INSEC Online

📅 २०८३ जेष्ठ २२

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी प्रदेश १ को दैनिक अपडेट (वैशाख १७ गते)

मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार मोरङ प्रशासनले विराटनगरसहित चार ओटा स्थानीय तहमा एक साताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको छ । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले वैशाख १८ गते मध्यराति देखि एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाका अनुसार विराटनगर महानगरपालिका, बुढीगङ्गा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाको वडा–१,२,३ र ४ मा एक साताका लागि निषेधाज्ञा गर्ने निर्णय वैशाख १७ गते गरिएको छ । निषेधाज्ञाका समयमा अत्यावश्यक वस्तु बाहेकका सेवाहरू बन्द गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ । निषेधाज्ञाका समयमा सवारी साधनलाई पूर्ण रूपमा आवतजावतमा रोक लगाइने प्रशासनले जनाएको छ । दैनिक उपभोग्य वस्तुका पसल बिहान १० बजे सम्मका लागि सञ्चालनमा रोक नलगाइने प्रशासनले जनाएको छ । वैशाख १७ गतेको तथ्याङ्क अनुसार विराटनगरमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या ९ सय हाराहारीमा छ । सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा वैशाख १७ गते २ सय ९१ जनामा कोभिड–१९ को सङक्रमण पुष्टि भएको छ । जसमध्ये विराटनगर महानगरपालिकामा १ सय २० जना सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ सरकारले वैशाख १७ गतेदेखि कोभिड–१९ सङ्क्रमितको उपचारका लागि सुविधा सम्पन्न ९६ वेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । २१ ओटा भेन्टिलेटरसहित ८३ ओटा अक्सिजन वेड र १३ वटा साधारण वेड वेड रहेका छन् । प्रदेश सरकार र नागरिक केयर सेन्टरको संयुक्त लगानीमा निर्माण गरिएको कोभिड अस्पताल वैशाख १७ गतेदेखि सञ्चालनमा आएको छ । अस्पतालमा २९ जना सङ्क्रमित भर्ना भएको कोभिड अस्पताल संयोजक वैजनाथ साहले बताउनु भयो । प्रदेश १ सरकारले पाँच स्थानमा होल्डिङ सेन्टर बनाउने निर्णय गरेको छ । विराटनगरको रानी, झापाको काकडभिट्टा, गौरीगञ्ज, इलामको पशुपतिनगर, सुनसरीको भाण्टाबारी, सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङमा होल्डिङ सेन्टर बनाउने निर्णय भएको मुख्य मन्त्री शेरधन राईले बताउनु भयो ।

सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार जिल्ला प्रशासन कार्यालयले वैशाख १७ गते मध्य रातिदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । दोश्रो चरणको कोभिड–१९ भाइरसको सङ्क्रमण फैलिएपछि रोकथाम तथा न्यूनीकरणका लागि प्रशासनले वैशाख १७ गते राति १२ बजेदेखि वैशाख २४ गते राति १२ बजे सम्मका लागि पहिलो चरणमा निषेधाज्ञा जारी गरेको छ । कोरोनोको जोखिम दिनप्रतिदिन बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयमा बसेको (डीसीसीएमसी) को बैठकले निषेधाज्ञा एकसाताको निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको बैठकले वैशाख १७ गतेदेखि निषेधाज्ञा जारी गर्ने र अत्यावश्यक काम बाहेक आवतजावत नगर्न सबैलाई अनुरोध गरेको छ । निषेधाज्ञा उल्लङ्घंन गर्ने जोसुकैलाई सङ्क्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी कारबाही गरिने प्रमुख जिल्ला अधिकारी ढकालद्धारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ । सुनसरीको धरान र इटहरी उपमहानगरपालिका, इनरुवा, दुहवी रामधुनी बराहक्षेत्र नगरपालिका तथा कोसी , भोक्राहा नर्सिङ, हरिनगर, देवानगञ्ज , बर्जु र गढी गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ ।

उदयपुर प्रतिनिधि भरत खड्काका अनुसार जिल्ला प्रशासन कार्यालयका एक अधिकृतलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि  कार्यालयले नियमित कामलाई आलोपालो गरेर सेवा प्रवाह गर्ने भएको छ । नयाँ नागरिकता, प्रतिलिलि नागरिकता र राष्ट्रिय परिचयपत्रको सेवालाई वैशाख १९ गतेदेखि लागू हुने गरी सबै पालिकालाई फरकफरक ढङ्गले सेवा प्रवाह गर्ने गरी व्यवस्था मिलाएको प्रशासनले जनाएको छ ।

अन्य

भिडियो