१८ वर्षीया युवतीलाई मट्टितेल खनाएर मार्न खोजेको आरोपमा गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीका २१ वर्षीय सुरज श्रेष्ठलाई प्रहरीले चैत १० गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपित श्रेष्ठले आफूसँग विवाह गर्न र आफूसँग विवाह नगरे अरुसँग पनि विवाह गर्न नदिनेभन्दै मानसिक यातना दिँदै आएको र उनी युवतीका प्रेमी रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको महानगरीय प्रहरी परिसरका एसपी रमेश कुमार बस्नेतले जानकारी दिनु भयो ।
युवतीको कोठामा आपसी विवादका क्रममा श्रेठले मट्टितेल छर्किएर ‘युवतीलाई पनि मार्ने र आफू पनि मार्ने’ भन्दै आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको पनि बस्नेतले बताउनु भयो ।
युवतीको अनुहारलगायत माथिल्लो भाग जलेर गम्भीर अवस्थामा कीर्तिपुरस्थित फेक्ट अस्पतालमा उपचार भइरहेको छ भने श्रेष्ठको पेटको भाग सामान्य जलेकाले जोरपाटीस्थित शुष्मा कोइराला अस्पतालमा प्रहरीको निगरानीमा उपचार भयो ।
आगलागीबाट कोठामा केही कपडा जले पनि अन्य क्षति भने नभएको बताउँदै प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।