INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला

७२ वर्षीया ज्येष्ठ नागरिकलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले कटारी नगरपालिका–३ हडैयाका ३१ वर्षीय वंशराज सदालाई चैत १० गते जन्मकैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश उत्तम सिलुवालको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट ३५ हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको छ ।

फैसलामा कसुरदारको जायजेथा नभएकाले सरकारले स्थापना गरेको पीडित राहत कोषबाट पीडितलाई ३५ हजार रुपियाँ उपलब्ध गराउन आदेश भएको अदालतका श्रेस्तेदार धनबहादुर कार्कीले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

सोही आदेशले घटनामा मतियारको रूपमा प्रयोग भएका सोही ठाउँका २३ वर्षीय मनोज सदालाई एक वर्ष दुई महिना कैद र पीडितले पाउने गरी १५ हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको श्रेस्तेदार कार्कीले बताउनु भयो ।

पीडित महिलालाई कसुरदारले ०७६ फागुन ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन इलाका प्रहरी कार्यालय कटारीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले सोही दिन घरबाटै गिरफ्तार गरी कानुनी कारबाही अघि बढाएको थियो ।

जिल्ला अदालतको ०७६ चैत २ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडितको स्वास्थ्य परीक्षण ०७६ चैत ८ गते कटारी अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो