अदानचुली गाउँपालिकाका चार वडाका स्थानीयहरू ९ महिनादेखि शुद्ध पानीबाट बञ्चित भएका छन् ।
उपभोक्ता समिति र चौकीदारको लापरवाहिका कारण वडा नम्बर १ देखि ४ का करिब १ हजार भन्दा बढि स्थानीयहरू पानीबाट बञ्चित भएको अदानचुलि गाउँपालिका –३ का स्थानीय मोतिलाल सुनारले बताउनु भयो ।
०७७ साउन ७ गतेको पहिरोले श्रीनगर खानेपानी आयोजनाको मुहान देखि करीव ९० मिटर पाइप बगाएपछि स्थानीयहरू पानीबाट बन्चित भएका हुन ।
पानीको मुहान बगाएपछि उपभोक्ता र चोकीदारले वास्ता नगरेको सुनारको गुनासो छ । धारामा पानी नआएपछि स्थानीयहरू एक घण्टा लगाएर खोलाको धमिलो पानी खान बाध्य भएको उहाँको भनाई छ ।
पुरानो उपभोक्ता समितिलाई असोज ३ गते खारेज गरि नयाँ उपभोक्ता समति गठन गरे पनि पानीका लागि खासै चासो नदेखाएको स्थानीयको गुनासो छ ।
गत वर्षहरूमा सो ठाउँका चार जना चौकिदारहरूलाई गाउँलेहरूले व्यक्तिगत रुपमा रकम उठाएर तलव खुवाउने गरेको तर हाल स्थानीय तहले तलव खुवाउन थालेपछि झन खाने पानीको वास्ता नगरेको अर्का स्थानीय परवहादुर थापाले बताउनु भयो ।
वडा नं. ४ का चौकीदार धोज बुढाले दुई चार जनाले यो पानी मर्मत गर्न नसकिने बताउनु भयो । गाउँलेहरू सबैले काम गरेर पानीको मुहान बनाएपछि मात्रै पानी धारामा आउँने बुढा भन्नुहुन्छ ।
सोही विषयमा फागुन ३ गते उपभोक्ता समितिले छलफल गर्दा सबै वडाका स्थानीयहरू मिलेर तत्काल खाने पानी मर्मत गर्ने निर्णय गरेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष गोर्ख थापाले बताउनु भयो ।
तर पहल निर्णयमा मात्र सिमित भएको र हालसम्म पनि स्थानीयले पानी पिउन नपाएको स्थानीय काली बहादुर थापाको दुःखेसो छ ।