१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा सप्तरी जिल्ला अदालतले सिरहा नपा–६ का ३० वर्षीय दिपेन्द्र भनिने दिपिन्द्र महरालाई वैशाख १७ गते १० वर्ष कैद सजाय गरेको छ ।
न्यायाधीश ऋषिराम आचार्यको इजलासले महरालाई १० वर्ष कैद सजायका साथै २५ हजार रुपियाँ क्षतिपूर्ति भराउन फैसला गरेको सो फाँटका कर्मचारी ललन कर्णले बताउनु भयो ।
पीडित बालिकालाई ललाइफकाई बिहेको आश्वासन दिई राजविराज नपा–३ स्थित दीपसाजन लजमा राखी बलात्कार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालय सिरहामा ०७६ मङ्सिर ३ गते दिएको उजुरी दर्ता गर्दै पीडितको स्वास्थ्य परीक्षण सोही दिन सिरहा अस्पतालमा गरिएको थियो ।
घटनास्थल सप्तरी भएको भन्दै सिरहा प्रहरीले कारवाहीका लागि ०७६ मङ्सिर १६ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रसहित फाइल पठाएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले ०७६ मङ्सिर १८ गते बलात्कारको उजुरी दर्ता गर्यो ।
सिरहा प्रहरीले नै आरोपितलाई ०७६ मङ्सिर २२ गते गिरफ्तार गरी मङ्सिर २३ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा कारवाहीका लागि बुझाएको थियो ।
जिल्ला अदालतले ०७६ पुस १६ गते महरालाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको थियो ।