INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

हरिपुर्वा नपा–३ पुर्वी धनकौलस्थित राष्ट्रिय आधारभुत विद्यालयका शिक्षक चन्द्रनगर गाउँपालिका–३ बरकुर्वाका ३२ वर्षीय राजिब महतोलाई सोही विद्यालयका प्रधानाध्यापक ४३ वर्षीय हरिनारायण कुशवाहासहित पाँच जनाको समूहले चैत ३ गते बिहान ११ बजे कुटपिट गरेको भन्दै पीडितले चैत ४ गते शिक्षा शाखा हरिपुर्वा र जिल्ला प्रशासन कार्यालय मलङ्गवामा उजुरी दिनु भएको छ ।

पीडित शिक्षकले शान्ति सुरक्षा उपलब्ध गराउन तथा कुटपिट घटनाका आरोपितहरूलाई कारवाहीको माग गर्दै उजुरी दिएको पीडित पक्षले जनायो ।

हरिपुर्वा नपा–३ पुर्वी धनकौल निवासी राष्ट्रिय आधारभुत विद्यालयका प्रधानाध्यापक कुशवाहाले शिक्षक र विद्यार्थीहरूकै अगाडि गाली बेइज्जत गरी कुटपिट गरेको पीडित शिक्षक महतोको आरोप छ ।

नेपाल राष्ट्र बैङ्कमा आफ्नो र प्रधानाध्यापक हरिनारयण कुशवाहाको नाममा सञ्चालन भएको विद्यालयको खाताबाट शिक्षकहरूलाई तलब खुवाउनु छ भनेर खाताबाट रकम झिक्न खाली चेकमा सही गराउन खोजेको तर आफूले खाली चेकमा सही गर्न नमानेपछि सोही ठाउँका चार जना केटालाई विद्यालयमा बोलाएर कुटपिट गरी विद्यालयको परिसरबाट बाहिर निकालेको पीडित शिक्षक महतोको आरोप छ ।

हरिपुर्वा नपा–३ का २८ वर्षीय रामकेवल राय, २६ वर्षीय विनोद राय, ३५ वर्षीय जागेश्वर महतो र २७ वर्षीय किसुनदेव कुशवाहालाई बोलाएर कुटपिट गरेको र गर्न लगाएको पीडित महतोले आरोप लगाउनु भएको छ ।

पीडितको विभिन्न अङ्गमा चोटपटक लागेको छ भने बायाँ हातको औँला भाँचिएको घटनाको प्रत्यक्षदर्शी स्थानीय सङ्गिता देवीले बताउनु भयो ।

विद्यालयका प्रधानाध्यापक कुशवहाले खाली चेकमा सही नगराएको भन्दै उल्टै आफूलाई फसाउन खोजेपछि कुराकानी मात्र भएको बताउनु भयो ।

लिखित निवेदन आए पश्चात घटनाको अनुसन्धान भइरहेको र छिटै घटनाको सामाधान हुने गरी कार्य गरिरहेको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिनु भयो ।

अन्य

भिडियो