जिल्ला कारागार लमजुङमा खानेपानीको अभावहुँदा कैदीबन्दीलाई समस्या परेको छ ।
फागुन महिनाको सुरुवात भएसँगै पानीको मुहान सुक्न थालेपछि जिल्ला कारागारमा खानेपानीको अभाव हुँदै आएको जिल्ला कारागार लमजुङका निमित्त जेलर सिनियर अहेव राजवीर शाहले बताउनुभयो ।
खानेपानीको अभावहुँदा बेशीशहर नगरपालिका–५ मा रहेको महभीरको मुहानबाट जिल्ला कारगारमा खानेपानी ल्याइएको जेलर शाहले बताउनुभयो ।
बेशीशहरबाट मुहान सम्मको दुरी पाचँ किलोमिटर रहेको छ । तर दुई दिन पानी आउने अनि बन्द हुने भएकोले प्रयोजनकोलागि पानीको मुहान धाउँदाधाउँदै हैरान भएको जिल्ला कारागार लमजुङका चौकीदार मेखबहादुर दुराले बताउनुभयो ।
‘पानीको अभावहुदाँ कैदीलाई नुहाइ धुवाई समेत कठिन भएको छ ।’– चौकीदार दुरा भन्नुहुन्छ ।
‘खानेपानीको अभावले गर्दा शौचालय समेत दुर्गन्धित भएको छ ।’–अहेव राजवीर शाह भन्नुहुन्छ–‘सरसफाई नहुँदा कैदीहरुलाई झाडापखाला जस्तो स्वास्थ्य समस्या समेत देखिन थालेको छ ।’
कार्यालय प्रमुखहरुको फागुन ५ गते बसेको मासिक बैठकमा बेसीशहर बजारबासीले उपभोग गर्दै आएको खानेपानी नै कारगारमा व्यवस्थापन गर्न माग गरिएपनि अहिलेसम्म माग पूरा नभएको राजवीर शाहले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।
२५ जना पुरुष र १० जना महिला गरी ३५ जनाको क्षमता रहेको उक्त कारागारमा हाल ८२ जना पुरुष र ११ जना महिला गरी ९३ जना कैदीहरु रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मासगँ खानेपानीको व्यवस्थापनको बारे कुरा गर्दा उहाँले बेसीशहर खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कृष्णलाल प्रधानसँग छलफल गरेको बताउनुभयो ।
कारगारमा खानेपानीको व्यवस्थापनको बारे छलफल गरिएपनि अहिलेसम्म कुनै व्यवस्थापन नभएको उहाँले जानकारी दिनुभयो ।
समितिका अध्यक्ष कृष्णलाल प्रधानका अनुसार जिल्ला कारागरमा पहिला देखिनै पानीको लाइन छुट्टै रहेको तर हाल समस्याहुँदा समितिलाई अहिलेमात्र गुनासो आएको बताउनुभयो ।
उहाँले पानीको समस्या छिट्टै समाधान गरिने बताउनुभयो ।
बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिँह अर्यालले आगामी आर्थिक वर्ष विनियोजन गर्ने बजेटमा कारगारको खानेपानीलाई पहिलो प्राथमिकतामा राखिने बताउनुभयो ।