनुभयो । यसैगरी गाउँपालिकाले तीन ओटा एम्बुलेन्सको व्यवस्था गरेको र जुनसुकै समयमा पनि सेवा दिने पनि डाक्टर सिंहले जानकारी दिएको सल्यान प्रतिनिधि मिना बुढाथोकीले उल्लेख गर्नुभएको छ ।

जुम्ला प्रतिनिधि मानदत्त रावलका अनुसार कोभिड–१९ सङ्क्रमण बढेसँगै खाद्यान्नको अभाव देखिएको छ । तातोपानी गाउँपालिका–७ का अनिल रावतले अनुदानको चामल अभाव भएको र बजारमा किन्न निकै महङ्गो भएको बताउनु भयो । जुम्लाको जुम्लाकोट र धापा डिपोको लागि २ हजार क्वीण्टल चामलको कोटा विनियोजित गरिएको छ । खाद्य व्यापार कम्पनी जुम्लाका तिलक सुनारका अनुसार हाल गोदाममा ८ सय ८० कवीण्टल चामल मात्रै मौज्दात छ । ‘जुम्लाको वार्षिक कोटा ५ हजार ६ सय ५० क्वीण्टल हो । यसमध्ये ९ सय क्वीण्टल डोल्पा सर्मी र काईगाउँ डिपो पठाउनु पर्ने भएकाले ४ हजार २ सय ५० क्वीण्टल मात्रैले वर्षभरी पुग्दैन ।’–सुनारले भन्नु भयो । कोभिड महामारीमा स्थानीय व्यापारीहरूले तेल, चिनी, चामल जस्ता दैनिक उपभोग्य बस्तुमा मुल्य बृद्धि गरेको नागरिक समाज जुम्ला अध्यक्ष राजबहादुर महतले बताउनुभयो । ‘चिनी प्रतिबोरा ४ हजार रुपिँया मूल्य भए पनि वैशाख १३ गतेदेखि १७ गतेसम्म ६ सय रुपियाँले बृद्धि भएको देखिन्छ ।’–महतले भन्नु भयो । सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईँले बजारमा अस्वभाविक मूल्य बृद्धिको गुनासो आएको र विपद् व्यवस्थापन समितिको बैठकबाट समिति बनाई तत्काल बजार अनुगमन गरिने बताउनु भयो ।

अन्य

भिडियो