पाल्पा कारागारमा एक बन्दीले झुण्डिएर आत्महत्या गर्नुभएको छ । कारागारको शौचालयमा झुण्डिएर किसान गुरुङले वैशाख ६ गते आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी सन्तोष भट्टराईले बताउनुभयो ।
भिरकोट नगरपालिका–७ स्याङ्जाका ३० वर्षीय गुरुङले शौचालयको भेण्टिलेटरमा झुण्डिएर आत्महत्या गरेको पाल्पा कारागारकी प्रमुख भक्तिसरा रानाले बताउनुभयो ।
गुरुङले चोरी मुद्दामा कारागारको सजाय भोग्दै आएको प्रहरीले जनाएको छ । २०७६ साल जेठमा स्याङजा कारागारबाट पाँच वर्षको कैद फैसला भएका गुरुङलाई २०७६ माघमा पाल्पा कारागारमा ल्याइएको कारागार प्रमुख रानाले बताउनुभयो ।
शवको पोष्टमार्टम वैशाख ६ गते नै जिल्ला अस्पतालमा गरेर परिवारको जिम्मा लगाइएको एसपी भट्टराइले बताउनुभयो ।