INSEC Online

📅 २०८३ जेष्ठ २२

भेन्टीलेटर र आइसियु कक्ष सञ्चालनमा नआउँदा कोभिड सङ्क्रमितहरु समस्यामा

इन्सेक प्रतिनिधिहरुले जानकारी गराए अनुसार कोभिड सङ्क्रमणको दोस्रो लहर सुरु भएसँगै सुदूरपश्चिम प्रदेशमा पनि सङ्क्रमित हुनेहरुको सङ्ख्या दैनिक रुपमा बृद्धि भइरहेको भएपनि सङ्क्रमितहरुको उपचारमा बिभिन्न प्रकारका समस्याहरु देखा परेका छन् । जिल्ला अस्पतालहरुमा भेन्टीलेटर र आइसियु सेवा प्रवाह गर्ने दक्ष जनशक्तिको अभाव देखिएको छ । सङ्क्रमण दर बढदै गएपछि यस प्रदेशका विद्यालयहरु दिन प्रतिदिन बन्द हुँदै गएका छन् । जसका कारण बालबालिकाहरुमा मनोबैज्ञानिक त्रास बढेको छ । सङ्क्रमण हुने दर उच्च हुदै गएपछि यस प्रदेशका डोटी, कैलाली, कञ्चनपुर, बैतडी लगायतका जिल्लाहरुमा  स्वास्थ्य मापदण्डहरु पूर्ण रुपमा पालना गराउन प्रहरी प्रशासनले सचेतनाका कार्यक्रमहरु पनि गरिरहेका छन् ।

इन्सेक बैतडी प्रतिनिधि नरी बडुका अनुसार जिल्ला अस्पताल बैतडीमा भेन्टीलेटर सहितको आइसियु कक्ष स्थापना भएपनि सञ्चानलमा आउन नसक्दा कोभिड सङ्क्रमितहरु समस्यामा परेका छन् । गम्भीर प्रकारका बिरामीको उपचारका लागि भनेर प्रदेश सरकारले भेन्टीलेटर खरिद गरेर पठाएको भएपनि अहिलेसम्म सञ्चानलमा आउन नसक्दा समस्या भएको जिल्ला अस्पताल, बैतडीका प्रमुख डाक्टर बसन्तराज जोशीले बताउनु भयो । भेन्टीलेटर सहितको आइसियु सेवा सञ्चालनका लागि दक्ष जनसक्तिको अभाव रहेका कारण कोभिड सङ्क्रमितसँगै अन्य गम्भिर रोगका बिरामीहरुलाई जिल्ला बाहिर रेफर गर्नु पर्ने बाध्यता रहेको डाक्टर जोशीले बताउनु भयो । जिल्ला अस्पताल, बैतडीमा आइसियु सेवा सञ्चालन नहुँदा वैशाख ११ गते एक जना कोभिड सङ्क्रमितमा  गम्भिर समस्या देखा परेपछि डडेल्धुरा रेफर गरिएकोमा उनको वैशाख १४ गते मृत्यु भएको र अर्का एक जना सङ्क्रमितलाई पनि भेन्टीलेटरको आवश्यकता परेपछि डडेल्धुरा रेफर गरिएको डाक्टर जोशीको भनाई छ । जिल्लामा कोरोना सङ्क्रमित बढ्दै गएका छन् । कोभिड सङ्क्रमण भएका जटिल बिरामीहरुलाई दृष्टिगत गरेर भेन्टीलेटर सहितको आइसियुका लागि उपकरण खरिद गरिएको भएपनि प्रदेश सरकारले जनशक्तिको व्यवस्थापनमा ध्यान नदिदा जिल्लाबासीलाई समस्या भएको नागरिक समाज बैतडीका सचिव कर्ण दयालले बताउनु भयो ।

इन्सेक बझाङ प्रतिनिधि रमेश केसीका अनुसार कोभिड– १९ सङ्क्रमितहरुको उपचार प्रभावकारी बनाउने उद्देश्यले जिल्ला अस्पताल, बझाङमा सञ्चालनमा ल्याइएका आइसीयु र भेन्टीलेटर सेवा जनशक्ति अभावका कारण बन्द हुँदा कोभिड सङ्क्रमितहरुको उपचारमा समस्या भएको छ । आइसीयु र भेन्टीलेटर सेवा सञ्चालनमा नआउँदा अस्पतालले जटिल अवस्थाका बिरामीलाई जिल्ला बाहिर रिफर गर्नु पर्ने बाध्यता रहेको जिल्ला अस्पताल, बझाङका कोभिड सम्पर्क व्यक्ति नारायण जोशीले बताउनु भयो । जिल्लाका १२ ओटै स्थानीय तहको पहलमा स्थापना गरिएको पीसीआर प्रयोग शाला र प्रदेश सरकारको सहयोगमा ल्याइएका आइसीयु र भेन्टीलेटर सेवा जनशक्ति अभावका कारण सञ्चालनमा ल्याउन नसकिएको जिल्ला अस्पताल, बझाङका प्रमुख डाक्टर सन्दीप ओखेडाले बताउनु भयो । भारतमा कोभिड–१९ सङ्क्रमण दर उच्च रहदै आएपछि भारतमा रोजगारी गर्दै आएका नेपालीहरु स्वदेश फर्किने क्रम जारी भएसँगै जिल्लामा पनि कोभिड सङ्क्रमण दर बढेको छ ।

