INSEC Online

📅 २०८३ जेष्ठ २१

अपाङ्गमैत्री भौतिक संरचना नहुँदा अपाङ्गता भएकालाई समस्या

जिल्लामा अपाङ्गमैत्री भवन निर्माण नभएका कारण सेवा प्रवाह गर्ने निकायबाट सेवा लिन समस्या भएको अपाङ्गता तथा अशक्त भएका व्यक्तिहरूले गुनासो गरेका छन् ।

निर्माण गरिएका सरकारी कार्यालयहरू अपाङ्गमैत्री नभएका कारण कार्यालयमा पुगेर सहज रूपमा सेवा लिन समस्या हुँदै आएको धनकुटा नगरपालिका–२ का अशक्त तथा शारिरीक अपाङ्गता हुनुभएका हरिकुमार राईले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो–‘सरकारी कार्यालयमा कामकाजको सिलशिलामा जाँदा कोठाकोठा धाउनु पर्नेहुन्छ । अपाङ्गमैत्री भवन नभएका कारण अशक्त व्यक्तिलाई कार्यालयको आँगनसम्म पुग्न समेत कठिन हुने गरेको छ । यसका लागि सरकारले ध्यान दिन सकेको छैन ।’

जिल्लामा निर्माण भएका र गरिने सरकारी तथा गैरसरकारी कार्यालयका भवनहरू अपाङ्गमैत्री नभएका कारण अपाङ्गता भएका व्यक्तिहरूले सहज रूपमा सेवा लिन नसकेको अपाङ्ग सेवा धनकुटाका पूर्व जिल्ला अध्यक्ष यमबहादुर बस्नेत बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘ सेवा प्रवाह गर्ने कार्यालयहरू अपाङ्गमैत्री छैनन् । कार्यालयमा सेवा लिन गएका अपाङ्गता तथा अशक्त व्यक्तिहरूलाई बोकेर कार्यालय भित्र लैजानुपर्ने अवस्था छ । यसले गर्दा उहाँहरूले सास्ती खेपिरहनु भएको छ ।’

अपाङ्गमैत्री भौतिक संरचना बनाउन ०६९ सालमा अपाङ्गता भएका व्यक्तिका लागि  पहुँचयुक्त संरचना बनाउन सञ्चार निर्देशिका जारी गरिएको भएपनि त्यसको कार्यान्वयन नगरी भवन निर्माण गर्नाले समस्या उत्पन्न भएको महालक्ष्मी नगरपालिका–४ का स्थानीय केदार अधिकारीले बताउनु भयो ।

कार्यालयहरू र बाटो अपाङ्गमैत्री नभएका कारण आफूहरू विभिन्न प्रकारका अवसरबाट वञ्चित हुनु परेको पाख्रिबास नगरपालिका–१ सान्नेका महेन्द्र कार्कीले गुनासो गर्नु भयो ।

नयाँ निर्माण गरिने भवनहरू अपाङ्गमैत्री बनाउने सरकारको नीति भएको भएपनि सो अनुरूपका भवन तथा संरचना निर्माण नगरिएकोले अपाङ्गता भएका व्यक्तिलाई सेवा लिन समस्या हुँदै आएको अपाङ्ग सेवा सङ्घ, धनकुटाका जिल्ला अध्यक्ष सेतुलाल आलेमगरले बताउनु भयो ।

अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको क्षेत्रमा काम गर्ने सङ्घसस्थाले अपाङ्गमैत्री संरचनका विषयमा बहस तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी सरकारी कार्यालयहरूलाई अपाङ्गमैत्री बनाउन सम्बन्धित निकायको ध्यानकर्षण गराएको भएपनि सुनुवाइ नभएको अपाङ्ग सेवा सङ्घ, जिल्ला अध्यक्ष आलेमगरले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘जिल्लाका सात ओटै स्थानीय तहमा १ हजार भन्दा बढी अपाङ्गता भएका व्यक्ति रहेका छन । उहाँहरूमध्ये कतिपयले अहिलेसम्म पनि अपाङ्गता परिचय–पत्र पाउन सक्नु भएको छैन । अपाङ्गमैत्री संरचना निर्माण त टाँढैको कुरा भयो ।’

आपाङ्गता भएका व्यक्तिहरूको समस्यालाई ध्यानमा राखेर आगामी दिनमा स्थानीय तहमा निर्माण गरिने भौतिक संरचनाहरू अपाङ्गमैत्री बनाउन आवश्यक रहेको जिल्ला समन्वय समितिका प्रमुख टङ्क चौहानले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले अपाङ्गमैत्री भवन निर्माण हुन नसकेका कारण अपाङ्ता तथा अशक्त व्यक्तिहरूलाई सेवा लिन समस्या भएको बताउँदै स्थानीय निकायले भौतिक संरचना निर्माण गर्दा अपाङ्गमैत्री बनाउन आवश्यक रहेको बताउनु भयो ।

अन्य

भिडियो