जिल्ला कारागार खाँदबारीमा दैनिक १५ हजार लिटर पानी आवश्यक भएपनि प्रर्याप्त मात्रा पानी नहुँदा समस्या भएको कैदी तथा बन्दीहरूले गुनासो गरेका छन् ।
माग भन्दा आधा कम दैनिक ६ हजार लिटर पानी मात्र कारागारमा आउने गरेका कारण समस्या भएको कारागारका चौकीदार पर्शुराम राईले बताउनु भयो ।
पानी अपुग हुँदा नुहाउन, कपडा धुन र शौचका लागि समस्या भएको कैदी देव गुरुङले बताउनु भयो । उहाँले भन्नुभयो– आधा भन्दा कम पानी आउँछ, जसका कारण नुहाउन, कपडा धुन र शौचालयका लागि पानी अभाव हुने गरेको छ । १ सय ३३ जना कैदी तथा बन्दी रहेको कारागारमा दैनिक दुई घण्टा मात्र पानी आउने गरेका कारण पानीको हाहाकार भएको चौकीदार राईले बताउनु भयो । कारागारमा दैनिक बिहान र बेलुकी दुई घण्टा मात्र पानी आउने गरेको छ ।
कारागारमा दैनिक दुई घण्टा मात्रै पानी आउने भएका कारण कैदीबन्दीलाई सास्ती भएको कारागारका जेलर विनोद अधिकारीले बताउनु भयो ।
कारागारमा दैनिक १३ देखि १५ हजार लिटर सम्म पानी चाहिने भएपनि ६ हजार लिटर मात्र आउने गरेका कारण कैदी तथा बन्दीलाई समस्या हुने गरेको जेलर अधिकारीको भनाइ छ ।
कारागारमा पानी अपुग भएको विषयमा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल र खाँदबारी नगरपालिकालाई जानकारी गराएपनि पानीको यथोचित व्यवस्थापन हुन नसकेको जेलर अधिकारीले बताउनु भयो ।
खाँदबारी नगरपालिकाका नगर प्रमुख मुरारी खतिवडाले चाँडै पानीको व्यस्थापनका लागि चाहिने ट्याङ्की उपलब्ध गराउने बताउनु भयो ।
धाराबाट आउने पानी अभाव भएपछि ०७७ चैतयता १५ ट्याङ्कर पानी सभाखोला बाट ल्याइएको जेलर अधिकारीले बताउनु भयो ।
कारागारको क्षमता २५ जनाको भएपनि हाल कारागारमा क्षमता भन्दा पाँच गुणा कैदी र बन्दी रहेका छन् । कारागारमा १ सय २३ जना पुरूष र १० जना महिला कैदीबन्दी रहेका छन् ।