इन्सेक डोटी प्रतिनिधि बाशुदेव जोशीका अनुसार विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोभिड सङ्क्रमणबाट जोगिनका लागि ‘आफ्नो जिवन आफै सुरक्षित’ भन्ने नाराका साथ जिल्ला प्रहरी कार्यालय, डोटीको टोली गाउँगाउँ तथा समुदायका घरैमा गएर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेको छ । डोटी जिल्लामा पनि कोभिड सङ्क्रणको दोस्रो लहर तिब्र रुपमा सुरु भएको र पछिल्लो समय दुई जनाको सङ्क्रमणका कारण मृत्यु समेत भएकोले  नागरिकहरुलाई सुरक्षा सतर्कता अपनाउनका लागि सचेतना कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय, डोटीका  डिएसपी इन्द्रबहादुर मल्लले बताउनु भयो । कोरोना भाइरसबारे सर्वसाधरणलाई जानकारी गराउन तथा उक्त रोगबाट जोगिनका लागि यो अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय, डोटीका एसपी दानबहादुर मल्लले बताउनु भयो । ज्यानभन्दा ठुलो केही छैन, आफू बचौँ र अरूलाई पनि बाच्न दिऔँँ भन्ने नारा सहित प्रहरी गाउँ टोलमा सचेतना कार्यक्रम गरिरहेको र जिल्लाका नौ ओटैै स्थानीय तह र सरकारी कार्यालयलाई पत्राचार गर्दै मेला, महोत्सव तथा सभा सम्मेलनहरू स्थगित गर्न अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी बताउनु भयो । स्वास्थ्य मापदण्ड र जारी गरिएका नियमहरू पालना नगर्ने तथा  नियमको उल्लङ्घन गर्नेहरुलाई सङ्क्रामक रोग ऐन अनुसार कानुनी कार्वाही गरिने जिल्ला प्रशासन, डोटीले जनाएको छ ।

इन्सेक अछाम प्रतिनिधि शिवराज ढुङ्गाना अनुसार कोभिड सङ्क्रमणको उच्च जोखिम रहेको भन्दै ढकारी गाउँपालिका, मेल्लेख गाउँपालिका, मंगलसेन नगरपालिका र वान्नीगढी जयगढ गाउँपालिकामा रहेका विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । थप फैलिन नदिन अनिश्चितकालका लागि अछाममा विद्यालय बन्द गर्न थालिएको छ । मा भौतिक उपस्थितीलाई बन्द गरिन थालिएको छ । कोभिड सङ्क्रमण थप फैलिन नदिनका लागि पूर्वनिर्धारित परीक्षा समेत स्थगित गरेर भर्चुअल वा वैकल्पिक कक्षा सञ्चालन गर्न विद्यालयलाई जानकारी गराइएको गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराले बताउनु भयो ।  वान्नीगढी जयगढ गाउँपालिकामा कोभिड सङ्क्रमणको उच्च जोखिम रहेकोले विद्यालयको पठनपाठन पूर्ण रुपमा बन्द गरिएको गोल्डेन लाइफ एकेडेमी, जयगढका प्रिन्सिपल सुरेशप्रसाद न्यौपानेले बताउनु भयो । यसैगरी मंगलसेनस्थित अछाम बहुमुखी क्याम्पस र षोडशा माध्यामिक विद्यालय समेत अनिश्चितकालका लागि बन्द गरिएको छ । संघीय र स्थानीय सरकारको आग्रहलाई उल्लङ्घन गरेमा सङ्क्रमण रोग ऐन २०२० अनुसार कार्वाही अगाडी बढाउने गाउँपालिका र नगरपालिकाले जनाएको छ ।

