INSEC Online

📅 २०८३ जेष्ठ २२

कोभिड–१९ सङ्क्रमित बढेसँगै अस्पतालमा अक्सिजनको अभाव

कञ्चनपुर प्रतिनिधि कोमलनिरञ्जन भाटका अनुसार महाकाली अस्पतालमा कोभिड सङ्क्रमणका बिरामीहरु बढेपछि अक्सिजनको अभाव हुन थालेको अस्पतालले जनाएको छ । महाकाली अस्पतालका कोभिड–१९ सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाले अस्पतालमा अक्सिजनको अभाव हुन थालेको बताउनु भयो ।  अक्सिजन प्लान्टले अस्पताललाई आवश्यता अनुसार अक्सिजन दिन नसकेको बताउनु भयो । “आवश्यकता अनुसार आपुर्ति हुन नसकेपछि हामीले बाहिरबाट पनि अक्सिजन मगाएका छौँ”, डाक्टर रोकायाले भन्नु भयो, “सङ्क्रमण बढदै जाँदा व्यवस्थापनको निकै समस्या भएको छ ।” ५० शैयाको कोभिड अस्पताल, कञ्चनपुरमा कोभिड बिरामी भरिभराउ रहेकोले समस्या उत्पन्न भएको डाक्टर रोकायाले बताउनु भयो ।

बझाङ प्रतिनिधि रमेश केसीका अनुसार जिल्ला अस्पताल, बझाङले आकस्मीक बाहेकका सबै सेवा बन्द गरेको छ । अस्पतालबाट प्रवाह गरिने सबै प्रकारका स्वास्थ्य सेवालाई सञ्चालन गर्दा कोभिड सङ्क्रमणकोे जोखिम बढन सक्ने अवस्थालाई मध्यनजर गर्दै आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको जिल्ला अस्पतालका डाक्टर मिलन खडकाले बताउनु भयो । अस्पतालमा उपचारका लागि आउने बिरामी र स्वास्थ्यकर्मी दुबै जोखिममा पर्ने भएकाले आकस्मिक उपचार बाहेकका अन्य सबै सेवा बन्द गरिएको डाक्टर खडककाको  भनाई छ । दुई सातायता लक्षणसहितका ३ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ८३ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला प्रवेशस्थल वित्थडमा हेल्थ डेस्क स्थापना हुन नसक्दा परीक्षणबिनै गाउँ प्रवेश गरिरहेका छन । जिल्ला बाहिरबाट जिल्ला भित्रिने मानिसहरु सोझै घर गएर परिवार र समुदायको सम्पर्कमा पुग्ने भएकाले कोभिड सङ्क्रमणको उच्च जोखिम बढेको छ । जिल्लामा कोरोनाको सङ्क्रमण बढदै गएपछि स्थानीय तहहरूले जिल्लाको प्रवेशद्वार वित्थडमा हेल्थ डेस्क राख्न खोजे पनि स्वास्थ्यकर्मीलाई जोखिम भत्ता नदिएकाले स्वास्थ्यकर्मीहरु हेल्थडेस्कमा खटिन नमानेको जिल्ला अस्पतालका निमित्त प्रमुख डाक्टर मिलन खडकाले बताउनु भयो ।

अन्य

भिडियो