INSEC Online

📅 २०८३ जेष्ठ २१

पारिश्रमिक नपाएको भन्दै रेडियोका कर्मचारीद्धारा सामूहिक राजीनामा

जिल्लामा सञ्चालित रेडियो मकालुमा कार्यरत कर्मचारी तथा पत्रकारहरुले पारिश्रमिक नपाएको भन्दै रेडियो प्रशासन समक्ष चैत ६ गते सामूहिक राजीनामा दिएका छन् ।

आर्थिक वर्ष २०७६-७७ देखि पारिश्रमिक नपाएको भन्दै रेडियोमा कार्यरत सात जना कर्मचारी तथा पत्रकारहरुले सामूहिक राजीनामा दिएको रेडियोका कर्मचारी सन्तोष सुवेदीले बताउनु भयो ।

पीडित पत्रकार तथा रेडियोमा कार्यरत  कर्मचारीले चैत ६ गते पत्रकार सम्मेलन गरी पारिश्रमिक माग गर्दै सामूहिक राजीनामा दिएका हुन् ।

रेडियो व्यवस्थापन पक्षले राजीनामा दिन बाध्य पारेको र कोभिडको कारण देखाउँदै पारिश्रमिक सहमति बिना नै कटौती गरेको सुवेदीले बताउनु भयो ।

व्यवस्थापन पक्ष र पीडित पक्षबिच ०७७ फागुन ११ गते भएको छलफलमा कोभिडको कारण देखाउदै रेडियो राम्रोसँग सञ्चालन गर्न नसकेको र रेडियोमा आर्थिक संकट उत्पन्न भएकाले व्यवस्थापन पक्षले ०७८ वैशाख १ गतेदेखि पारिश्रमिक उपलव्ध गराउन नसकिने भन्दै विकल्प खोज्न बाध्य पारिएको रेडियोको विज्ञापन शाखा प्रमुख प्रेमा मादेम्बाले बताउनु भयो ।

व्यवस्थापन पक्षले एकतर्फी रुपमा जागिरबाट निकाल्न खोजेको र पाकेको तलब समेत नदिएकाले वातावरण नभएकाले सामूहिक राजीनामा दिएको मादेम्बाले पत्रकार सम्मेलनमा बताउनु भयो ।

पारिश्रमिक उपलब्ध गराउनु पर्ने माग राखेर रेडियो सञ्चालक समितिका अध्यक्ष शोविस चेम्जोङ, स्टेशन म्यानेजर सन्तोष रुचाललाई ज्ञापन पत्र बुझाइएको पीडित कर्मचारीले पत्रकार सम्मेलनमा बताएका छन् ।

सामूहिक राजीनामा दिने कर्मचारीहरुमा समाचार शाखाका चाँदनी राई र विमला रायमाझी, विज्ञापन शाखाकी प्रेमा मादेम्वा, कार्यक्रम शाखाका माया राउत र लक्ष्मी राई र प्राविधिक शाखा सन्तोष सुवेदी र राजकुमार राई रहनु भएको छ ।

कर्मचारीको राजीनामाको विषयमा रेडियो मकालुका सञ्चालन समितिका अध्यक्ष शोविस चेम्जोङ्गले कोरोना महामारीको चपेटाका कारण रेडियोमा आर्थिक समस्या भएको र त्यसैले कर्मचारीहरुलाई राखेरै मासिक रुपमा तलब दिन नसकिने र आगामी वैशाखदेखि आंशिक रुपमा मात्र काम दिन सकिने सहमति भएको बताउनु भयो ।

अध्यक्ष चेम्जोङ्गले कोरोनाका कारण रेडियोमा पाँच महिना जति आर्थिक संकट भएको र त्यसैको आधारमा सबैसँग बसेर यस अवधिको सहयोग स्वरुप गणना गरिने भन्ने अनौपचारिक सहमति भएको बताउनु भयो ।

रेडियोका स्टेशन म्यानेजर सन्तोष रुचालले सौहार्दपूर्ण वातावरणमा सबैसँग छलफल भएको तर के कारणले उहाँहरुले राजीनामा दिनुभयो सो विषयमा आफूलाई थाहा नभएको बताउनु भएको छ ।

 

अन्य

भिडियो