अपाङ्गता भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सिलिचोङ गाउँपालिका–१ का २९ वर्षीय पेम्बा शेर्पालाई आठ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश शान्तिप्रसाद आचार्यको चैत १ गतेको इजलासले कसुर गरेको ठहर गर्दै आठ वर्ष कैद सजायको फैसला सुनाएको अदालतका श्रेस्तेदार कविराज राउतले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार राउतले बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले ०७७ मङ्सिर १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध मङ्सिर २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले कात्तिक २१ गते गिरफ्तार गरी जिल्ला अदालत चैनपुरमा कात्तिक २५ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक २१ गते गरिएको थियो ।