आबुखैरेनी गाउँपालिका–५ बरालुङका १२ वर्षीय शिशिर गुरुङको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५० वर्षीय आइतसिंह गुरुङलाई चैत २९ गते गिरफ्तार गरेको छ ।
मृतकलाई आरोपितले चैत २२ गते कडा खालको हतियारले सम्वेदनशील अङ्गमा प्रहार गरी घाइते बनाएका थिए ।
सोही चोटको कारण चैत २४ गते घाइते गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँमा चैत २८ गते पीडित पक्षको उजुरीमा उल्लेख गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले बताउनुभयो ।
पीडित पक्षको उजुरीपछि आरोपितलाई गिरफ्तार गरी चैत २९ गते नै जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धानको लागि हिरासतमा राखिएको उहाँले बताउनुभयो ।
जातीय परम्परा अनुसार सदगत गरिसकिएको मृतकको शवलाई उत्खनन् गरी पोष्टमार्टमको लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा पठाइएको डिएसपी तिमिल्सिनाले जानकारी दिनुभयो ।