INSEC Online

📅 २०८३ जेष्ठ २१

वृद्धआश्रमको अवस्था विजोगः आयोग

राष्ट्रिय मानव अधिकार आयोगले भरतपुरमा चैत ११ गते आयोजना गरेको अन्तक्रिया कार्यक्रममा वृद्धाआश्रमको अवस्था विजोग भएको जनाएको छ ।

आयोगको एक टोलिले चैत ९ र १० गते चितवन र तनँहु जिल्लाको देवघाट क्षेत्र वरिपरिका पाँच ओटा वृद्धआश्रम अनुगमन गर्ने क्रममा आश्रमको व्यवस्थापन निकै कमजोर र विजोग भएको पाइएको अनुगमनमा संलग्न आयोगका मानव अधिकार अधिकृत कल्पना आचार्यले बताउनु भयो ।

अधिकृत आचार्यका अनुसार कुनै पनि आश्रमले मापदण्ड पुरा गरेका छैनन् । गैर आवासीय नेपाली सङ्घ (एनआरएन) द्वारा सञ्चालित आश्रममा गरिएको अनुगमनका क्रममा समेत भौतिक पूर्वाधारहरू जेष्ठ नागरिक मैत्री नभेटिएको उहाँले बताउनु भयो ।

कार्यक्रममा आचार्यले आश्रममा रहेका जेष्ठ नागरिकलाई आवश्यक पर्ने पोषणयुक्त खानेकुरा नभएको, सुत्ने ठाउँ साँघुरो भएको, शौचालय ठीक नभएको उल्लेख गर्नु भएको थियो ।

‘एनआरएनले सञ्चालन गरेको आश्रम पनि मापदण्डयुक्त छैन, पोषणयुक्त खाने कुरा छैन, स्वास्थ्य छैन, कोठा र शौचालय विजोग छ, मानव अधिकार अधिकृत आचार्यले भन्नुभयो– ‘अधिकांश आश्रमको अवस्था दयनीय नै छ ।’ नियमित र पोषणयुक्त खानेकुरा नहुँदा सबैलाई ग्यास्टिक समेत भएको उहाँको भनाइ छ ।

यसैगरी, देवघाटमा रहेको रोटरी करुणालय वृद्धाश्रको अवस्था पनि विजोग रहेको पाइएको छ । जेष्ठ नागरिकलाई हुनुपर्ने स्याहारसुसार, हेरचाह नभएको आयोगले जनाएको छ । खाद्य सामग्रीहरू पनि सन्तुलित र पोषणयुक्त नरहेको अनुगमनमा भेटिएको छ ।

त्यस्तै आयोगले सामाजिक सुरक्षा भक्ता लिन समस्या हुने गरेको बताएको छ । जेष्ठ नागरिकहरूको भत्ता अरुले नै बुझिदिने, पैसा लिन बैंकसम्म धाउनुपर्ने, वर्षमा एक पटक भत्ताकार्ड नविकरण गर्न पुनः आफ्नै जिल्लामा जानुपर्ने जस्ता समस्यामा रहेको आयोगको भनाइ छ ।

अस्पतालमा लाइन बस्नुपर्ने, गाडीमा पुरै भाडा लिने, सिट नछाड्ने जस्ता समस्या हुने गरेको गुनासो पनि अनुगमनका क्रममा जेष्ठ नागरिकले उठाएका थिए । बिरामी हुँदा तत्काल र सही उपचार नपाउने गरेको उनीहरूको भनाइ छ ।

राज्यले निशुल्क भनेको औषधिबाट बञ्चित हुनुपरेको, जेष्ठ नागरिकलाई हेरचाह गर्ने कर्मचारी नभएको अनुगमनबाट पत्ता लागेकोले सोही अनुुसार सरकारलाई सुझाव सहितको प्रदिवेदन पेश गरिने अधिकृत आचार्यले बताउनुभयो ।

अन्य

भिडियो