कोभिड–१९ सङ्क्रमित बिरामीलाई लक्षित गरी जिल्ला अस्पतालमा स्थापना गरिएको भेण्टिलेटरसहितको आइसीयू कक्ष प्रयोगविहीन भएको छ ।
जटिल प्रकृतिका बिरामीलाई भेण्टिलेटरमा राखेर उपचार गर्ने गरी तयारी अवस्थामा राखिएको आइसीयू कक्ष दक्ष जनशक्ति अभावमा एक वर्षयता प्रयोगमा आउन सकेको छैन ।
पहिलो चरणको कोरोना महामारीको बेला नेपाल सरकारले कोरोना विषेश अस्पताल सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले ०७७ साल वैशाख महिनामा निकासा दिएको १ करोड रुपियाँ र प्रदेश सरकारले दिएको १० लाख रुपियाँको लागतमा ०७७ भदौमा अस्पतालमा दुई ओटा भेण्टिलेरसहित पाँच बेडको आइसीयू कक्ष निर्माण गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. जीवनारायण मण्डलले बताउनु भयो ।
सङ्घीय सरकार र प्रदेश सरकारले भेण्टिलेटर र आइसीयू कक्षका लागि १ करोड रुपियाँ भन्दा बढी खर्च गरेर कोरोना अस्पताल बनाएपनि दक्ष जनशक्ति अभावमा अस्पातल प्रयोगविहीन भएको बन्न पुगेको छ ।
‘सरकारले उपकरणहरू उपलब्ध गरायो तर त्यसलाई सञ्चालनमा ल्याउने दक्ष जनशक्ति नपठाउदा समस्या भएको निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. जीवनारायण मण्डलले बताउनु भयो ।
तत्काल अस्पताल सञ्चालनका लागि अस्पताल व्यवस्थापन समिति र जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)ले सम्बन्धित निकायसँग प्राविधिक जनशक्ति माग गरेपनि सुनवाइ नभएको निमित्त मेडिकल सुपरिटेन्डेण्ट मण्डलले गुनासो गर्नुभयो ।
भेण्टिलेटर सञ्चालन गर्न एक जना एनेस्थेसियोलोजिष्ट (बिरामीलाई अचेत बनाउने), एक जना फिजिसियन, चार जना मेडिकल अफिसर र आठ जना आइसीयू सञ्चालनको लागि तालिम प्राप्त स्टाप नर्सको आवश्यकता परेपनि सङ्घीय सरकार र प्रदेश सरकारले जनशक्ति नपठाउदा कोभिड–१९ को दोस्रो चरणको महामारीमा अस्पताल प्रयोगविहीन भएको डा.मण्डलले बताउनु भयो ।
‘सङक्रमणको बढ्दो ग्राफलाई हेर्दा तत्काल तयारी अवस्थामा बस्नु पर्ने देखिन्छ, तर ‘जनशक्ति नभएसम्म केही गर्न सकिन्न।” डा.मण्डलले भन्नुभयो ।
प्रमुख जिल्ला अधिकारी तथा डिसीसीएमसीका संयोजक तुलसीराम सेढाइले बेल्टारमा रहेको कोभिड अस्पताल र जिल्ला अस्पतालको आइसीयू कक्ष सञ्चालनका लागि केहि दिन अघि बसेको बैठकले प्रदेश मन्त्रालयसँग प्राविधिक र प्रशासनिक खर्च माग गरिएको बताउनु भयो ।
सरकारले स्वीकृत दरबन्दी अनुसार चिकित्सकहरूको पदपूर्ति गर्न नसक्दा उदयपुर जिल्ला अस्पतालमा भेण्टिलेटरसहितको उपचार सेवा प्रभावित हुदै आएको छ ।
कोरोना महामारीको दोस्रो लहर भयावह हुँदै गएको अवस्थामा दैनिक २ सयको सङ्ख्यामा बिरामीहरू उपचारका लागि आउने गरेका छन् । तर, जिल्ला अस्पतालमा चिकित्सक मात्रै हैन कोरोना परीक्षण गर्ने एन्टिजेन किट्स र पीसीआर परीक्षण गर्ने ल्यावसमेत नभएको अस्पताल प्रशासनले जनाएको छ ।