INSEC Online

📅 २०८३ जेष्ठ २१

चेपाङ बालबालिकामा कुपोषण बढ्दो, आर्थिक अभावका कारण उपचारमा समस्या

बेनीघाट रोराङ गाउँपालिका–४ की १२ वर्षीया पणरमिला चेपाङ पोषिलो खानेकुराको अभावमा होइन दुई छाक खान नसकेकै कारण कुपोषणको बिरामी भएकी छन् ।

photo20210411dhading1घरमा खानेकुराको अभावपछि कुपोषणले ग्रस्त बालिकाको हाडमा छाला टाँसिएको अवस्थामा वडा कार्यालयले चैत २५ गते उद्धार गरी कान्ति बाल अस्पतालमा उपचारको लागि भर्ना गरेको छ ।

तर,  उपचारमा खर्च धेरै लाग्ने भएपछि उपचार गराउन समस्या परेको छ । वडाले अस्पताल भर्ना गरे पनि उपचार खर्च उपलब्ध गराउन नसक्ने जनाएको छ । यता बालिकाको परिवारले उपचार गराउन नसक्ने अवस्था रहेको चेपाङ समुदायका अगुवा तिलक चेपाङले बताउनुभयो ।

दुई छाक पनि राम्रोसँग खान नपाएपछि ज्यान सुक्दै गएर अन्य रोगले समेत ग्रस्त बालिका  पणरमिला उपचारको प्रतिक्षामा रहेकी छन् ।

photo20210411dhading2यस्तै बेनिघाट रोराङ गाउँपालिका–२ निवासी सुत्केरी अवस्थाकी २० वर्षीया मनमायाँ चेपाङको घरमा दिनमा एक छाक खाने खाद्यन्न पनि नहुँदा भोकै बस्न बाध्य छिन् ।

एक महिनाको शिशुलाई आमाको दुधले पुग्दैन । यस्तो अवस्थामा हुर्किएको शिशु कुपोषणको बिरामी अवस्था आउने पालिकाको स्वास्थ्य शाखाकी सीता खरेलले बताउनु भयो ।

सुत्केरीलाई पोषणयुक्त खाद्यन्न र नवजात शिशुलाई ६ महिनासम्म स्तनपान भनेर सरकारी नीति बने पनि चेपाङ बस्तीमा सुत्केरीले दुई छाक पेटभरी खाने अवस्था पनि नभएको वडा अध्यक्ष टंक थापाले बताउनुभयो ।

मनमायाको घरमा खानेकुरा समेत सकिएपछि चेपाङ परिवार सिन्नोको खोले खुवाएर सुत्केरीको स्याहार गरिरहेको छ । यो अवस्था देखिएपछि स्थानीय सामाजिक कार्यकर्ता तुलसी थापाले चामल दाल र तेल केही दिनका लागि सहयोग गर्नुभएको छ ।

photo20210411dhading3यस्तै अर्की सुत्कीरी २२ वर्षीया सन्तमाया चेपाङका तीन जना सन्तान छन् । चार वर्ष मुनिका सबै छोराछोरीलाई उनले पनि सिस्नोको खोले खाएर छाक टार्दै आएकी छन् । छोराछोरीलाई दुई छाक खुवाउने अन्न छैन । कहाँ पोषण युक्त खानेकुरा खुवाउने उनले अनभिज्ञता जाहेर गरिन् ।

यस पालिकामा ८० प्रतिशत चेपाङ बसोबास रहेकोमा आधा चेपङ समुदाय भोकमरी लागेको गाउँपालिकाले जनाएको छ । पालिकाका अधिकांश परिवार गरिबीको रेखामुनी रहेका भए पनि  पालिकाले कुुनै योजना बनाएको छैन ।

प्राय सबै चेपाङ परिवारमा वर्षको तीन महिना खान पुग्ने उब्जनी पनि हुँदैन । आम्दानीको लागि अन्य बैकल्पिक रोजगारीको व्यवस्था पनि छैन ।

गाउँको विकासका लागि काम गरिरहेको बताइए पनि गाउँपालिकाले भोकमरीबाट बचाउन खान नपाएकाहरूलाई वडा अध्यक्षको सिफारिसमा गत वर्ष चामल वितरण गरिएको र यस वर्ष पनि चामल वितरण गर्ने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण भट्टराईले बताउनुभयो ।

चेपाङ समुदायमा धेरै बालबालिका कुपोषणका कारण बिरामी हुने गरेको र उपचारमा समस्या आइरहेको गाउँपालिका स्वास्थ्य शाखाका सीता खरेलले बताउनुभयो ।

अन्य

भिडियो