पञ्चेश्वर गाविसको डुग्रीखान माविमा शिक्षकहरूको आपसी विवादका कारण लामो समयदेखि विद्यार्थीहरूको पढाइ प्रभावित भएको छ ।
प्रधानाध्यापकले आफूखुसी विना प्रक्रिया शिक्षक भर्ना गरेको आरोपमा अख्तियारमा मुद्दा परेपछि सुरु भएको विवादले विद्यार्थीहरू मारमा परेका हुन् ।
अख्तियारमा मुद्दा परेपछि जिल्ला शिक्षा कार्यालयको पत्र अनुसार तीन जना अस्थायी शिक्षकलाई प्रधानाध्यापकले निकालेपछि बढेको विवाद साम्य हुन सकेको छैन ।
निकालिएका शिक्षक निर्दोष भएको भन्दै उनीहरूलाई आम भेला र विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार राखिएको व्यवस्थापन समितिको भनाइ छ ।
यसै गरि एक जना लेखापालको दरवन्दीमा पनी आमभेला र विद्यालय व्यवस्थापन समितीको निर्णय शिक्षा निमावलीमा उल्लेख गरिएको प्रक्रिया विपरित स्थायी गरेको हुँदा अहिले लेखापाल जनक चन्दको विरुद्धमा पनि उजुरी परेको छ ।
लेखापाल चन्दले आफूविरुद्धको उजुरी फिर्ता लिन दबाव स्वरुप ०७३ माघ १२ गते विद्यालयमा तलाबन्दी गरेको डुग्रीखान मावि पञ्चेश्वरका प्रधानाध्यापक नरेन्द्र साउदले बताए ।
विद्यार्थीहरूले माघ १४ गते तला तोडेर पढाइ सञ्चालन गर्न शिक्षकहरूलाई आग्रह गरेपनि निमाविका ६ जना स्थायी शिक्षकले पढाउन छाडेका छन् ।
‘कि प्रअले पदबाट राजिनमा दिनु पर्छ । कि हामीहरूको सरुवा गरिदिनु पर्छ । यस्तो वातावरणमा हामी पढाउन सक्दैनौँ ।’-शिक्षक दलवीर सिंह साउदले भने ।
‘शिक्षकहरूको आपसी विवादले हाम्रा छोरा छोरीहरूको भविष्य बर्वाद गर्न लागेका शिक्षकहरू लाई कारबाही गर्नुपर्छ ।’-अभिभावक देवानीराम सार्कीले भने ।
सम्बन्धित स्रोत व्यक्ति लाई विवाद मिलाउने जिम्मा दिएको र केही दिनपछि पढाइ सुचारु गराउने जिल्ला शिक्षा अधिकारी लालसिंह टेरले बताए ।