कोहलपुर नगरपालिका–११ शान्तिनगर वासीहरूले बसाई सराई दर्ता गर्नुपर्ने र अव्यवस्थित भूमिहीन नागरिकलाई स्थायी गराउन माग गर्दै कोहलपुर नगरपालिका कार्यालय अगाडि ०७७ फागुन ९ गते देखि धर्ना दिँदै आएका छन् ।
संविधानले मौलिक हकमा व्यवस्था गरेका अधिकार प्राप्तिका लागि १८ दिनसम्म धर्ना बस्दा समेत स्थानीय तहले सुनुवाइ नगरेको आरोप लगाएका छन् ।
अव्यवस्थित भूमिहीन तथा सुकुम्वासी समिति बाँकेका अध्यक्ष जीवन थापा मगरका अनुसार २०७० असोज २० गते संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयद्वारा बसाई सराई दर्ता गर्न गरेको पत्राचारलाई स्थानिय निकायले नमानेका काण २०७० असार १८ गते साविकको पुनरावेदन अदालत नेपालगञ्जमा रिट निवेदन दिएका थिए ।
पुनरावेदन अदालत नेपालगञ्जले २०७१ कात्तिक १५ गते व्यक्तिगत घटना दर्ता गर्न परमादेश जारी गरेपनि स्थानिय निकायले अटेर गरेपछि धर्ना दिन बाध्य भएको बताउनु भयो ।

कोहलपुर नगरपालिका —११ शान्तिनगरका वासीहरूले बसाई सराई, जन्म दर्ता र मृत्यु दर्ता लगायतका व्यक्तिगत घटना दर्ता लगायतका मौलिक हक कार्यान्वयनका लागि १८ औं दिनसम्म लामो आन्दोलन गर्दा पनि सुनवाइ नहुँदा स्वरुप परिवर्तन गरि आन्दोलनमा जाने थापाले बताउनुभयो ।
स्थानीय तहसँग सात पटक बार्ता बस्दा पनि माग सुनवाइ नभएको कोहलपुर नगरपालिका–११ शान्तिनगरकी पुष्पा चौधरीले बताउनु भयो । उहाँले नगर विकासको जग्गा भन्दै उठाउन खोजिएकोले आन्दोलनमा उत्रेको बताउनु भयो ।
कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले उक्त जग्गा नगर विकास समिति कोहलपुरको नाममा दर्ता भएको नम्बरी जग्गा भएकोले उनीहरूको बसाई सराई दर्ता गर्न नमिल्ने बताउनु भयो । जग्गा खाली गर्न पटकपटक आग्रह गर्दा पनि नमानेको उहाँको आरोप छ ।
भूमिहीन र एैलानी जग्गामा बस्ने नागरिकहरूको समस्या समाधान गर्न आयोग गठन गरेको र उक्त आयोगमा फारम दर्ता गराईदिने भनिएपनि कोहलपुर नगरपालिका–११ शान्तिनगरका बासिन्दाहरूले घरधुरी कर, बसाई सराई, विवाह दर्ता , जन्म दर्ता आदि गराईदिने र आयोगमासमेत फारम भरिदिने भने पनि अटेर गरेर गरेको बताउनु भयो । उहाँले सहमतिको लागि सबैलाई बार्तामा बोलाए र छलफल पछि समाधानको निष्कर्षमा पुग्ने बताउनु भयो ।