छोरा नपाएको निहुँमा पतिले दैनिक जसो कुटपिट गरेर पीडित बनेकी महिलालाई इन्सेकद्वारा सहयोग गरिएको छ ।
सल्यान जिल्ला शारदा नगरपालिका–१४ मालनेटा घर भइ हाल पर्वतको कुश्मामा ज्याला मजदुरी गरेर दुई छाक टार्दै आएकी २१ वर्षीया सपना विश्वकर्मा र ६ वर्षीया छोरीलाई इन्सेकद्वारा आर्थिक सहयोग प्रदान गरिएको हो ।
सपनाका पति राज विश्वकर्मा आफ्नी जेठी छोरी पर्मिला विक सहित चैत १८ गतेदेखि फरार रहेका छन् ।
पतिले छाडेर गएपछि भौतारिएकी सपना अहिले आफ्नो ६ महिने छोरीलाई काखीमा च्यापेर बिलखबन्दमा परेकी छिन् ।
‘कोठामा चामलको गेडो छैन, काखे छोरीलाई दूध किनेर खुवाउने पैसो पनि छैन’– उहाँले भन्नुभयो– ‘कसैको सहयोग पाए आमा छोरीको परान धान्न सकिन्थ्यो कि ?’
उहाँले छोरी सानो भएका कारण सामान्य भाडाधुने काम समेत पाउन समस्या भएको दुखेसो पाेख्नुभयाे । उहाँका पति राज विश्वकर्माले करिब डेढ बर्ष अघिदेखि मिस्त्रीको काम गर्दै आएका थिए ।
कामबाट घर फर्किँदा सँधैजसो रक्सी पिएर आउने र कुट्ने पिट्ने अनि घरेलु हतियार देखाएर त्रासै त्रासमा बाच्नुपर्ने अवस्था आएको उहाँले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।
आरोपित पतिले पीडितलाई चैत १७ गते बेलुका निर्मम कुटपिट गरेर चैत १८ गते कोठाबाट फरार भएका छन् ।
पति र छोरी सल्यान स्थित घरमा पुगेको खबर आफन्तहरुबाट जानकारी पाएको भएपनि अहिले उनीहरुसगँ कुनै सम्पर्क नभएको सपनाले बताइन् ।
सपनालाई दोस्रो छोरी जन्माएको ११ औँ दिनमा पतिको निर्घात कुटाई सहन नसकेपछि भागेर सल्यान स्थित माईती पुगेकी उनलाई राम्रो व्यवहार नगरिएपछि उनी फर्केर फेरि कुश्मा आइन ।
‘सुत्केरी भएर गलेको ज्यान बोकेर माईतमा पुँगे,’–उहाँले भन्नुभयो– ‘ज्यान मार्ने धम्की आएपछि फेरि फर्केर आएँ, श्रीमानको वानी व्यवहार भने उस्तै थियो । फर्केर आएपछि पनि कुटपिट भैरहयो । मैले धेरै सहँदै आएकी छु ।’
इन्सेकको सहयोगमा आरोपतविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्वतमा चैत १८ गते उजुरी दर्ता गरिएको छ ।
बेखर्ची भएर अलपत्र परेकी उहाँलाई इन्सेक मार्फत केही दिनका लागि भन्दै ६ हजार रुपियाँ सहयोग उपलब्ध गराइएको छ ।
‘तत्कालका लागि समस्या समाधान होस भनेर ५ हजार रुपियाँ सहयोग गरिएको छ ।’–इन्सेक पर्वत प्रतिनिधि सन्तोष थापाले भन्नुभयो– ‘उहाँलाई आवश्यक पर्ने केही रकम सहयोगी व्यक्तिहरु मार्फत जुटाउनुपर्ने अवस्था रहेको छ ।’
