INSEC Online

📅 २०८३ जेष्ठ २१

हिंसा पीडितलाई इन्सेकको सहयोग

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतले घरेलुु हिंसाबाट पीडित भेरीगंगा नगरपालिका–११ की ३३ वर्षीया सीताकुमारी भण्डारीलाई १० हजार रूपियाँ आर्थिक सहयोग गरेको छ ।

मानव अधिकार सहायता कक्षको निर्णय अनुसार पीडितलाई न्यायिक प्रक्रियामा जानका लागि चैत १० गते आर्थिक सहयोग गरिएको इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले बताउनुभयो ।

अन्तरजातीय विवाह गरेकी सीतालाई पतिले अर्को विवाह गरेर बेवास्ता गरी उल्टै सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएका छन् । आफ्नो र छोरा छोरीको लागि अंश पाउँ भनेर आफू कानुनी प्रक्रियामा गएकोले इन्सेकको सहयोगले अदालत आउन जान र अन्य खर्चको लागि ठूलो सहयोग पुगेको सीताको भनाई छ ।

यसैबीच चैत ८ गते बसेको मानव अधिकार कक्षको बैठकले पीडित भण्डारीलाई निशुल्क कानुनी सेवा प्रदान गर्न मानव अधिकार सहायता कक्षका सदस्य अधिवक्ता उत्तमप्रसाद आचार्य मार्फत उच्च अदालत बार एसोसिएशनलाई अनुरोध गरेको छ ।

उच्च अदालत बार एसोसिएशन सुर्खेतका अध्यक्ष समेत रहेका आचार्यले बैठकमा पीडित सीतालाई निशुल्क सेवा दिने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

अन्य

भिडियो