इन्सेक कञ्चनपुर प्रतिनिधि कोमलनिरञ्जन भाटका अनुसार जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बृद्धि भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा (लकडाउन) गर्ने निर्णय गरेको छ । जिल्लामा फैलिरहेको सङ्क्रमण दर र मृत्यु दरलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरले ०७८ वैशाख १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म निषेधाज्ञा लागु गरेको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताउनु भयो । अत्यावश्यक सवारी साधन जस्तै एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य समाग्री बोकेको सवारी साधन, दुग्धजन्य पदार्थ बोकेको सवारी, बैंक तथा बित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट र आइशोलेसनका सवारी स्पष्ट खुल्ने कागजातका आधारमा सञ्चालन हुने जनाएइको छ । यसैगरी खाद्य समाग्री, औषधि तथा स्वास्थ्य समाग्रीका पसल बाहेक सबै पसल बन्द रहने छन् । खाद्य समाग्रीका पसलहरु बिहान ६ बजेदेखि बिहान ९ बजेसम्म मात्रै खोल्न पाइने निर्णय गरिएको छ ।  सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भिडभाड हुने स्थान बन्द रहने आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी महतोले बताउनु भयो ।

इन्सेक कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार कोभिड सङ्क्रमितहरुको सङ्ख्यामा अत्याधिक बृद्धि भएसँगै सेती प्रादेशिक कोभिड अस्पतालमा वेड,  अक्सिजन, जनशक्ति, स्वास्थ्य सामाग्रीको अभाव सृजना भएको छ । पछिल्लो समय भारतमा कोभिड—१९को दोस्रो सङ्क्रमण  फैलिएपछि भारतमा काम गर्ने मजदुरहरु कैलालीको गौरीफन्टा नाकाबाट  घर फर्किन क्रम जारी रहेको छ । समुदायमा सङ्क्रमण  फैलिने जोखिम  बढेपछि जिल्ला प्रशासन कार्यालय, कैलालीले वैशाख १६ गतेदेखि २२  गतेसम्म निषेधाज्ञा गर्ने भएको छ । कोभिड—१९ समुदायस्तरमा फैलिसकेकाले नियन्त्रण गर्नका लागि मानिसहरुको आवतजावत तथा भिडभाड कम गर्न निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय, कैलालीका प्रमुुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताउनु भयो । कोभिड—१९ सङ्क्रमित बिरामीको चाप बढेसँगै कैलालीका अस्पतालहरुमा जनशक्तिको अभाव र  स्वास्थ्य समाग्रीको अभावका कारण बिरामीहरुको उपचारमा ढिलासुस्ती र भेन्टीलेटर अभावका कारण बिरामीलाई अन्तै रेफर गरिने समस्या देखिएको बिरामीका कुरुवाहरुले गुनासो गरेका छन् । सेती प्रादेशिक अस्पतालमा बुवाको उपचार गराइरहेका भिमदत्त नगरपालिका—१० का २८ वर्षीय चन्द्र नाथले समस्या परेको बेला समयमा स्वास्थ्यकर्मीहरु नआउने र सास फेर्न गाह्रो भएको बेला अक्सिजन नलगाइदिने गरेको गुनासो गर्नु भयो । धनगढी उपमहानगरपालिका—१२ की ५० वर्षीया देवादेवीसिंह ठकुरीले भाइ आइसियुमा र आमा भेन्टीलेटरमा राखेर उपचार भइरहेकाले बिरामीहरुको सङ्ख्या अनुसार स्वास्थ्यकर्मीहरु नभएकाले बिरामीहरुको उपचारमा समस्या भएको गुनासो गर्नु भयो । वेदकोट नगरपालिका—१ का ४१ वर्षीय राजबहादुर शाहले अस्पताल भित्र बिरामीहरुको लागि र बिरामी कुरुवाहरुका लागि छुट्टाछुट्टै शौचालयको  व्यवस्था नभएका  र सरसफाइमा समेत ध्यान नदिएको कारण कुरुव समेत सङ्क्रमित हुने उच्च जोखिम रहेको गुनासो गर्नु भयो । सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिपकुमार श्रेष्ठले स्वास्थ्य समाग्री र दक्ष जनशक्तिको अभावका कारण र दैनिक १० देखि ११ जना बिरामी थपिएपछि गुणस्तरीय सेवा दिन नसकेको स्विकार गर्नु भयो । सेती प्रादेशिक अस्पतालमा वैशाख १ गतेदेखि वैशाख १४ गतेसम्म ५२ जना बिरामीमध्ये भेन्टीलेटरमा तीन जना, आइसियुमा आठ जना, अक्सिजनमा २३ जना र १८ जना मध्यम खालका बिरामीहरुको उपचार भइरहेको सुचना अधिकारी श्रेष्ठले बताउनु भयो ।

अन्य

भिडियो